Comments Add Comment

भारतलाई फाइदा हुने तालिका, पाकिस्तान र बंगलादेश रुष्ट

काठमाडौं । एसिया कपमा भारतलाई सहज हुने गरी खेल तालिका परिवर्तन गरेपछि बंगलादेश र पाकिस्तानका कप्तानले असन्तुष्टि जनाएका छन् ।

दोस्रो चरणको खेलहरु दुबई र अबुधाबी गरेर दुई स्थानमा खेलाइने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ । तर, भारतका सबै खेल भने दुबईमा मात्रै पारिएको छ ।

एसीसीको बदमासी कतिसम्म छ भने बंगलादेेशले बिहीबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग खेलिरहेको छ । सुपर फोरमा उसले भोलि नै भारतसँग खेल्न दुबई पुग्नुपर्ने छ ।

सबै टिमका खेलाडी दुबईमा बसेका छन् । अबुधबीमा हुने खेलका लागि प्रत्येक दिन करिब ९० मिनेटको बस यात्रा गर्नुपर्ने हुन्छ । तर, भारतको खेल दुबईमा मात्र हुने भएपछि उनीहरुले खेलका लागि लामो यात्रा गर्न पर्ने छैन ।

शुक्रबार अबुधाबीमा अफगानिस्तानसँग खेल्ने पाकिस्तानले आइतबार भारतसँग खेल्न दुबई आउनुपर्ने हुन्छ । अफगानिस्तानको पनि दुई खेल अबुधाबीमा छ भने एक खेल दुबईमा छ ।

समूह चरणकै एक खेल बाँकी हुँदै एसीसीले तालिका सार्वजनिक गर्नु र भारतलाई मात्रै सहज बनाउनुले शंका गर्ने ठाउँ देखिएका छन् । किनभने यो सिजन एसिया कपको आधिकारिक आयोजक पनि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) नै हो ।

‘यो त अनि नै निराशाजनक छ’ बंगलादेशका कप्तान मश्रफी मोर्ताजा भनेका छन्, ‘मानसिक सन्तुलन नै नभएको व्यक्तिले पनि बुझ्ने कुरा छ । हामीले अन्तिम खेल खेल्नु अघि नै समूह बीमा दोस्रो बनाएर तालिका सार्वजनिक गरिएको छ ।’

पाकिस्तानका कप्तान सर्फराज अहमद पनि छोटो समयमा एक सहरदेखि अर्को सहरमा यात्रा गर्नुपर्ने गरी तालिका बनाउनु राम्रो नभएको बताएका छन् । ‘यस्तो मौसम भएको ठाउँमा खेल खेल्नुअघि लामो यात्रा गर्दा हालत के होला त ? यो भारत या पाकिस्तानको कुरा होइन । अप्ठ्यारो सबैलाई हुन्छ’ उनले भने, ‘एसीसीले के सोचेको हो मलाई थाहा छैन ।’

बीसीसीआईले भारत र पाकिस्तानबीचको बेमेलका कारण युएईमा गरेको प्रतियोगितामा भारतको मात्रै सहजता हेर्नु गलत भएको जानकारहरु बताउँछन् । टाइम्स अफ इन्डियामा आएको एउटा रिपोर्टमा त दुबईमा गर्दा धेरै टिकट बिक्ने हुँदा भारतको सबै खेल दुबईमा राखिएको दाबी पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment