Comments Add Comment

नुवाकोट र बसन्तपुरमा केबलकार, नरैनापुरमा भ्यू टावर

३ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाले आवधिक र दीर्घकालीन विकास गुरुयोजना तयार गरेको छ । उपमहानगरपालिकाले ५ वर्षे आवधिक र १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना तयार गरेको हो ।

विषयगत विज्ञहरु र विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गरी एकीकृत विकास गुरुयोजना तयार गरी नगरसभाबाट पारितसमेत गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

हिलपार्कमा विशाल बुद्ध मूर्ति

गुरुयोजना अनुसार बुटवलको पर्यटकीय स्थल हिलपार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिस्ट पार्क निर्माणका लागि सर्भे र जग्गा यकिन गरी डीपीआर तयार पार्ने काम भइरहेको नगरप्रमुख सुवेदीले जानकारी दिए ।

यो बुद्धमुर्ति लुम्बिनीको मायादेवी मन्दिर परिसरबाटसमेत देख्न सकिने गरी डिजाइन भइरहेको नगरपालिकाले जनाएको छ ।

गुरुयोजना अनुसार बुटवल-७ स्थित शिवनगर सामुदायिक बनमा रामपिथेकस जियोलोजिकल पार्क बनाउन सर्भे तथा जग्गा यकिन गर्ने काम भइरहेको छ ।

जितगढीमा उजिरसिंहको शालिक र राष्ट्रिय झण्डा

बुटवल उपमहानगरले तत्कालिन अंग्रेज सेनालाई नेपाली सेनाले पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाउने भएको छ ।

जितगढी किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी डिजाइन भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

यसको डिजाइन तयार भइ निर्माण कार्यको प्रक्रिया अगाडि बढाइएको छ । विभिन्न विज्ञहरुसँगको अन्तरक्रिया र छलफलमार्फत ऐतिहासिक धरोहर जितगढी किल्लाको संरक्षण र प्रर्वद्धन गर्न हरेक वर्ष बैशाख ७ गतेलाई जितगढी विजयोत्सवका रुपमा मनाउने निर्णयसमेत नगरसभाबाट गरेको छ ।

पुरानो बटौलीलाई पुरातात्विक बस्ती बनाइने

उपमहानगरपालिकाले पुरानो बटौली भनेर चिनिने बुटवलको वडा नम्बर १ र २ लाई पुरातात्वीक बस्तीको रुपमा विकास गर्नर्े गुरुयोजना समेत बनाएको छ ।

यस्तै बुटवल १ मा अवस्थित पुरानो नगरपालिका भवन भएको स्थानमा बटौली संग्राहलय निर्माण गरिने भएको छ । यो कामका लागि डीपीआर तयार पार्ने काम अगाडि बढाएको छ ।

हिलपार्कमा जनजाति र मोतिपुरमा थारु संग्रहालय

गुरुयोजनामा बुटवल ७ मा पर्ने हिलपार्कमा जनजाति संग्राहलय र वडा नंं १६ मोतिपुरमा थारु संग्राहलय निर्माण गरिने उल्लेख छ ।

नरैनापुरमा भ्यू टावर

पशुपतिनाथको महिमासंग जोडिएको वडा नंं १६ सेमलारको नरैनापुर धाम र त्यहाँको ताललाई मिनि फेवातालको रुपमा विकास गरी विशेष पर्यटकीय क्षेत्र बनाइने भएको छ ।

नरेनापुरमा भ्यू टावर र पार्क निर्माण साथै सिमसार क्षेत्रको रुपमा विकास गर्न डीपीआर तयार पार्ने काम भैरहेको उप-महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

नुवाकोट र बसन्तपुरमा केबलकार र हिल स्टेशन

बुटवल उपमहानगरपालिकासंग जोडिएका डाँडा नुवाकोट र बसन्तपुरलाई बुटवलको हिल स्टेशनका रुपमा विकास गर्ने उपमहानगरको योजना छ । ती दुबै स्थानमा व्यवस्थित वस्ती विकास गर्ने र निजि क्षेत्रको सहकार्यमा केबलकार संचालन गर्ने अवधारणा अगाडि बढाइएको छ ।

बुटवल-नुवाकोट केबलकार संचालनको लागि डीपीआरसमेत तयार भइसकेको छ भने बुटवल-बसन्तपुर केबलकार संचालनका लागि डीपीआर बनाउने काम शुरु भएको वरिष्ठ अधिकृत विष्णु खनालले जानकारी दिए ।

जबईमा उजिरसिंह रंगशाला

बुटवल १३ स्थित जवई खेल मैदानलाई फुटबल रंगशालाको रुपमा विकास गर्न डिपिआर सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइएको छ ।

यो खेलमैदानका लागि उपमहानगरपालिकाले प्रदेश सरकारसँग समेत समन्वय गरिरहेको छ । प्रदेश सरकारले प्रदेश स्तरको एउटा खेल मैदान बुटवलमा पनि बनाउने घोषणा गरेको थियो ।

उपमहानगरले यही मैदानलाई बनाउन प्रस्ताव गरेको छ । बुटवल उपमहानगरले चालु आर्थिक वर्षलाई निर्माण वर्ष घोषणा गरी गुरुयोजना अनुसारका काम गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment