Comments Add Comment

तक्मा वितरणमा पञ्चायती शैली, दुई सदस्यले गरे आफ्नै हात जगन्नाथ

४ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न-भिन्न विषयलाई महत्त्व दिएर लेखेका छन् । प्रहरी संगठनको खस्कँदो साख र विश्वासदेखि पर्यटक भिसाको सेटिङ, मुख्यमन्त्रीबाटै संविधान दिवस बहिष्कार भएकासम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले प्रमुख समाचारको रुप दिएर छापेका छन् ।

त्यसैगरी, नेताहरु लर्को लागेर विदेश यात्रामा निस्केको, तक्मा वितरणमा पञ्चायती शैली हाबी भएको, विदेश भ्रमणका नाममा कर्मचारीले एक वर्षमा २४ करोड खर्च गरेकोलगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान पाएका छन् ।

नयाँ पत्रिका दैनिकले आज ‘घट्दै प्रहरीमामथिको विश्वास’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । आईजीपीमा कमान्ड अनुभवको अभाव, आईजीपी र अन्य अधिकारीबीचको खाडलदेखि सुपरिवेक्षण र छड्के प्रणालीको अभावलगायतले प्रहरी संगठन कमजोर बन्न पुगेको नयाँ पत्रिकाको ठम्याइ छ । नयाँ पत्रिका लेख्छ- कञ्चनपुर घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीले समेत प्रहरी संगठनमाथि विश्वास गर्न छाडेका छन् ।

नयाँ पत्रिकामै विभूषण सिफारिस समितिका सदस्यले आफ्नै नाम सिफारिस गरेको अर्को खबर पनि छ । राज्यलाई महत्त्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने उक्त पदक आफ्नै हात जगन्नाथ गर्दै सिफारिस समितिका सदस्यद्वय प्रा.डा मीना वैद्य मल्ल र इन्जिनियर कासेन्द्रप्रसाद यादवले आफैंलाई सिफारिस गरेका हुन् ।

अन्नपूर्णले पनि तक्मा वितरणमा पञ्चायती शैली अपनाइएको लेखेको छ । समाचार अनुसार पदक पाउनेमा सबैजसो पहुँचवाल छन् । अन्नपूर्ण लेख्छ- सरकारले संविधान दिवसको अवसरमा ५ सय १८ जनालाई विभूषित गरेको छ । तिनमा दूरदराजमा रहेर राष्ट्र सेवा गरेकाको संख्या अत्यन्त न्यून छ ।

अन्नपूर्णले भारतमा छापिएर आउने नेपालको नक्सामा त्रुटि भएको लेखेको छ । समाचार अनुसार भारतमा छापिएर नेपालका बजारमा बिक्री ििवतरण गरिएका अधिकांश नक्सामा नेपालको सिमाना शुद्ध र क्षेत्रफल पूर्ण पाइँदैन ।

मुख्यमन्त्रीबाटै संविधान दिवस बहिष्कार भएकोलाई मुख्य समाचार बनाएको नागरिकले नेताहरु विदेश यात्रामा निस्केकोलाई पनि प्राथमिकता दिएर छापेको छ ।

नागरिक लेख्छ– नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् । भदौ ३० गते चीन गएका दाहाल स्वदेश फर्किए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता विदेश जाने तयारीमा छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेका ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि जानेछन् ।

कर्मचारीलाई भ्रमणमा रोक लगाउने सरकारका मन्त्रीहरु नै विदेश भ्रमणमा मस्त भएको उल्लेख गर्दै नागरिकले उपराष्ट्रपति नन्दबहादुर पुन, कांग्रेस नेता रामचन्द्र पौडेल, नेकपाका नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि विदेश यात्रामा नै रहेको लेखेको छ ।

समाचार अनुसार नेकपाकी स्थायी समिति सदस्य पम्फा भुसाल घाना जाँदैछिन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि यतिबेला स्वदेशमा छैनन् । उनी ६ दिने चीन भ्रमणमा व्यस्त छन् ।

कान्तिपुरले निर्मला पन्तको हत्या भएको दुई महिना पुग्नै लागे पनि उनका सहपाठीहरु अझैसम्म पनि भयभीत हुने गरेको लेखेको छ । कक्षाकोठामा बसे पनि पढ्न उनीहरुले पढ्न नसकेको र स्कुल आउँदा, जाँदा मात्रै नभएर कक्षाकोठामा बस्दा त्यही घटनाले त्रसित हुने गरेको समाचारमा उल्लेख छ ।

पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीँबाट मानव तस्करी गर्ने समूहहरु सक्रिय रहेकोलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment