Comments Add Comment

वीर अस्पतालको इमरजेन्सी स्वयमसेवकको भरमा, स्वास्थ्यकर्मी कमाउ अड्डामा

३ असोज, काठमाडौं । देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको भिडभाड छ ।

दिनमा ३ सय भन्दा बढी बिरामी वीर अस्पतालको आकस्मिक कक्षमा पुग्छन् । आकस्मिक कक्षमा ३२ जनाको दरबन्दी र विशेषज्ञ चिकित्सक सहित ५० जना अर्थात दरबन्दीभन्दा बढी कार्यरत छन् । तर, बिरामीको उपचार भने स्वयमसेवी स्वास्थ्यकर्मीको जिम्मामा छ ।

इन्टर्नसीपमा गएका स्वयमसेवीले उपचार गर्दा विरामी तलमाथि भए कसले जिम्मा लिने ? अस्पतालका कर्मचारीले पटक पटक व्यवस्थापन समक्ष यो प्रश्न राख्दा उच्च पदस्थहरुनै जवाफबिहीन छन् ।

पहुँचवाला स्वास्थ्यकर्मी र कर्मचारी कमाउ अड्डामा बसेपछि उनीहरुको सरुवा गर्नसमेत व्यवस्थापनले सक्दैन । आकस्मिक कक्षमा दरबन्दी भए पनि पहुँवाला स्वास्थ्यकर्मीहश्ररु मेडिकल स्टोर, जनरल स्टोर, खरिद एकाइमा छन् ।

नर्सिङ कर्मचारी पनि स्टोर र खरिदमा अड्डा जमाएर बसेकाले वार्डमा नर्सिङ  स्टाफनै नपुगेको अस्पताल स्रोतले जनाएको छ ।

वीर अस्पतालमा पछिल्लो समय बिरामीको संख्यामात्र बढेको छैन, अत्याधुनिक उपकरणहरु पनि थपिएका छन् । अस्पताल निर्देशक डा. भुपेन्द्र बस्नेत आफैं लागेर अस्पतालको गुणस्तर बृद्धि गर्न खोजे पनि रैथाने कर्मचारी र स्वास्थ्यकर्मीले पहुँच लगाएर कमाउ अड्डामा डेरा जमाएका छन् ।

थपिएका आधुनिक उपकरण चलाउन अहेब र सटाफ नर्स आवश्यक छ र तर खरिदमा र स्टोरमा भएका अहेब तथा नर्सहरुलाई सरुवा गर्न खोज्दा राजनीतिक पावर लगाउने गरेको गुनासो उच्च अधिकारीहरुको छ ।

न्याम्सका उपकुलपति र निर्देशकभन्दा बलिया स्वास्थ्यकर्मीका कारण इमरजेन्सीमा दरबन्दी भए पनि स्वास्थ्यकर्मी नभेटिएको एक कर्मचारीले बताए ।

खरिद,जनरल स्टोर जस्ता इकाइमा दुई वर्षमा कर्मचारी सरुवा हुने गरे पनि चार वर्षदेखि एउटै व्यक्तिको रजाइ चलेको आरोप कमृचारीले लगाएका छन् । यसअघि दरबन्दी बढि भयो भनेर कटाउँदा राजनीतिक शक्ति प्रयोग गरेकाहरुले सरुवा रोक्न पनि दलबल प्रयोग गरेको कर्मचारी बताउछन् ।

वीर अस्पतालका खरिद र स्टोरबाट भएको अनियमितता बारे अख्तियार, सतर्कताकदेन्द्रदेखि मन्त्रालयसम्म स्वास्थ्यकर्मीले उजुरी गरे ।

सतर्ककताले छानबिन गरेर प्रतिवेदनसमेत तयार पारेको छ । सबैभन्दा बढी अनियमितता खरिद र स्टोरमा भएको पाइएको छ ।

तत्कालीन उपकुलपति गणेश गुरु र खरिद प्रमुख भगवती थपलियालाई सिटीस्क्यान मेशिन खरिदमा अनियमितता गरेको भनेर सतर्कता केन्द्रले कारबाहीको सिफारिससमेत गरिसकेको छ । महालेखाले समेत आफ्नो प्रतिवेदनमा सो अनियमितता औंल्याएको थियो ।

सतर्कता केन्द्रले गरेको अनुसन्धानमा एउटै व्यक्ति वर्षौसम्म जिम्मेवारीमा रहँदा खरिद, टेण्डर लगायतका प्रक्रियामा अनियमितता देखिएको उल्लेख छ । तर, अनियमिततामा संलग्न कर्मचारीलाई सरुवा गर्न अस्पताल प्रशासन असफल भएको आरोप लागेको छ ।

पछिल्लो समय वीर अस्पतालका स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा भन्दा प्रशासनिक जिम्मेवारीमा जान खोज्ने प्रवृति बढेको छ ।

खरिद, स्टोरलगायतका शाखामा बस्दा राम्रो कमाइ हुने भएकाले इमरजेन्सी लगायतका सेवा स्वयंसेवक स्वास्थ्यकर्मीको भरमा चलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment