Comments Add Comment

अवार्डको रमिताः नाजिर कसरी उत्कृष्ट हिरो ? ‘तिमी सँग’ कसरी बेष्ट फिल्म ?

२ बर्ष अगाडि चर्चित निर्देशक तथा संचारकर्मी दिनेश डीसीले ‘सिनेमा सर्कल अवार्ड’को सुरुवात गर्दै गर्दा धेरैलाई लागेको थियो कि, साच्चै केही फरक शैलीको साथ एउटा अवार्ड त आयो ।

सो अवार्ड २ बर्षपछि तेश्रो संकरणमा आइपुग्दा धेरैलाई लाग्न थालेको छ, साच्चै यस्तो अवार्ड गरेर आखिर फाइदा कसलाई ? आइतबार बेलुकी काठमाण्डौको राष्ट्रिय सभा गृहमा निकै तामझामका साथ सुरुवात गरिएको अवार्ड कार्यक्रम सकिदा फितलो मात्र भएन, आलोचनाको घेरामा पनि छ ।

विशेषगरि, अवार्ड दिइएका चलचित्रकर्मी र चलचित्रको नामले साच्चै नै उदेक लाग्दो अवस्था श्रृजना गरिदिएको छ । हुनत, अवार्ड नपाउनेको रोइलो र अवार्ड पाउनेको खुशी जहिले पनि देखिन्छ । तर, चलचित्रकर्मी र चलचित्र क्षेत्रको प्रोत्साहनका लागि भनेर आयोजना गरिएको अवार्ड कार्यक्रम यति फितलो र मनलाग्दी वितरण गरियो भने, चलचित्रकर्मीमा आशा होइन निराशा फैलिन्छ ।

के भारतीय कलाकार गोविन्दालाई ल्याएर करिब ३ घन्टा चलेको अवार्डमा राख्नु नै ठूलो कुरा हो भने, त्यो आयोजकको सबैभन्दा ठूलो भूल हो ।

उत्कृष्ट नायकको अवार्ड चलचि ‘तिमी सँग’बाट नायक नाजिर हुसेनलाई दिइएको थियो । नाजिर यो चलचित्रका मुख्य नायक होइनन्, आकाश श्रेष्ठ हुन् । तर, नाजिर कसरी उत्कृष्ट भए ?

यतिमात्र होइन, सबैभन्दा फितलो कथावस्तु र बक्स अफिसमा उदेकलाग्दो कारोबार गरेको चलचित्र ‘तिमी सँग’ उत्कृष्ट चलचित्र बन्दा धेरैले अनुहार खुम्च्याए । ‘छक्का पन्जा २, पञ्चायत, शत्रुगते, लिलिबिली, भूँइमान्छे, मंगलम’ भन्दा ‘तिमीसँग’ उत्कृष्ट हुने उदेकलाग्दो कुरा पक्कै हो ।

अब अर्को विधाको कुरा गरौ । यो अवार्डमा ‘उत्कृष्ट पर्दाका जोडी’ विधामा पनि अवार्ड वितरण गरिन्छ । तर, यसपटक आयोजकले चलचित्र ‘ऐश्वर्य’बाट रमेश उप्रेती र दीपिका प्रसाइलाई अवार्ड वितरण गरेको छ । पर्दामा रुचाइएको जोडीको विधामा प्रदिप खड्का र जसिता गुरुङ, पल शाह र आँचल शर्मा लगायतका कलाकार पनि नोमिनेशनमा थिए । रमेश र दीपिकाको जोडी कति सुहाएको थियो, त्यो दर्शकले मुल्यांकन गरिसकेका छन् ।

अर्को रोचक कुरा के थियो भने, अवार्ड भाग पुग्ने गरि बितरण गरिएको थियो । उत्कृष्ट नायकको विधामा नोमिनेशनमा परेका प्रदिप खड्का, नाजिर हुसेन र पुष्पल खड्कालाई अवार्ड बाँडिएको छ । प्रदिपलाई ‘पपुलर नायक’, पुष्पललाई ‘क्रिटिक्स अवार्ड’ दिएर नाजिरलाई ‘उत्कृष्ट अवार्ड’ दिइएको थियो । उत्कृष्ट नायिकाको विधामा ५ कलाकार मात्र नोमिनेशनमा पर्दा उत्कृष्ट नायकको विधामा ७ जना नोमिनेशनमा परेका छन् । आयोजकको बदमासी यही नै देखिन्छ ।

उत्कृष्ट नायिकाको नोमिनेशनमा परेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई त ‘मंगलम, तिमी सँग, ए मेरो हजुर २’ गरि ३ वटा विधामा नोमिनेशनमा राखिएको थियो भने अन्य नायिका एउटा चलचित्रबाट मात्र नोमिनेशनमा थिए । साम्राज्ञीलाई ३ वटा चलचित्रबाट किन नोमिनेशनमा राखिएको हो ? वुझ्न सजिलो छैन ।

यी बाहेक त्रुटी नै त्रुटीका विचमा यो अवार्ड सम्पन्न भयो । बलिउडका स्टार कलाकार गोविन्दा हाबी भएको यो अवार्डमा त्यस्तो रोचक कुरा केही पनि देखिएन । अवार्डमा जो जो पुगे, उनीहरुले मुख्य मुख्य विधामा अवार्ड पाए । तर, यस्तो खालको अवार्डले नेपाली चलचित्रको विकास र विस्तारमा भने कुनै पनि किसिमले फाइदा गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment