Comments Add Comment

छापामा आजः सरकारले भेटेन राष्ट्रगौरव पदकका उपयुक्त पात्र !

३ असोज, काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । ३ वर्षअघि आजकै दिन संविधानसभामार्फत् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको थियो । राजधानीबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले यही विषयमा केन्द्रित रहेर सामग्री पस्केका छन् ।

पहिलो पृष्ठमै पर्सामा मात्रै १ सय ६४ सीमास्तम्भ गायब पारिएको, म्याग्दीमा लेखेट्दै र काठमाडौंमा महिला सामूहिक बलात्कारको सिकार भएको, पश्चिम सेतीबाट चिनियाँ कम्पनी बिदा भएको, राष्ट्रगौरव पदकका उपयुक्त पात्र नभेटिएकोलगायत समाचारले स्थान पाएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘जटिल अध्याय पूराः बाधा झेल्दै, अघि बढ्दै’ शीर्षक दिएर संविधान कार्यान्वयनको समीक्षा गरेको छ । समाचार सामग्रीमा कर्तव्य बढी भए पनि अधिकार कम भएको, भेदभाव हटाउन अपूरो रहेकोदेखि असमझदारीबीचको ठूलो समझदारी भएकोसम्मका विभिन्न व्यक्तिहरुको भनाइ समेटिएको छ ।

अन्नपूर्णमै पर्सामा १ सय ६४ सीमास्तम्भ गायब भएको अर्को खबर पनि छ । भारतसँग सीमा जोडिएको पर्साको धोबनीदेखि ठोरी गाउँपालिकासम्म गाडिएकामध्ये थप ५५ सीमास्तम्भ गायब भएका हुन् ।

अन्नपूर्ण लेख्छ– गत वैशाखमा वीरगञ्जमा नेपाल–भारतका सीमाविज्ञ र सुरक्षा अधिकारीसहितको बैठकमा पर्सामा रहेकामध्ये एक सय नौवटा सीमास्तम्भ हराएको जानकारी गराइएको थियो । त्यसयता ५५ वटा थप हराएका छन् ।

संविधान जारीपछिका तीन वर्षमा राजनीतिले गति लिए पनि विकास सुस्त भएको विश्लेषण राजधानी दैनिकले गरेको छ । ‘संविधान निर्माणपछि तीन तहको निर्वाचनसँगै सबै तहमा जननिर्वाचित सरकार र केन्द्रमा स्थिर सरकार बनेको छ,’ राजधानी लेख्छ, ‘ती सरकारले सुशासन, विकास निर्माण, भ्रष्टाचार अन्त्यलगायत क्षेत्रमा सर्वसाधारणले महसुस हुनेगरी नतिजा दिन सकिरहेका छैनन् ।’

कान्तिपुरले केन्द्रको उदासीनताले प्रदेश प्रभावहीन बनेको लेखेको छ । आफूसँग रहेका सरकारी निकाय, कर्मचारी, स्रोत तथा साधन हस्तान्तरणमा संघले गरेको ढिलासुस्तीले संविधानको भावना र जनअपेक्षाअनुरूप प्रदेश सरकारहरु खरो उत्रन नसकेको कान्तिपुरको ठम्याइ छ ।

संविधानपछि कान्तिपुरको प्राथमिकतामा बलात्कार परेको छ । राजधानीमा भएको सामूहिक बलात्कार र म्याग्दीमा भएको बलात्कारलाई कान्तिपुरले प्राथमिकताका साथ छापेको हो ।

समाचार अनुसार काठमाडौंको स्युचाटारमा डेरागरी बस्ने २१ वर्षीया युवती सामूहिक बलात्कारमा परेकी छन् । स्युचाटारको एक होटलमा लगेर सामूहिक बलात्कार गरेको बयान पीडित युवतीले दिएकी छन् ।

गोरखापत्रको पहिलो पृष्ठ संविधान दिवसमय बनेको छ । उसले विभिन्न शीर्षक दिएर संविधान दिवसको कभरेज गरेको छ ।

पश्चिम सेतीबाट चिनियाँ कम्पनी बिदा भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिकाले संविधान असंशोधनीय धर्मगन्ध र स्तुतिश्लोक होइन भनेर व्यक्त गरेको भनाइलाई पनि पहिलो पृष्ठमा समेटेको छ ।

राष्ट्रगौरव पदकका उपयुक्त पात्र नभेटिएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । उपयुक्त पात्र नभेटिएपछि यस वर्ष राष्ट्रगौरव पदकबाट कोही पनि सम्मानित नहुने भएका छन् ।

समाचार अनुसार तेस्रो संविधान दिवसका अवसरमा सरकारले विभिन्न पदकबाट राष्ट्रिय ख्याति कमाएका पाँच सयभन्दा बढीलाई बुधबार पुरस्कार घोषणा गर्दैछ । तर राष्ट्रसेवक पदकका उपयुक्त पात्र भने भेटिएनन् ।

‘लय समाउँदै मूल कानून’ शीर्षक दिएर मुख्य समाचार लेखेको नागरिकले काठमाडौं–तराई फास्ट ट्रयाकका लागि अत्तिरिक्त पाँच अर्ब प्रस्ताव गरिएको, निर्मला पन्तका बाबुआमा न्याय पाउनेमा विश्वस्त हुन नसकेकोलगायत समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment