Comments Add Comment

बच्चालाई भान्साको काममा किन खटाउने ? यी हुन् ५ फाइदा

हामी चाहन्छौं, आफ्नो बच्चा सिपालु होस् । सबै काममा पोख्त होस् । व्यवहारिक होस् ।

यसका लागि के गर्ने ?

सजिलो काइदा छ, घरायसी कामधन्दा सिकाउने । अहिले हामी बच्चालाई स्मार्ट वा वौद्धिक बनाउने चक्करमा किताबमा मात्र घोकाउँछौं । विद्यालय भन्दा बाहिरको संसार देखाउँदैनौं ।

जबकी हरेक आमाबुबाले आफ्नो बच्चाको उज्जवल भविष्य चाहन्छन् । आफ्नो बच्चा हरेक कुरामा अब्बल आउन भन्ने चाहना सबै आमाबुबाको हुन्छ ।

हुन पनि बदलिँदो समयसँगै बच्चाहरु बहुप्रतिभाशाली हुनुपर्ने आवश्यकता हुँदै गएको छ । आफ्नो बच्चा हरेक कुरामा फिट होउन् भनेर आमाबुबाले त्यसै अनुसार उनीहरुलाई तयार गर्नुपर्छ ।

आमाबुबाले आफ्नो बच्चालाई पढाईमा मात्रै केन्दि्रत गर्नुहुन्न उनीहरुलाई जीवन उपयोगी सीपहरु पनि सिकाउनु पर्छ ।

आमाबुबाले बच्चा स्कूल जान लायक भएपछि उनीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापमा पनि लगाउनुपर्छ । पढाईलेखाई, खेलकुद, ब्रेन एक्टिभिटी ट्रेनिङको साथसाथै अब बच्चालाई खाना बनाउन पनि सिकाउनुपर्छ ।

बच्चाहरुलाई खाना बनाउन सिकाउनाको धेरै फाइदाहरु छन् । उनीहरुले खाना बनाउन मात्रै सिक्दैनन् । यसबाट उनीहरुले खानाको महत्व बुझ्छन् र कुन खानामा कस्तो पोषणतत्वहरु पाइन्छ भन्ने बारेमा पनि थाहा पाउँछन् ।

मद्दत गर्न सिकाउनुहोस् 

खाना पकाउँदा यदि तपाईको नजिकै बच्चा छन् भने उनीहरुसँग सानो सानो सहयोग लिन सुरुवात गर्नुहोस् । जस्तोः फ्रिजबाट सागसब्जी निकाल्न वा पानि सारिदिन लगाउन सक्नुहुन्छ ।

यसले बच्चामा नयाँ नयाँ चीजको बारेमा जान्ने जिज्ञासा हुन्छ । त्यस्तै जब उनीहरु कुकिङको यी सबै कुराहरुलाई नजिकैबाट देख्छन् यसले उनीहरुलाई कुन खानेकुरा कसरी बनाइन्छ भन्ने बारेमा पनि सिक्न चाहन्छन् ।

सबैखाले खानेकुरा खान सिकाउनुहोस्

धेरैजसो आमाबुबाको एउटै गुनासो हुन्छ कि उनीहरुको बच्चा सबै खालको सागसब्जी वा खाना खाँदैनन् । यो यसकारणले पनि हुन सक्छ कि खानपानको धेरै जसो चीजहरु या त बच्चाले कहिलेकाँही देख्छन वा पहिलोपटक देख्दैछन् ।

त्यस्तै केही सागसब्जी उनीहरुलाई मन पर्दैन तर तपाईंले उनीहरुलाई गाली गर्नको सट्टा माया गरेर खान लगाउनुपर्छ । त्यस्तै तपाईंले दैनिक खाना बनाउँदा बच्चाहरुसँग खानपिनको चीजहरुको बारेमा कुरा गर्नुभएमा उनीहरु ती चीजलाई चाख्न चाहन्छन् ।

स्वस्थ खाना खान सिकाउनुहोस्

खाना बनाउँदा बनाउँदै बच्चालाई खाना बनाउन प्रयोग भइरहेको सामग्रीहरुको फाइदाहरु र त्यसमा हुने पोषक तत्वहरुको बारेमा कुरा गर्नुहोस् ।

विस्तारै विस्तारै उनीहरु आँफै फलफूल, सागसब्जी र अरु खानपिनका चीजहरुको बारेमा आँफै सोध्न सुरु गर्नेछन् ।

बच्चासँग घुलमिल हुनुहोस्

बच्चासँग घुलमिल हुन र उनीहरुको सोखको बारेमा जान्नको लागि किचनभन्दा राम्रो अर्को ठाँउ हुँदैन । बच्चा चञ्चल हुन्छन् त्यसैले अरुबेलामा उनीहरुलाई अगाडि राखेर आफ्नो कुरा भन्न र सुनाउन थोरै मुस्किल हुन्छ ।

यस्तोमा किचनमा हुने फरकफरक कुकिङ एक्टिभिटीहरुले उनीहरुलाई तपाईं तर्फ आकषिर्त गर्छ र उनीहरु केही समय त्यहाँ बिताउन चाहन्छन् । त्यसैले उनीहरुसँग कुराकानी गर्दै घुलमिल हुने उपयुक्त समय यहि हो ।

आत्मनिर्भर बनाउनुहोस्

करियर बनाउनको लागि धेरैजसो बच्चालाई किशोरावस्था मै घरबाहिर होस्टल वा छुट्टै कोठामा रहेर पढ्नुपर्छ । यस्तो स्थितीमा तपाईंले सिकाउनुभएको खाना बनाउने सीप बच्चालाई सबैभन्दा धेरै काम आउँछ ।

उनीहरु मनपर्ने खाना वा स्वस्थ खानाको लागि कसैमा निर्भर नभई आँफै खाना बनाउनको लागि तयार हुन्छन् ।

बच्चाको उमेरअनुसार उनीहरुलाई सजिला परिकारहरु पनि बनाउन सिकाउनुहोस् ताकी उनीहरु पनि स्वस्थ खाना सुखी जीवनशैलीको सही अर्थ बुझ्न सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment