Comments Add Comment

माधव नेपाल घाना प्रस्थान, महिनामा ‘एक पटक’ विदेश भ्रमण !

३ असोज,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमारन नेपाल साताव्यापी अफ्रिका भ्रमणका क्रममा बुधबार घाना प्रस्थान गरेका छन् ।

स्थायी कमिटी सदस्य पम्फा भुसाल र सांसद बलराम बास्कोटासहित तीन सदस्यीय टोलीको नेतृत्व गरेका नेपाल त्यहाँ आयोजना हुने वामपन्थीहरुको अफ्रिकन सम्मेलनमा सहभागी हुनेछन् ।

सोसलिस्ट पार्टी अफ घानाको आयोजनामा हुन लागेको साम्राज्यवाद र पुँजिवाद विरोधी सम्मेलनमा नेकपाको सहभागिता जनाउन नेपाल त्यसतर्फ प्रस्थान गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।

नेपालको टोली २५ सेप्टेम्बरमा नेपाल फर्किनेछ । उनी अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय नेपाली सम्मेलनमा सहभागी भएर एक साताअघिमात्र स्वदेश फर्किएका थिए ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता नेपालले विश्वभरका कम्युनिस्ट तथा सामाजवादी पार्टीहरुको सम्पर्क तथा सम्मेलनहरुमा बढि समय खर्चिन थालेका छन् । उनकै नेतृत्वमा नेपालमा विश्वभरका कम्युनिस्ट पार्टीहरुको सहभागितामा माक्र्सको दुई शतवाषिर्कीका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

विश्वका कम्युनिस्ट तथा समाजवादी पार्टीहरुबीच भाइचारा सम्बन्ध विकास गर्ने र अन्तर्राष्ट्रिय फोरम विस्तार गर्ने सन्दर्भमा नेपालको विदेश भ्रमण पनि तीब्र भएको छ । पछिल्लो एक वर्षका बीचमा उनी एक दर्जन भन्दा बढी देशको भ्रमणमा गएको देखिन्छ । अर्थात उनी औषत महिनामा एकपटक विदेश भ्रमणमा निस्कन्छन् ।

तत्कालीन एमालेका विदेश विभाग प्रमुख समेत रहेका बरिष्ठ नेता नेपाललाई विदेश भ्रमण प्रेमी नेताका रुपमा पार्टीमा चित्रित गर्न थालिएको छ । हुन पनि एक वर्षको बीचमा नेता नेपालले एक दर्जनभन्दा बढी देशको भ्रमण गरिसकेका छन् । उनी महिनामा तीन पटकसम्म विदेश भ्रमणमा गएको पाइएको छ ।

सन् २०१८ सुरु भएपछिको ९ महिनाका बीचमा पूर्व प्रधानमन्त्री नेपाल चीनमा दुई पटक समेत गरी कम्तिमा ९ पटक विदेश भ्रमणमा गएको अध्यागमन कार्यालयले जनाएको छ ।

राज्यसत्ता र पार्टी सत्तामा समेत खासै कार्यकारी जिम्मेवारी नभएको र विदेशी संस्थाहरुले पनि उनैलाई निम्ता गर्ने गरेकाले यो वर्ष विदेश भ्रमण अत्यधिक भएको नेपाल निकट नेताहरु बताउँछन् ।

नेता नेपालका पछिल्ला केही भ्रमण भने विश्व कम्युनिस्ट तथा समाजवादी आन्दोलनका लागि महत्वपूर्ण फोरमहरुमै भएको नेकपाले जनाएको छ । उनले गत जनवरीमा बंगलादेशमा आयोजित समाजवादी पार्टीहरुको सम्मेलनमा भाग लिएका थिए । त्यसअघि उनले उत्तर कोरियाको भ्रमण गर्दा कांग्रेस नेताहरुले आपत्तिसमेत जनाएका थिए ।

नेता नेपाल र अर्का नेता नारायणकाजी श्रेष्ठ दुई महिनाअघि ब्राजिलमा अन्तर्राष्ट्रिय माक्र्सवादी स्कूलको अध्ययन गर्न गएका थिए । नेपालले यसै वर्ष दक्षिण अफि्रकामा आयोजित अफि्रकन समिटमा पनि भाग लिएका थिए भने भेनेजुयलामा आयोजित समाजवादी सम्मेलनमा भने उनले समय अभावका कारण सहभागिता जनाउन नसकेको स्वकीय सचिव मोहन गौतमले बताए ।

उनले जनवादी गणतन्त्र चीनको भ्रमण दुई महिनामा दुईपटक गरे । पहिलो भ्रमण सांघाई इन्टरनेशनल कोअपरेशनको सममेलनमा भएको थियो भने दोस्रो पटक ग्वान्जाओमा सिल्क रोड सम्बन्धी सम्मेलनमा भाग लिन नेपाल नेतृत्वको टोली चीन गएको थियो । नेपाल गत महिना कम्बोडियाको आम निर्वाचन पर्यवेक्षण टोलीको नेतृत्व गरेर गएका थिए ।

यसैवर्ष बरिष्ठ नेता नेपालले इरान र इण्डोनेशियामा आयोजित राजनीतिक सम्मेलनमा पनि भाग लिएका थिए । उनी फेबु्रअरी महिनामा अर्थात माघ तेस्रो साता तेहरानामा एशियाका ३ सय भन्दा बढी राजनीतिक दल सम्मिलित सम्मेलनमा सहभागी भएका थिए ।

त्यसअघि जुछे बिचारधाराबारे इण्डोनेसियामा आयोजित सम्मेलनमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment