Comments Add Comment

च्याम्पियन्स लिगमा नयाँ परीक्षा : कति उत्कृष्ट हुन् त नेइमार ?

२ असोज, काठमाडौं । पाँच वर्ष पहिले आजकै दिन ब्राजिलियन खेलाडी नेइमारले स्पेनिस क्लब बार्सिलोनाबाट च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए, जुन खेल बार्सिलोनाले एजाक्सलाई ४-० ले जित्यो ।

ब्राजिल युथ टिमबाट क्लब सान्तोष हुँदै बार्सिलोना आएका उनी अहिले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आफ्नो उत्कृष्टता प्रमाणित गरिरहेका छन् ।

च्याम्पियन्स लिगको नयाँ सिजन मंगलबारबाट सुरु हुँदैछ । जसमा नापोली, लिभरपुल र रेड स्टार बेलग्रेडसहित पीएसजी समूह सी मा छ । मंगलबार राति पौने १ बजे लिभरपुल र पीएसजीबीच खेल हुँदैछ ।

यस्तोमा पीएसजीमा नेइमारको भूमिका राष्ट्रिय टिमबाट जस्तै विशेष रहने छ ।

कति उत्कृष्ट हुन् नेमाइर ?

‘केही खेलाडीहरु छन् जसमा जादुयी शक्ति हुन्छ । नेइमार तिनैमध्ये एक हुन् । यदि उनले बालोन डि’ओर जित्न चाहे भने सक्छन् । ब्राजिलबाट अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी बन्न पनि उनी सक्छन् । उनी हरेक पटक फुटबलमा रमाउँछन् र हरेक सिजन झनै राम्रो हुँदै जान्छन् । उनी शुद्ध रक्सि जस्तै हुन्’ – ड्यानी अल्भेस

‘नेइमार मभन्दा पनि राम्रो हुन सक्छन्’ – पेले

‘उनी मेरो दाइजस्तै हुन् । उनीजस्तो स्टार खेलाडीले पनि म टिममा आउँदा निकै राम्ररी स्वागत गरे । जसले गर्दा टिममा भिज्न मलाई सहज भयो । जब नेइमारलाई चिनिन्छ उनलाई टेलिभिजनमा देखाइएभन्दा निकै फरक छन् । उनी हाँस्न मन पराउँछन् । मजाक गरिरहेका हुन्छन्’ – केलिएन एमबाप्पे

‘नेइमार विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनी फुटबलका कलाकार हुन् । उनी जस्ता रचनात्मक खेलाडीलाई धेरै प्रेसर पनि दिनु हुँदैन’ – थोमस टुचेल, पीएसजी प्रशिक्षक

‘नेइमारसँगै खेल्नु एकदमै सहज हुन्छ । किनभने उनी फुटबल सुपरस्टार नै हुन् । हामीले उनलाई बल मिलाइदिए मात्रै पुग्छ । खेलमा कसरी फरक पार्ने र जित निकाल्ने भन्ने उनलाई राम्रो ज्ञान छ’ – कोउटिन्हो

‘उनले गरेका गोल र उनले गोलका लागि मिलाएको पास हेर्दा नै थाहा हुन्छ उनी कति राम्रा खेलाडी हुन् । उनी पूर्वानुमान गर्न नसकिने खेलाडी हुन् ।’ – लुइस इनरिक, बार्सिलोनाका पूर्व प्रशिक्षक, हाल स्पेनका प्रशिक्षक

अंकमा हेर्दा

अन्तर्राष्ट्रिय – ९२ खेल, ५९ गोल
युइएफ क्लब प्रतिस्पर्धा – ४७ खेल, २७ गोल
क्लब लिग प्रतियोगिता – ३६८ खेल, २३१ गोल

फुटबलमा एक प्रसिद्धि

सान्तोष 

१७ वर्षमा, उनले सिनियर डेब्यू खेलमा गोल गरेका थिए । साओ पाउलो स्टेट च्याम्पियनसिप २००९ को त्यो खेलमा मोजी मिरिमलाई ३-० ले हराउँदा उनले डाइभिङ हेडमार्फत गोल गरेका थिए ।

२०११ मा कोपा लिबेरटाडोरेस जिताएका थिए । जसले सान्तोषलाई १९६३ पछि दक्षिण अमेरिकी फुटबल उपाधि दिलाएको थियो । फाइनलमा उरुग्वेको पेनारोल क्लबविरुद्ध उनले दुई गोल गरेका थिए ।

उत्कृष्ट गोलका लागि २०११ मै उनले फिफा पुस्कास अवार्ड जिते । ˆलामेन्गोविरुद्ध उनले गरेको गोल वर्षकै उत्कृष्ट घोषित भएको थियो ।

बार्सिलोना 

बार्सिलोनामा २०१३ को जुनमा उनले सम्झौता गर्दा क्याम्प नाउमा झण्डै ६० हजार दर्शक प्रत्यक्ष साक्षी थिए । त्यतिबेला २१ वर्षका उनले भनेका थिए, विश्वकै उत्कृष्ट खेलाडी मेस्सी, इनिस्टा र जाभीसँग खेल्न पाउनु मेरो लागि ठूलो कुरा हो । यसका लागि म भगवानलाई धन्यवाद दिन्छु ।

२०१४/१५ मा मेस्सी र स्वारेजसहित नेइमारले बार्सिलोनाबाट जादु नै देखाए । जसमा ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जितेर नेइमारले आफ्नो आगमन प्रमाणित गरे ।

बार्सिलोनाले च्याम्पियन्स लिगको इतिहासमै उत्कृष्ट पुनरागमन गर्दा उनै नेइमारको भूमिका प्रमुख थियो । २०१७ को त्यो बेला पीएसजीविरुद्ध दुई गोल गरेका उनले छैठौं गोलका लागि उत्कृष्ट पास मिलाएका थिए । जसमा बार्सिलोना ६-१ ले विजयी भएको थियो ।

पीएसजी

२०१७ को अगस्टमा पीएसजीबाट डेब्यू खेलमा नै नेइमारले गुइनगेम्पविरुद्ध गोल गरेका थिए । त्यसपछिका खेलमा पनि उनले लगातारजसो गोल गरे । पहिलो सिजन नै उत्कृष्ट खेल देखाएका उनी लिग वानमा प्लेयर अफ दि इयर नै भए ।

पीएसजीमा एमबाप्पे, काभानीसँगै उनले आˆनो क्षमता मिलाएका छन् । जसमा २०१७/१८ को च्याम्पियन्स लिग समूह चरणमा २५ गोल गरेर उनीहरुले कीर्तिमान नै बनाए । जसमा नेइमारले ६ गोल गरेका थिए ।

मार्सेलीसँगको खेलमा घाइते भएर उनको अवस्था दुःखद भएको थियो । सिजनको अन्त्यमा लागेको त्यो चोटले उनलाई पछिसम्म पछ्यायो । जसले च्याम्पियन्स लिगको दोस्रो लेगमा रियल मडि्रडविरुद्ध पनि खेल्न सकेनन् ।

ब्राजिल 

२०१० को अगस्टमा अमेरिकालाई २-० ले हराएको खेलमा नेइमारले राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । जसमा उनले गोल गरेका थिए ।

२०१३ को फिफा कन्फेडेरेसन कप र २०१४ को विश्वकपमा पनि उनको खेलले राम्रो प्रभाव जमायो । तर विश्वकपमा क्वार्टरफाइनलमा कोलम्बियासँगको खेलका बेला घाइते भएर उनले मैदान छाड्दा सेमिफाइनलमा ब्राजिल जर्मनीसँग लज्जास्पद रुपमा हार्न पुग्यो ।

२०१६ मा ओलम्पिक फुटबलमा ब्राजिललाई गोल्ड मेडल जिताउँदा जर्मनीविरुद्ध उनले पेनाल्टीमा गोल गरेका थिए ।

२०१८ को विश्वकपमा कोस्टारिकाविरुद्ध दुई गोल गरेर उनी ब्राजिलियन टिमबाट धेरै गोल गर्ने खेलाडी सूचिमा तेस्रो नम्बरमा पुगे । उनीअघि रोनाल्डोले ६२ गोल गरेका छन् भने पेलेले ७७ गोल गरेका छन् ।

जे तपाईंलाई थाहा नहुन सक्छ

कोपा लिबेरटाडोरेस र च्याम्पियन्स लिग दुवै जित्ने ६ ब्राजिलियन खेलाडीमध्ये एक हुन्, नेइमार । साथै दुवै महादेशीय प्रतिस्पर्धाको फाइनलमा गोल गर्ने उनी दोस्रा खेलाडी हुन् । अर्का अर्जेन्टिनाका हर्नान क्रेस्पो हुन् ।

२०१६ अगस्ट १७ मा उनले ओलम्पिक फुटबल इतिहासमै सर्वाधिक छिटो गोल गर्ने कीर्तिमान बनाएका थिए । होण्डुरसलाई हराउँदा उनले खेल सुरु भएको १४ सेकेण्डमा नै गोल गरेका थिए ।

उनी के भन्छन् ?

‘मैले सधैँ भन्ने गरेको छु ब्राजिल टिम नेइमारमा निर्भर छैन । हामी ब्राजिल टिम हौं कोही एकमा निर्भर हुँदैनौं । यदि हामी एक ढिक्का भएर केन्दि्रत हुन सक्यौं भने विश्वमा हामी बराबर उत्कृष्ट अरु हुन सक्दैन ।’

‘क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीसँग तुलना गर्दा मलाई सहज अनुभूति हुँदैन । उनीहरु सुपरस्टार हुन् । सधैं राम्रो खेल्छन् । मलाई थाहा छैन मैले पनि विश्वको उत्कृष्ट फुटबलरले जस्तै गरिरहेको छु या छैन । म हरेक समय आफूभन्दा उत्कृष्ट हुन खोजिरहेको हुन्छु आफैलाई हराएर अघि बढ्न खोजिरहेको हुन्छु ।’

‘मेस्सीले मलाई धेरै नै सहयोग गरे । बार्सामा सुरुवातका दिनमा ममा धेरै नै समस्या थियो । तर, विश्वकै उत्कृष्ट खेलाडी मेरो अगाडि आए र भने, ‘नआत्त, शान्त बन, आˆनै तरिकाको खेलमा ध्यान देउ, खेलि राख’ । जसले मलाई धेरै सहज महसुस भयो ।’

उनले अझै भेट्न सक्छन्

पीएसजीलाई च्याम्पियन्स लिग जिताउनु अहिले उनको प्रमुख सपना हो । जसमा गोल गर्दै आफ्नो उपस्थिति प्रमाणित गर्न उनी व्यग्र छन् ।
२०१५ मा नेइमार विश्वकै उत्कृष्ट खेलाडीको सूचिमा मेस्सी र रोनाल्डोपछि तेस्रो नम्बरमा थिए । अहिले मेस्सी र रोनाल्डो दुवै ३० वर्ष पार गरिसकेका छन् । यस्तोमा नेइमारले थप उत्कृष्टता प्रस्तुत गर्दै नयाँ उचाइ भेट्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment