Comments Add Comment

पहिचानवादी साहित्य, गोडमेल गर्ने माली र बीउ

गत साउन ५ गतेको एक दैनिक पत्रिकामा कसैले मलाई खिसिटिउँरी गर्दै पहिचानको ‘दाबी’ गरेर मजाक गरेको ‘दाबी’ दार लेख पढ्न पाएँ । महाशयको लेखाइ ‘उग्रा चण्डा’ थियो । परिश्रम थियो । ब्यङ्ग्य थियो । तर्क जुटाउन न्वारनदेखिको बल निकालेर प्रयास गरेका थिए ।

म सपरिवार हङकङ बाहिर भारत, नेपाल भएकाले पढ्न पाएको थिइनँ । पछि पढें । अचम्म लाग्यो । ‘नव पहिचानवादी’ ‘दाबी’ दार लेख । ‘आफै धामी आफैं बोक्सी’ को भङ्गभिाव । रसतालबाट पहिचानको मार्काण्डय अलापेका । पहिचानको सुकराती ‘दाबी’ । उनी मौलिक रे । मनगढन्ते बखान । अर्काले रोपेको बिरूवामा एक हजारी पानी हालेर हक जमाउने चाहना । ‘दाबी’ हाम्रो पहिचान नै भइसक्यो ।

नेपाली साहित्यमा मैलेभन्दा अगाडि पहिचानी आवाज उठाएको प्रमाण पुर्‍याउन धेरैलाई हम्मे पर्छ । तर, दाबी गर्नेको बजार छ । किनबेच छ । नातावाद, कृपावाद छ । केन्द्र र मोहफसलको वाकयुद्ध । विदेशी डलरको चलखेल छ । मैले कहिले दाबी गरिनँ । ममाथि औंला उठाएपछि ‘एक शब्द बोलौं’ भनेर पाठकको अदालतमा प्रमाणसहित आएको हुँ । पाठकभन्दा ठूला कोही हुँदैनन् ।

नेपालमा कसरी शुरू भयो पहिचानी साहित्य ? चोर औंलाको युद्धभन्दा नि आमचासोको विषय बन्दैछ यो । उत्तराधुनिक साहित्यको कान्छो सन्तानको रूपमा हुर्कियो । यसैले यसको प्रारम्भिक नालीबेली केलाउन सान्दर्भिक लाग्यो । उठाएँ । कसैलाई रिझाउनु छ न बिझाउनु । कसैलाई झटारो लागेछ भने म के गर्न सक्छु ।

बिनालगानी दाबी गरेको देख्दा काउकुती लागेर आउँछ । घुमाउरो पारामा ब्याज माग्ने बग्रेती छन् । यसलाई उर्बर मानेर खेती गर्ने कति भेटिन्छन् । पत्रकारको कमि छैन । पछिल्लो समयमा पुरस्कारको राशी बढ्दैछ । अनि पहलमानी शुरू भइहाल्यो तँछाड र पछाँडको । उनी त्यही कोटीमा उभिन्छन् । नदेखिने पाराले । छेलिएर । बाहिर विरोध गरेको जस्तो भित्र नौनी चरित्रमा । वयस्क हुँदै गरेको मानिसलाई लाग्ने साँढे रोग ।

एक जना मेरो दाजु पर्ने छन् । तिनी हङकङबाट बेलायत सरेको एकवर्ष भएको हुनुपर्छ, एकदिन फोन गरेर भने-“भाइ अब कसैको इफ्लिस पत्याइँदैन ।” मलाई हाँस उठ्यो, बेलायत पुग्नासाथ गाउँले अंग्रेजी बेलायती बनिहाल्छ र ? दाईलाई गाउँबाट धरान झरेको देखेको थिएँ । कति छिटो मानिसले थातथलो बिर्सिन्छन् । दाइ र ‘दाबी’ कार महोदयलाई साथै हेर्न मन लाग्यो । मैले सम्झे पि्रय स्तम्भकारलाई । ‘अपमान’ उपन्यास लेख्दा मेरो सोच, उस्तै थियो, तर ‘आदिवासी’मा शालीन । अब बुझाइले, कर्मले ‘उग्रा चण्डा’ सुहाउँदैन मलाई । मान्छे हाँस्छन् भन्ने लाग्छ ।

त्योबेला पहिचान अहिलेको जस्तो भाइरल थिएन । सोसियल मिडियाबाट बिलकुलै टाढा । अहिले सोसियल मिडियामा खेलौना भएको छ । औंला औंलामा खेलिने । एनजीओ, आइएनजीओको सुनको अण्डा दिने मूर्गा

बीउ कसले रोप्यो त्यो महत्वपूर्ण हो । सिद्धान्तमा हामी ‘डायलेकिटक मेटेरिल’को कुरा गर्छौ र बिर्सिन्छौ सुकरात । पुज्छौं हेगेल र मार्क्स । प्रारम्भिक तर्क, विवाद र सत्यको कुरा पहिला सुकरातले गरेका थिए । उनको दर्शन नै यतैबाट आएको हो । यो नै थेसिस, एन्टिथेसिस र सिन्थेसिस बन्यो । यसको रंग फेरियो । त्यस्तै ‘सामाजिक करार’मा पाइन्छ । सुकरातसितको बहसमा ग्लोकनले “समाजमा मानिसहरू हत्या, हिंसा गर्छन् । यसले समाजमा डर पैदा गर्दछ ।

मानिसहरूलाई आदर्श राज्यमा राख्न नियम, कानून सबैले मान्नुपर्छ । नियम, कानुन मनाउन सामाजिक करार गर्नुपर्छ” भनेका थिए । फेरिँदै थोमस हब्स, जोन लक र रूसो सम्म आयो । तर बीउ रोप्ने किसान बिर्से । यस्ता धेरै छन् । एउटा ईटामाथि थपिन्दै आउँछ र विशाल पिरामीड बन्छ ।

मेरो छिमेकमा एकजना सृजनशील कवि छन्, तिनले धेरैपटक सुनाए, “तपाईको पुस्तक पढेर राजन मुकारूङ्ग पहिचानवादी भएका हुन् ।” ५० वर्ष अगाडि टी. एस. इलियटले वेनजोनसन माथि लेखेको लेखमा उल्लेख भएको ‘तेस्रो आयाम’ शब्द पक्रेर हाम्रा आयामेलीहरू कुदेका हुन् (यसबारेमा कृष्ण धरावासीको लीलाबोधमा आइ.बी. राईले लेखेका छन् ।) भने ०५२ सालमा प्रकाशित भएको कृतिले ०५४/५५ साललाई नछुने कुरै भएन ।

पहिचान एउटा इस्यू हो । विचारकले विचार दिएपछि सामाजिक अभियन्ता र राजनैतिक कार्यकर्ताले नारा बनाउँछन् । यसको गीत गाउँछन् । ०४६ मा राजनैतिक परिवर्तन आयो । त्यसले ब्याड तयार पार्‍यो । त्यो ब्याडमा रोपियो ‘अपमान’ उपन्यास । हुर्कायो आवाजहरू । लेखायो नवीन साहित्य । त्यो थियो ‘पहिचान’ । आगो बाल्ने साहित्य । आँसु पुछ्ने साहित्य । हजारौ वर्षदेखि भेद्भाव झेलिरहेकाका आवाज । लैङ्गकि भेदभावको अदालत । राजनीतिमा अझै आएको थिएन । बिस्तारै माओवादी बन्दूकमा आउन थाल्यो । एमाले र कांग्रेसको आँखा बन्द थियो, खुलेको थिएन । चिमचिम गर्दै खुल्न थाले । माओवादीले जस्तै ०५२ सालको पहिचान साहित्यले मलिलो हावापानी, मल, जग पायो र हलक्कै बढ्यो । मालीहरू धेरै आए । रोप्ने महान् कि माली अनाहक बहस शुरु भयो । यो बेकार छ । इस्यू त न्याय, अधिकारको हो । देशको उन्नति, प्रगति र शान्तिको हो ।

कहालीलाग्दो मुलुकी ऐन । कसैले ब्रम्हलुट गरिरहेको । कसैले पशुपतिमा फँडा मारेर बसेका । उकुसमुकुस वातावरण । खडेरीले पट्पट् फुटेको सामाजिक घाउ । मानिसहरू प्रजातन्त्र आयो भनेर हर्षबढाइ गरिरहेका थिए । भित्रभित्र वर्षौदेखिको ढुँडीले गलिरहेका । रूएर आँसु सुकेका आँखाहरू । मधेसे भन्यो आर्मीमा भर्ना बन्देज । तामाङ्ग पिपा आर्मीमा । जनजाति सरकारी कोटा बाहिर । हामीलाई किन अन्यायको चर्को नारी स्वर । सत्तासीन आर्मी, प्रहरी, निजामति भागबण्डा गरेर बसेका । के यी मानिसहरू नेपालका नागरिक होइनन् ? हुन भने किन आकाशजमिनको भेद्भाव ? के यो राज्य कसैको बिर्ता हो ? किन, किन किन …… चारैतिर । यस्तै सोच पैदा भयो ममा । पठन सामाग्री थिएन । औलामा गन्न सकिने मानिस बाहेक सबै ‘अपमानित’ । अपमानितहरूको संकलित आवाजको दस्ताबेज थियो ‘अपमान’ ।तेस्रो आयामले यो आवाज साँकेतिक बोल्यो- प्राज्ञिक भाषामा । आम पाठकको पहुचभन्दा बाहिर । कलिष्ट-आईबीराईडियन शैली र काईलाइय कवित्व । एकदलीय पञ्चायतको कालो छडीसँग लुकेर । डराउँदै । भाग्दै । एकदलीय निरङ्कुशले लामो समय कालो छडी घुमाइरहृयो । ०४६ सालबाट मुख खुले । यसबेला मलाई लाग्छ अहिले उफ्रिरहने ‘दाबी’ दारहरूको भु्रण पनि पलाएको थिएन । म पनि बतासिन्दै थिएँ हुँला । तर, परिवर्तनको हावाले मलाई ब्यूँझायो । हेरे चारैतिर अन्धकार । जातिहरूमा असमानता । भेद्भाव । एउटै राज्यका नागरिकहरू अनेकाैं बहानमा सीमान्तकृत । अधिकारबाट बञ्चित । राज्य कोषबाट बञ्चित ।

त्यतिखेर मैले ‘अपमान’ जन्माएँ । गोडमेल गरें । चरचर फुटेको घाउमा मलमपट्टी गरें । भेदभावकारी राज्य, कानुनको पर्दाफास गरें । मुद्दा उठाएँ । धेरै लाञ्छना खपें । गाली खाएँ । किनभने समाज त्यो बिन्दूमा पुगेको थिएन । सनातनी, परम्परावादीहरू विरोध सहने स्थितिमा थिएनन् । विश्वमा पुरानो भैसकेको थियो । नेपालमा नौलो । पञ्चायतको आत्मा सरकारी मानिसहरूमा जीवितै थियो । सेना र प्रहरीको रगत । जेल देला भन्ने भय । त्यतिखेर रोपिएको हो ‘अपमान’ । ‘अपमान’ हो पहिचानको बीउ । पछि वर्षामा उम्रिने च्याऊ जस्तै उम्रे । र वन साङ्गलेले घर साङ्गले लखेटे । मैले सडकमा उभेर जात्रा गरिनँ न पत्रिकामा माइकिन गरें । घुमी घुमी जनताको आँसु पुछेको, घर आँगन बढारिदिएको ‘दाबी’ चाल मौलायो । एक नागरिकको नाताले ब्रहमाण्ड र पृथ्वी असहज लागेको मात्र हो । गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भटराई, ज्ञानेन्द्र शाह सबैले आफूले राम्रै गरेको दाबी गर्छन् । अरौटे भरौटेहरूको ताली छ । ओली सरकारले आफूलाई कम आँक्दैनन् । उसको ताली ठोक्ने पल्टन छ । गिरिजालाई नोबेल शान्ति पुरस्कारको सिफारिस गर्नुपर्छ भन्नेको कमी थिएन ।

एउटा प्रचलित भनाइ छ, “सबै सुतेको बेला दार्शनिक ब्यूँझिन्छन्, सबै ब्यूँझिएका बेला सुत्छन्

०६४ सालमा ‘आदिवासी’ उपन्यास लेख्नुपर्‍यो । समयको अचानोमा ‘अपमान’ को कमजोरी चिरफार गर्नुपर्‍यो । अर्थात् पहिचानको । ‘भयवाद’लाई साहित्यमा उतार्दै पहिचानको पुनमूल्याङ्कन गरें । ‘अपमान’ केन्द्रविरूद्धको आक्रोश थियो ‘आदिवासी’ पहिचानभित्रको ‘पहिचान’ । पहिचानभित्र पहिचानवादीहरूले पहिचान गुमाइरहेका थिए । स्वार्थी, चाकडीबाज, धोकेबाज, खुराफाती मौलाउँदै आयो । ताप्प्रे जस्तै फैलियो । वास्तविक किनारा लागे, नक्कलीहरूको बिगबिगी बढ्यो । वनमाराले खायो बाली । भनौ ‘दाबी’ दार अर्थात् चैते पहिचानवादी मौलाए ।

पहिचानको इस्सुलाई अन्तर्राष्टियकरण गर्न आदिवासीको अंग्रेजी संस्करण ‘दी ट्राइभमेन्स जर्नी टु फियरलेस’ प्रकाशित गरें ।

नेपालीमा प्रचलित उखान छ ‘बाघको छालामा स्यालको रजाइ’, ‘काम गर्ने हनुमान जस पाउने ढेँडु’ र ‘मरेको बाघको जुँगा उखेल्ने’ । राजनीतिमा जस्तै यता पनि यो लोकपि्रय छ । मैले अनेकौं जोखिम मोलेर गरेको काममा अहिले रजाइ गर्ने स्यालहरूको ठेलामठेल छ । पहिचानको साहित्य गर्ने एउटा, जस पाउने अरू । स्थानीय सरकार आएपछि पहिचान मरेको बाघ भैसक्यो । उफ्री उफ्री जुँगा उखेलेको देख्दा अरूलाई के हुन्छ भन्न सक्दिनँ, मलाई चाहिँ हाँस उठ्छ ।

बेलायती माक्र्सवादी समालोचक रेमण्ड विलियमले यसो भने, “टचस्टोन साहित्य पढ्ने, पढाउने, लेख्ने, बोल्ने, प्रचार गर्ने सबै उच्च वर्गका हुन्छन् । त्यसैबेला लेखिएको अष्ट्रेलियाका आदिवासी, अमेरिका आदिवासीको कुरा कसले गर्ने ?” उसको भनाइ बेलायती समालोचक माथ्र्यु आर्नोल्डको प्रतिवाद थियो । माथ्र्यु आर्नोल्डले सेक्सपियर, वर्डस वर्थले लेखेको साहित्यलाई ‘टच स्टोन’ मानेका थिए । केन्द्र र सीमान्तकृत सवालमा यो लागू हुन्छ । मेरै सवालमा लागू भएको छ । पत्रिकामा केन्द्र पक्षका दाबी दारको अक्षरस लेख छापिन्छ । मैले लेखेको काटिन्छ, छापिँदैनन् । समुद्रपारको बेठीक हुन्छ । सीमान्तकृत भनेको नै यस्तै हो ।

स्थानीय सरकार बनिसक्दा त यो हाल छ । उसबेला कस्तो थियो होला सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले रेमण्ड विलियम हामीजस्ता अपमानवादीको लागि तार्किक गुरूमा पर्छन् । मेरो दाबीको प्रमाण यसैसाथ पठाएको छु । बिना प्रमाण, हावाको भरमा म कहिले दाबी गर्दिनँ । गरें म पनि जोकर नै भएँ नि । यो कुरा माओवादीले बन्दूक नबोकेको बेलाको कुरा हो । मानिसहरू, छटपटिएको अधिकार, न्याय नपाएर रोइरहेको बेलाको कुरा हो । उनीहरूलाई मलम चाहिएको थियो । ज्ञान चाहिएको थियो । भोक मार्ने अन्न र जाडो छोप्ने कपडा । यो अनिकाल र उजाड समयको कुरा हो ।

त्योबेला पहिचान अहिलेको जस्तो भाइरल थिएन । सोसियल मिडियाबाट बिलकुलै टाढा । अहिले सोसियल मिडियामा खेलौना भएको छ । औंला औंलामा खेलिने । एनजीओ, आइएनजीओको सुनको अण्डा दिने मूर्गा !

पहिचानलाई व्यापारिक वस्तु बनाएर कमाउने महाशय नि धेरै भेटिन्छन् । विदेशबाट चलेका रोबोट भेटिन्छन् । विदेशी भाषा बोल्ने प्रवक्ता र कार्य गर्ने कार्यकर्ता धेरै छन् । उताबाट बटन दबाएपछि यता उग्र कराउँछन्, लेख्छन् । उसबेला साहित्यको बाटोमा करीब करीब म एक्लै थिएँ ।

सडकमा उभिनुभन्दा विचारमा उभिनु ठुलो कुरा हो । सडकमा उभिने विचारमा उभिएका हुन्छन् । विचार मारेर उभिनेले समाजलाई के देखाउने ? एउटा प्रचलित भनाइ छ, “सबै सुतेको बेला दार्शनिक ब्यूँझिन्छन्, सबै ब्यूझिएका बेला सुत्छन् ।”

हिजो कोही ब्यूँझिएको थिएन, हामीले ब्यूँझायौं । अहिले व्यूँझिएका छन्, हामी अरू नै बाटोमा लागिसकेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment