Comments Add Comment

बडीगाड थुनिएर बनेको ताल खोल्न नेपाली सेनाले थाल्यो अध्ययन

२ असोज, गुल्मी । बालुङ्गको बडीगाड खोलामा पहिरो खसेर बनेको ताल फुटाउन नेपाली सेनाको इन्जिनियर टोलीले अध्ययन गरेको छ ।

मध्यपहाडी लोकमार्गको तुरतुरेमा गत भदौ २९ गते शुक्रबार राति खसेको पहिरो र त्यसले बडीगाड खोला थुनिएर बनेको ताल अवलोकन निरीक्षणका लागि पोखराबाट नेपाली सेनाको इन्जिनियरसहितको टोली आएका हुन् ।

अध्ययन टोलीमा नेपाली सेनाको पश्चिमाञ्चल पृतना कार्यालय पोखराबाट सेनानी बलबहादुर थापाको कमाण्डमा ११ जनाको इन्जिनियरिङ टोली तथा मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका डिभिजन इन्जिनियर पनि सँगै रहेका छन् ।

नेपाली सेनाको इन्जिनियरिङ टोलीले मंगलवार तालको पानी खोल्न सकिने/नसकिने विषयसँगै लोकमार्ग सञ्चालनमा के गर्न सकिन्छ भन्ने भौगोलिक अध्ययन गरेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिए । ‘नेपाली सेनाको टोलीले कसरी ताल खोल्न सकिन्छ अध्ययन सुरु गरेको छ,’ प्रमुख जिल्ला अधिकारी खरेलले भने, ‘इन्जिनियरले सडकको अबस्थाबारे नापजाँच सुरु गरेका छन् ।’

नेपाली सेनासँगै स्थलगत अध्ययनमा पुगेका प्रमुख जिल्ला अधिकारीले भने, ‘ताल खोल्नेबारे सेनाले निकालेको निश्कर्ष अनुसार अगाडि बढिनेछ ।’

पहरीले बनेको तालबाट गत शनिवार बिहान मात्रै ओभरफ्लो भएर बग्न थालेको थियो । तर, पहिरोले बनेको ताल कसरी खोल्ने भनेर विज्ञ टोलीको अध्ययनपछि मात्रै बताउने बाग्लुङका प्रमुख जिल्ला अधिकारी खरेलले बताए ।

स्थानीय नागरिकले जति सक्यो छिटो तालको पानी हटाउन सम्वन्धित निकायसँग माग गरिरहेका छन् । मध्य पहाडी लोकमार्ग भन्दा करिव ५ सय मिटर माथिबाट पहाडै खसेपछि अहिले लोकमार्ग नै अवरुद्ध छ ।

सडक अवरुद्ध भएसँगै बुर्तिबाङ हुँदै बाहिर जाने यातायातका साधनहरु बन्द भएका छन् । बुर्तिबाङ निसी भूजी तमान क्षेत्रमा आउने यात्रुहरुलाई समेत अर्को विकल्पको सडक नभएपछि दिनभर जसो भिमगीठेमै अलपत्र अवस्थामा छन् । पहिरोले बनेको तालमा ढोरपाटन नगरपालिकाको वडा नं २ सिमलचौरमा ४ घर डुबानमा परेका छन् ।

पहिले गएको पहिरोका कारण मानवीय क्षती नभएपनि सोमबार पहिरो झरेको स्थानबाट हिँड्ने क्रममा एक जनाको ढुंगाले लागेर मृत्यु भएको थियो ।

खोला थुनिएपछि अझैपनि त्यसदेखि तल नदी तटीय भाग बाग्लुङ्गका भिङगिठे, खारा, खरबाङ्ग र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका नदी किनारका मानिसहरु उच्च जोखिममा परेका छन् ।

एकैचोटी ताल पुटेर बहाव बढेमा नदी किनारमा रहेका धेरै बस्तीहरु जोखिममा पर्ने छन् । त्यसैले नदी किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

उनले ताल कसरी खोल्ने बारेमा बाग्लुङ्गसँग समन्वय भइरहेको बताए । तालले गुल्मी क्षेत्र धेरै जोखिममा रहेकाले त्यसको उचित समाधानको लागि समन्वय भइरहेको बताए ।

बैकल्पिक मार्ग खोलिदै

शुक्रबार ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा पर्ने तुरतुरेमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएसँगै बैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।

स्थानीयलाई हिँड्न समेत समस्या आएपछि बडिगाड गाउँपालिकाको सिस्नेरी हुँदै दर्लिङखाला, राजकुत देविस्थानबाट बुर्तिबाङसम्म हाल ट्रयाक खोलिएको ठाउँबाटै डोजर लगाएर सडक सञ्चालन गरिने भएको हो ।

पश्चिम क्षेत्रमा सडक अवरुद्ध भएसँगै तत्काल खाद्य सामग्री लगायत अत्यावश्यक उपभोग्य सामान र औषधि अभाव हुने सम्भावना रहेकाले वैकल्पिक सडक सञ्चालन गरी बजारमा उपभोग्य सामानको अभाव हुन नदिन स्थानीय तहले पहल थालेका छन् ।

पहिरो क्षेत्रबाट पैदल यात्रा बन्द

पहिरो क्षेत्रमा पुरिएर एक जनाको मृत्यु भएपछि मानिसहरुको आवतजावतलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको छ ।

बुर्तिबाङ तथा आसपासबाट भिमगीठे तर्फ जानका लागि नगरपालिकाको वडा नं. २ सेरा हुँदै सिमलचौर, वडिगाडको मालारानी तर्फको पैदल मार्ग हिँड्न नयाँ बाटो तय गरिएको छ ।

भिमगीठेबाट बुर्तिबाङतर्फ आउँदा पनि सोही पैदलमार्गबाट आउनुपर्ने सार्वजनिक सूचना मार्फत अपील गर्ने निर्णय सरोकारवालाहरुले गरेका छन् ।

पहिरो क्षेत्रमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ र इलाका प्रहरी कार्यालय भिमगीठेबाट दुवै तर्फ प्रहरी राखेर आवत जावत बन्द गराउने काम भइरहेको एकीकृत सेवा केन्द्र प्रमुख जनक थापाले बताए ।

पहिरो नरोकिएको र त्यस ठाउँबाट आवत जावत गर्दा थप दुर्घटना हुनबाट रोक्न यस्तो निर्णय गर्नु परेको सेवा केन्द्र प्रमुख थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment