Comments Add Comment

अख्तियार प्रमुखमा नवीन घिमिरे नियुक्त

४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

घिमिरेको संसदीय सुनुवार्इ, नियुक्ति, सपथ र पदभार ग्रहण एकै दिनमा भएको हो । बिहीबार दिउँसो संसदीय सुनुवार्इ विशेष समितिले घिमिरेसँग सुनुवार्इ गरेपछि सर्वसम्मतले अनुमोदन गरेको थियो ।

लगतै राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलार्इ अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरिन् । साँझ शीतल निवासमा एक समारोहमा बीच उनले प्रधानन्यायाधीशसामू सपथ लिए ।

बिहीबार साँझ घिमिरेले पदभार ग्रहण गरेका छन् ।

उनले भ्रष्टाचारी साना र ठूला नहुने भन्दै सबैलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउने बताए । ‘दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौँ खाने पनि भ्रष्टाचारी हो । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आयोग प्रतिबद्ध छ’  पदबहालीपछि उनले भने, ‘भ्रष्टाचार एउटा महारोगका रुपमा विकसित भएको छ । यसलाई नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्नेछु ।’

कानूनको सीमाभित्र रहेर इमान्दारीपूर्वक काम गर्ने र सानाठूला सबै खालका भ्रष्टाचारीलाई आयोगले कठोरतापूर्वक कारवाही गर्ने उनको प्रतिबद्धता छ ।

सामाजिक प्रवृत्तिका रुपमा भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई नियन्त्रणका लागि कानूनी दायरामा रहेर आयोगले काम गर्ने भन्दै उनले सरकारका निकाय, नागरिक समाज, सञ्चारकर्मीबाट पनि आयोगले साथ पाउने विश्वास व्यक्त गरे ।

राज्यका सबै निकायको एकीकृत र समन्वायत्मक प्रयासबाट मात्रै भ्रष्टाचारको पूर्ण नियन्त्रण हुने भन्दै घिमिरेले सहयोगका लागि आग्रह गरे । आफूले कानूनको अधीनमा रहेर भ्रष्टाचार नियन्त्रण, अनुसन्धानको कामलाई अगाडि बढाउने र समाजमा भ्रष्टाचार महारोगका रुपमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न अधिकत्तम प्रयास गर्ने उनको कथन थियो ।

प्रवृत्तिगतरुपमा पनि भ्रष्टाचारका अनेकन रुप देखिएकाले अनुसन्धानका लागि दक्ष जनशक्ति तथा प्रविधिको प्रयोगलाई पनि आफ्नो कार्यकालमा अगाडि बढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment