Comments Add Comment

अमेरिकामा ला लिगाको खेल हुने कुरामा फिफा अध्यक्ष रुष्ट

२ असोज, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फानिटोले ला लिगाको घरेलु मैदानमा हुनुपर्ने खेल अमेरिकामा गर्न नहुने बताएका छन् । ‘घरेलु खेल विदेशमा गएर खेल्नु राम्रो होइन’ उनले भनेका छन् ।

बार्सिलोना, जिरोना र ला लिगाले स्पेनिस फुटबल फेडेरेसनसँग जिरोनाको होम गेम अमेरिकाको मियामिमा खेल्ने स्वीकृति मागेपछि फिफा अध्यक्षले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मलाई लाग्छ म अमेरिकामा ला लिगाको खेल होइन मेजर लिग सकरकै खेल हेर्न चाहन्छु । फुटबलको एउटा सामान्य नियम नै हो होम गेम घरेलु मैदानमा नै खेलिन्छ न कि विदेशमा गएर’ उनले भने ।

ला लिगाका अध्यक्ष जेभियर टेबासले फिफा अध्यक्ष इन्फानिटोलाई ट्वीटरमार्फत जवाफ दिएका छन् । ‘म फिफा अध्यक्षलाई अवगत गराउन चाहन्छु । मेजर लिग सकरमा नै क्यानडाका तीन टिमले सहभागिता जनाउँछन् । त्यसमा टोरन्टो अहिलेको विजेता हो । अनि क्यानडामै पनि अर्को व्यावसायिक लिग भइरहेको हुन्छ’ उनले लेखेका छन् ।

स्पेनिस फुटबल फेडेरेसन, युएस सकर फेडेरेसन, युईएफ र कन्फिडेरेसन अफ नर्थ, सेन्ट्रल अमेरिकन र क्यारेबियन एसोसिएसन फुटबल चारै संस्थाले बार्सिलोना र जिरोनाको खेलका लागि स्वीकृति दिनुपर्ने हुन्छ ।

फिफा अध्यक्ष मात्रै होइन स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्स पनि अमेरिकामा ला लिगाको खेलका लागि राजी छैनन् । साथै स्पेनिस प्लेयर युनियनले पनि अमेरिकामा गएर लालिगाको घरेलु म्याच खेल्नु उचित नहुने प्रतिक्रिया दिइरहेको छ ।

ला लिगाले व्यापारिक उद्देश्यले हरेक सिजनमा एक खेल अमेरिकामा खेल्न १५ वर्षको सम्झौता गरेको थियो ।

जिरोना बार्सिलोना रहेकै क्याटालोनियामा रहेको क्षेत्र हो । जसले अमेरिकामा गएर खेल्दा फुटबल विकास र ला लिगाकै समर्थनमा फाइदा पुग्ने बताएको छ ।

ला लिगाले घरेलु दर्शकलाई अमेरिकामा यात्रा र बासको व्यवस्था गर्नेबारे पनि सोचिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment