Comments Add Comment

कास्कीमा बन्ने भाे फुटबल एकेडेमी, ९० किशोरलाई आवासीय प्रशिक्षण

४ असोज, पोखरा । कास्कीमा फुटबल एकेडेमी बन्ने भएको छ । नेपाल फुटबल महासंघ (एन्फा) को पहल तथा विश्व फुटवल महासंघ (फिफा)को सहयोगमा कास्कीमा गण्डकी प्रदेश स्तरीय फुटवल एकेडेमी बन्ने भएको हो ।

१० करोडको लागतमा बन्ने सो एकेडेमीमा ९० जना किशोर राखेर आवासीय ट्रेनिङ दिइनेछ । जसमा १४, १६ र १८ वर्ष उमेर समूहका रहनेछन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसका लागि ४ वटा फुटवल मैदान निर्माण गरिने जानकारी दिए । ९० जना किशोरका लागि आवास भवन, कार्यालय भवन, ट्वाइलेट, बाथरुम, फुटवल मैदानसँगै चेञ्जिङ रुमलगायत निर्माण गरिने उनले बताए ।

सो एकेडेमी निर्माणका लागि प्रारम्भिक चरणमा दुई स्थान छनौट गरिएको छ । पोखरा महानगरपालिका–१५ स्थित फूलबारी रिसोर्टको केही तल र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ को भेंडाबारी मध्ये कुनै एक ठाउँमा एकेडेमी राख्ने तयारी गरिएको हो ।

हेरिएका दुवै ठाउँको जग्गा सरकारी (पर्ती) हो । दुवै ठाउँको बुधबार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठ, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलगायतको टोलीले अवलोकन गर्‍याे ।

अवलोकनपछि टोलीले तुलनात्मक रुपमा माछापुच्छ्रेको भेंडाबारी उपयुक्त भएको निश्कर्ष निकालेको छ । तर, त्यसको विस्तृत अध्ययनपछि मात्रै निर्णय गरिने एन्फा अध्यक्ष शेर्पाले बताए ।

भेंडाबारीमा एकेडेमी राख्न खेलकुद मन्त्री विश्वकर्माले विशेष पहल गरिरहेका छन् । कास्की क्षेत्र नम्बर ३ मा पर्ने भेंडाबारी मन्त्री विश्वकर्माको निर्वाचन क्षेत्र हो । उनले यसअघि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई पनि ल्याएर सो जग्गा देखाएका थिए ।

टोलीको पहिलो रोजाई र मन्त्री विश्वकर्माले पहल गरिरहेको भेंडाबारीमा करीब ५ सय रोपनी क्षेत्रफल छ । पोखराबाट हेमजा हुँदै ल्वाङघलेल जाने बाटोमा पर्ने यो ठाउँ पोखराबाट १७ किलोमिटर उत्तरपश्चिममा छ । भेंडाबारीको यो जग्गामा एन्फाको योजना अनुरुप ४ वटा फुटवल मैदानसहित आवास र कार्यालय भवन बनाउन पर्याप्त ठाउँ छ । सो ठाउँबाट कुमारी माछापुच्छ्रे हिमालसहित अन्नपूर्ण हिमश्रृंखला देखिन्छ । पर्याप्त ठाउँ, हिमश्रृंखला देखिने जग्गा भएपनि नजिकै मर्दी खोलाका कारण टोली निश्कर्षमा भने पुगिसकेको छैन । किनकि त्यहाँ एकेडेमी बनाउने हो भने मर्दीखोलामा तटबन्ध लगाउनुपर्ने बाध्यता रहन्छ । यसले खर्च बढाउनसक्ने भएकाले यसको बिस्तृत अध्ययन पछि मात्रै निर्णय गरिन लागेको हो ।

पोखरा १५ को जग्गा भने पोखराबाट नजिक पर्छ । पोखराको बुद्धचोकबाट करीब ३ किलोमिटर नजिक रहेको यो केहि होंचो ठाउँ हो । यद्वपी त्यस ठाउँबाट पनि माछापुच्छ्रे, अन्नपूर्ण हिमाल देखिन्छ । क्षेत्रफलको हिसाबले करीब २ सय रोपनी जग्गा रहेको यो ठाउँ अन्य हिसाबले उपयुक्त भएपनि केहि खोंच भएको र मन्त्री विश्वकर्माको अनिच्छा रहेका कारण त्यहाँ एकेडेमी बन्ने सम्भावना कम रहेको श्रोतले बताएको छ । तर एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ भने पोखराबाट नजिक भएकाले यो ठाउँ उपयुक्त भएको बताउँछन् ।

जग्गाको अवलोकनपछि मन्त्री विश्वकर्माले भेंडाबारीमै एकेडेमी निर्माण गरिने बताए । उनले सबै हिसाबले उपयुक्त भएकाले भेंडाबारीमा एकेडेमी बनाइने बताए । ‘विदेशीलाई हिमाल चाहिन्छ, उनीहरुकै लगानी भएकाले भेंडाबारी नै उपयुक्त छ’–उनले भने ।

तर सँगै भएका एन्फा अध्यक्ष शेर्पाले भने जग्गा उपयुक्त भएपनि विस्तृत अध्ययनपछि अन्तिम निर्णय गरिने बताए । उनले भने,‘एकेडेमी निर्माणका लागि जग्गा उपयुक्त नै छ, स्थानियको उत्साह र उमंगले खुशी र हर्षित छु, तर अन्तिम निर्णय भने विस्तृत अध्ययनपछि मात्र गरिनेछ ।’ उनले जग्गाको नापजाँच गरेर पठाउन गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई आग्रह गरे । गाउँपालिकाको नापजाँचको रिपोर्ट हेरेर एन्फाले भौगोलिक रुपमा ठाउँको अवस्थिति बुझ्न टेक्निकल टीम पठाएर उसले दिएको रिपोर्टको आधारमा निर्णय गर्ने उनले प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment