Comments Add Comment

भुटानको चुनाव : भारतमा देखियो डीपीटीको डर

१ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित भ्रमणको पूर्वसन्ध्यामा भुटानको चुनावमा अप्रत्याशित नजिता आएको छ । मोदी द्वैत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा थिम्पु जाने सोचमा छन् ।

तर, त्यसअघि सम्म्पन्न पहिलो चरणको आम चुनावको नतिजा अप्रत्याशित आएको छ । मतदाताले प्रधानमन्त्री छिरिङ तोग्बेको सत्तारुढ पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई तेस्रो स्थानमा झारिदिएका छन् भने नयाँ पार्टी ड्रयूक न्यामरुप चोग्पा (डीएनटी) लाई पहिलो स्थानमा पुर्‍याएका छन् ।

जम्मा खसेका दुई लाख ९१ हजार ९९ भोटमध्ये डीएनटीले ९२ हजार सात सय २२ भोट ल्याएको छ । दोस्रो स्थानमा रहेको ड्रयाक फुयनसुम चोग्पा (डीपीटी) ले ९० हजार २० भोट ल्याएको छ ।

भुटानको संविधानअनुसार डीएनटी र डीपीटीले १८ अक्टोबरमा अन्तिम चरणको प्रतिस्पर्धा गर्नेछन् ।

छिरिङ तोग्बेले हार स्वीकार गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । उनले लेखेका छन्, ‘भुटानका जनता बोले । उनीहरुको निर्णयलाई पिपुल्स डेमोक्रेटिक पार्टी हार्दिकरुपमा स्वीकार गर्छ । प्रजातन्त्रमा जनताको भावना नै सर्वोपरी हुन्छ ।’

डीएनटीले १६ निर्वाचन क्षेत्र जितेको छ भने डीपिटीले २२ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

डीपीटीले पूर्वी भुटानमा अप्रत्याशित जीत निकाल्यो । सो क्षेत्रको हारले पीडीपीलाई सबैभन्दा ठूलो धक्का लागेको छ ।

अर्को महिना हुने फाइनल निर्वाचनमा दुई पार्टी हाराहारीमा देखिएका छन् । डीपीटी र पीडीपी थोरै दक्षिणपन्थी पार्टी हुन् भने डीएनटीको स्पष्ट झुकाव छैन । यो ६ वर्ष अगाडि मात्र स्थापना भएको पार्टी हो । यसलाई हल्का वामपन्थी झुकाव भएको मानिएको छ । पहिलो चरणको निर्वाचन परिणामले भुटानको राजनीतिमा अत्यधिक चासो राख्ने भारतलाई खुशी तुल्याउन सकेन ।

त्यसो त २०१३ को चुनावमा जस्तो यसपालि भारत महत्वपूर्ण फ्याक्टर थिएन । २००८ र २०१३ बीच डीपीटीले सरकार चलाउँदा भारतसँगको सम्बन्ध केही चिसिएको थियो किनकी तत्कालिन प्रधानमन्त्री जिग्मे थिन्लेले चीनसँग नजिकिन खोजेका थिए । त्यसको रिसमा भारतले भुटानमा खाना पकाउने ग्यासको अभाव गराइदिएको थियो ।

अहिले पहिलो र दोस्रो स्थानमा आएका पार्टीहरुले भारतसँग सुमधुर सम्वन्धमा जोड दिएका छन् । पहिलो चरणको चुनावी परिणामलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । तर, अन्तिम चरणको चुनावी परिणाममा हाल दोस्रो स्थानमा रहेको डीपीटीले बाजी मार्‍यो भने भारतलाई ठूलै झड्का हुनेछ ।

यसले चुनावपछि वा नोभेम्बरमा हुने भनिएको मोदीको भ्रमणलाई समेत असर गर्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment