Comments Add Comment

मदिरा र इन्टरनेटका कारण महिला हिंसा बढ्यो : गृहमन्त्री थापा

१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा बढेको बताएका छन् ।

सोमबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले महिला हिंसा न्युनीकरण गर्न सरकारले तिनको प्रयोगमा कडाई सुरु गरेको बताए ।

‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढेका छन्, तिनको प्रयोगमा मन्त्रालयले कडाई सुरु गरेको छ’ गृहमन्त्री थापाले भने ।

उनले महिला हिंसा र बलत्कारका घटना न्युनीकरण गर्न विशेष कार्यक्रम ल्याउने पनि बताए ।

मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

‘घटनालगत्तै स्थानीय प्रहरीलाई गम्भीर रुपमा अनुसन्धान गर्न भनिएको हो, केही दिनमै केन्द्रबाट सीआईबीको टोली पनि पठाईएको हो । पछि केन्द्रबाट उच्चस्तरीय छानबिन समिति गठन गरीयो । अनुसन्धानमा प्रहरीको समेत लापरवाही रहेको गुनासोका आधारमा ६ जना प्रहरीलाई निलम्बित गरिएको छ । थप अनुसन्धान टोली पनि परिचालन भएको छ । केही दिनमै परिणाम आउँछ’ उनले भने ।

आफूले गृहमन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विस्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए ।

मानव अधिकार आयोगमा भएको छलफलमा अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment