Comments Add Comment

लाइभ अन्तर्वार्ताका क्रममा प्रोफेसरको मृत्यु

१ असोज, काठमाडौं । भारतीय टेलिभिजन च्यानलमा लाइभ अन्तर्वार्ता दिँदै गर्दा एक महिला प्रोफेसरको मृत्यु भएको छ । अन्तरवार्ताकै क्रममा हृदयघात भएर उनको मृत्यु भएको हो ।

मृत्यु हुने रिता जितेन्द्र जम्मु एन्ड कश्मिर एकेडेमीकी पूर्व सेक्रेटरी हुन् । उनी डीडी काशिरको ‘गुड मर्निङ जे एन्ड के’ कार्यक्रममा अन्तरवार्ता दिन पुगेकी थिइन् ।

एउटा प्रश्नको जवाफ दिँदै गर्दा उनी एकाएक रोकिइन् । त्यसपछि टाउको माथि उठाएर हिरिक हिरिक गर्न थालिन् । लगत्तै उनलाई एसएजएमएस हस्पिटलमा पुर्‍याइयो । तर, त्यहाँका डाक्टरहरुले उनलाई मृत घोषित गरे । अस्पताल ल्याइपुर्‍याउनु अघि नै मृत्यु भएको डाक्टरहरुले बताएका छन् ।

मुटुको धड्कन असामान्य भएर उनलाई हृदयघात भएको हुन सक्ने डाक्टरहरुलाई उधृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

‘उनी हामीलाई आफ्नो जीवनका केही रोचक कुराहरु सुनाइरहेकी थिइन्, र एकदमै सामान्य देखिएकी थिइन्’, टिभी कार्यक्रमका प्रस्तोता जाहिद मुख्तरले भने, ‘तर, एकाएक उनी रोकिइन् र लामो लामो स्वास फेर्न थालिन् । त्यसपछि हामीले तुरुन्त अन्तरवार्ता रोक्यौं र एउटा डकुमेन्ट्री बजायौं ।’

अन्तर्वार्ताका क्रममा रिताले आफूलाई भारतीय पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको जस्तै सहज मृत्यूको चाहना रहेको बताएकी थिइन् । डा. कलामको पनि काम गर्दागर्दै मृत्यु भएको थियो ।

‘उनले चाहेको जस्तै मृत्यु पाइन्,’ राज्यको महिला आयोगका पूर्व सेक्रकेटरी हाफिजा मुजाफर जितेन्द्रले भने । रिताको अन्तिम क्षणको भिडियो अहिले भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment