अहिले सबैजसो स्वास्थ्यप्रति सचेत छन् । कस्तो खानपान खाने, कस्तो जीवनशैली अपनाउने भन्ने कुरामा सर्तक छन् ।
भनिन्छ, नुनको सेवन शरीरका लागि फाइदाजनक छैन ।
भनिन्छ, चिनी त सेवन गर्नै हुन्न ।
भनिन्छ, मैदाको खानेकुराले स्वास्थ्यलाई एकदम हानी पुर्याउँछ ।
भनिन्छ, मासुजन्य खानेकुराको सेवनले रोग निम्त्याउँछ ।
यस्ता भनाईहरु सुन्दा कतिले दिक्क मान्ने गरेका छन्, ‘यो पनि खान नहुने, त्यो पनि खान नहुने । खाने चाहि के हो त ?’
वास्तवमा कुनैपनि कुरा पूर्णत निषेध गर्नुपर्छ भनिएको होइन । नुन, चिनी जस्ता कुराहरुको सेवन स्वास्थ्यमैत्री मानिदैन । यद्यपी सन्तुलित मात्रामा नखाएको अवस्थामा मात्रै । अर्थात यस्ता खानेकुराहरु सही मात्रामा सेवन गर्दा त्यसले वेफाइदा होइन, फाइदा गर्छ ।
तर, चिकित्सक वा कसैले कुनैपनि खानेकुरा कन्ट्रोल गर्नुपर्यो भनेमा हामी त्यसलाई पूर्णत खान छाड्छौं । जबकी शरीरलाई विभिन्न किसिमको पोषक तत्वको आवश्यक हुन्छ । ति पोषक तत्व खानेकुराबाट नै प्राप्त हुने हो । यदी हामीले उक्त खानेकुरा खान छाडेमा स्वास्थ्यमा प्रतिकुल असर देखापर्न सक्छ ।
उच्च रक्तचाप भएकाहरु अहिले नुन खान छाड्दैछन् । नुनको मात्रा बढी भएमा उच्च रक्तचापमा थप हानी गर्छ । तर, त्यसो भन्दैमा नुन पूर्णत त्याग्नुपर्छ भन्ने पनि होइन ।
आखिर, नुनको कमी वा धेरै प्रयोगले स्वास्थ्यमा कस्तो असर निम्त्याउँछ त ? यसबारे वीर अस्पताल वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीको भनाई यस्तो छ ।
शरीरका लागि नुन अर्थात सोडियम पनि आवश्यक छ । त्यसैले चिकित्सकहरु एउटा स्वस्थ व्यक्तिलाई दिनमा पाँच ग्राम नुन खान सललाह दिने गर्छन् ।
अमेरिकन हार्ट एशोसिएसनले पनि एउटा वयस्क व्यक्तिका निम्ति दिनमा दुई चम्चा नुनको सेवन गर्न सुझाव दिएको छ । जबकी उच्च रक्तचाप भएका व्यक्तिलाई भने आधा चम्चा नुन खान सिफारिस गरेको छ ।
तर हाम्रो परिवेश फरक छ । हामीकहाँ दैनिक एघार ग्राम सम्म नुन खाने गरेको पाइएको छ ।
ठाउँ अनुसार नुनको सेवन
करिब ५/७ वर्ष अघि सम्पन्न भएको एक अध्ययनले समेत नेपालीहरु दोब्बर नुन सेवन गर्छन् भनेर समेत प्रमाणित गरिसकेको छ ।
यसरी आवश्यकता भन्दा बढी नुन सेवन गर्ने हिमाल देखि तराईका मानिस समेत पर्दछन । विशेषगरी, हिमाली क्षेत्रमा वसोवास गर्नेहरु चियामा समेत नुन तथा घिउ हालेर खान्छन् भने तराईका बासिन्दालेे समेत चियामा नुनको प्रयोग गर्ने गरेको पाइएको छ ।
पहाडी क्षेत्रमा वसोवास गर्ने मानिसहरुले भने खानाको स्वाद बढाउने उद्देश्यले तरकारी तथा अचारमा समेत नुन हाल्ने गरेको पाइएको छ । यस हिसाबले नेपालमा नुनको खपत धेरै भएको पाइन्छ ।
जबकी खानामा धेरै नुनको प्रयोग भएमा पनि त्यसले स्वास्थ्य सम्बन्धि गम्भीर समस्या निम्त्याउँछ भने कम नुनको प्रयोग मानिसको लागि अझै धेरै घातक मानिन्छ ।
खानामा धेरै नुनको प्रयोग
खानामा आवश्यकता भन्दा बढी मात्रामा नुनको प्रयोग भएमा उच्च रक्तचाप, मुटु रोग, मिर्गौला लगायतका विभिन्न किसिमको समस्या निम्त्याउने गर्छ ।
विशेषगरी, खानामा नुनको प्रयोग धेरै भएमा त्यसले शरीरको पानीलाई सुकाएर रगतको मात्रालाई बढाउँछ , जसले गर्दा उच्च रक्तचापको समस्या निम्तने गर्छ । उच्च रक्तचाप भएमा हृदयाघात तथा स्ट्रोकको जोखिम उच्च हुने गर्छ ।
त्यस्तै, खानामा नुनको प्रयोग धेरै भएमा त्यसले मिर्गौलालाई समेत असर पार्ने गर्छ भने नुनको अत्याधिक मात्रामा सेवन गर्नाले प्यास समेत जगाउँछ । त्यो कसरी भन्दा जब शरीरमा नुनको मात्रा धेरै हुन्छ, उक्त नुनले कोषिकामा भएको पानी स्वत सुक्न थाल्छ, जसका कारण शरीरमा पानीको कमी भई प्यास लाग्ने गर्छ ।
यसबाहेक, पहिले नै मुटु रोग लागेका मानिसहरुले नुनको सेवन अत्याधिक मात्रामा गरेको खण्डमा उनीहरुको मुटुले राम्ररी रगत पम्प गर्न सक्दैन । मुटुले राम्ररी रगत पम्प गर्न नसकेको खण्डमा हृदयाघात हुने जोखिम उच्च हुन्छ ।
यी त भए, आवश्यक्ता भन्दा बढी मात्रामा नुनको सेवनले स्वास्थ्यमा निम्त्याउने समस्या । तर, शरीरमा नुनको कमी भएमा यसले स्वास्थ्यमा कस्तो समस्या निम्त्याउँछ त ?
नुनको मात्रा कम भए के हुन्छ ?
यसबारे डा. रेग्मी भन्छन्,’ नुनको अत्याधिक सेवनले शरीरलाई असर त गर्ने नै भयो । नुनको कमीले पनि शरीरमा ठूलो समस्या निम्त्याउने हुदाँ शरीरमा नुनको सन्तुलन कायम गर्न जरुरी छ’ ।
उनका अनुसार शरीरमा नुनको कमी भएमा मस्तिष्क सुन्निने, मस्तिष्कले प्रतिक्रिया जनाउने, जसका कारण टाउको दुख्ने, चक्कर लाग्ने र मस्तिष्क लठि्ठएर बेहोस हुनसक्ने तथा बेहोश भएर मानिसको मृत्यु समेत हुनसक्छ ।
नेपालमा अत्याधिक मात्रामा नुनको सेवनका कारण समस्या लिएर अस्पताल पुग्ने भन्दा नुन कमको समस्या लिएर अस्पताल आउने विरामीको संख्या धेरै छ । त्यसमध्य पनि शरीरमा नुनको कमी धेरै भई इमर्जेन्सी आउने तथा सलाईनमार्फत नुन चढाउनु पर्ने विरामीको संख्या धेरै हुने गरेको छ ।
त्यस्ता समस्या हुनेमा उच्च रक्तचापका विरामी नै धेरै छन् । उच्च रक्तचापको औषधी खानेहरुलाई नुन कम हुने औषधी समेत दिइने हुँदा त्यस्ता औषधी सेवन गर्ने वृद्धवृद्धाहरुमा यो समस्या धेरै हुने गर्छ ।
त्यसैले , यो समस्या कम गर्नका लागि पनि ठिक्क मात्रामा अर्थात ‘पाँच ग्राम’ नुनको सेवन गर्नुपर्दछ ।
तर, पाँच ग्राम भनेर कसरी थाहा पाउने ?
डा. रेग्मी यस प्रश्नको जवाफ आफूसित पनि नभएको स्पष्ट गर्छन् । भन्छन्,’हामी विरामीहरुलाई दैनिक पाँच ग्राम नुनको सेवन गर्न सुझाव त दिन्छौ । तर पाँच ग्राम केलाई मान्ने भन्ने प्रश्नको जवाफ हामी आफैसित पनि छैन ।’
तर पनि यसको मापन गर्ने सजिलो तरीका भनेको पाँच जनाको परिवारका लागि महिनामा एक किलो नुनको खपत हो । एक किलो नुनमा हजार ग्राम हुन्छ । जबकी एकजना वयष्कको लागि दिनमा पाच ग्राम नुनको दरले महिनामा एक सय पचास ग्राम नुनको आवश्यकता पर्छ ।
तर पाँच जनाको परिवारमा दिनमा पाँच ग्राम नुन खपत हुँदा महिनामा ७५० ग्राम नुन खपत हुन्छ । यदी कसैले बढी नै खाएछ भने पनि एक केजी भन्दा बढी खान सक्दैन । पाँच जनाको परिवारलाई महिनामा एक केजी नुनले पनि नुन नपुग्नु भनेको त्यो घरका मानिसले नुनको सेवन धेरै गर्छु भन्नु हो ।
त्यतिमात्र हैन, कयौ खानेकुरामा प्राकृतिक रुपमै नुनको मात्रा बढी हुने भएकोले तयस्ता खानेकुरामा पनि ध्यान दिन डा. रेग्मी सुझाव दिन्छन् ।
त्यस्तै, खानामा बेग्लै नुन नहाल्न तथा सिसिमा खादेका अचार, जंकफुड तथा प्याकेटमा राखिएका फुड पनि नखान सुझाव दिने गर्छन् । उनी भन्छन्,’ यस्ता खानेकुरामा नुनको प्रयोग बढी मात्रामा हुने भएको यसले मस्तिष्क देखि मुटु तथा मिर्गौलालाई समेत असर गर्न सक्छ । त्यतिमात्र हैन, यस्ता खानेकुरामा चिल्लो तथा चिनीको समेत प्रयोग बढी मात्रामा गरिएको हुन्छ । जसले शरीरलाई हानीबाहेक अरु केही गर्दैन ‘ ।
त्यसो भए नुनको अन्य कुनै विकल्प छ ?
‘किन नहुनु ? नुनको विकल्प जति भनेपनि छ । तपाईहरुले याद गर्नु भएको छ भने तपाईहरुलाई पक्कै थाहा होला, विदेशीहरु कुनै पनि खानेकुरामा नुनको सट्टा मरिजको प्रयोग धेरै र्गछन् । त्यस्तै, उनीहरु अदुवा , खुसार्नी लगायतका मसलाको प्रयोग पनि धेरै गर्छन् । जुन आफैमा राम्रो विकल्प हो । र, यसको सही तरीकाले स्वाद लिन सकेको खण्डमा यसले स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ’, डा. रेग्मी भन्छन् ।