Comments Add Comment

छापामा आजः सरकारी खर्चमा काठमाडौंका मेयर श्रीमतीसहित अमेरिका

५ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा सत्तारुढ नेकपाले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको तयारी गरेको विषय परेको छ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले राजीनामा नदिएपछि नेकपाले उनीविरुद्ध महाभियोगको तयारी गरेको हो ।

पेट्रोलियम ढुवानीमा चालकले अवरोध गर्दा बजारमा इन्धन अभाव देखापरेको छ । यो विषयलाई पनि आजका दैनिक पत्रिकाहरुले नछुटाइकन ‘कभरेज’ गरेका छन् ।

त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरे नियुक्त भएको, सरकारी खर्चमा काठमाडौंका मेयर श्रीमतीसहित अमेरिका सयरमा निस्केको, १० संसदीय समितिका सभापति निर्विरोध छानिएको, भारतबाट आएर नेपालमा हत्या गरिएको, नेकपाका नेता कामविहीन बनेकोलगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

न्यायाधीश जोशीविरुद्ध महाभियोगको तयारी गरिएकोबारे मुख्य समाचार लेखेको नयाँ पत्रिकाले निर्मलाको पोस्ट मार्टम रिपोर्ट बाहिरिएकोलाई पनि प्राथमिकताका साथ छापेको छ । समाचार अनुसार पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि नै उनको हत्या गरिएको उल्लेख छ । सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा घाँटी अठ्याएर भन्ने उल्लेख छ ।

नयाँ पत्रिकामै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य श्रीमतीसहित सरकारी खर्चमा अमेरिका सयरमा निस्केको अर्को खबर पनि छ ।

सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरिरहेको बताइरहँदा मेयर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका हुन् । महानगरको काम नगरेको भन्दै आलोचना खेप्दै आइरहेका शाक्य सडकभर फोहोरको डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेपछि अालाेचना शुरू भएकाे छ ।  उनको भ्रमण टोलीमा ९ सदस्य छन् । भ्रमणतालिका १० दिने छ ।

नयाँ पत्रिका लेख्छ– सरकारी पदमा रहेका व्यक्तिको अनावश्यक विदेश भ्रमण रोक्न कडाइ गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान स्वीकृत दिएको छ ।

महानगरपालिकाले भने अमेरिकाको सहर हेर्न मेयर शाक्य त्यसतर्फ गएको दाबी गरेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले भदौ १ बाट लागू मुलुकी अपराध (संहिता) ऐन २०७४ लाई बहाना बनाएर ट्यांकर चालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको जनाएको छ । बुधबार इन्धन ढुवानी नभएपछि बिहीबार राजधानीका खुलै रहेका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोल भर्ने सवारी साधनको लाइन लागेको नागरिकको समाचारमा उल्लेख छ ।

नागरिकमै प्राविधिक जनशक्ति अभाव भएको अर्को खबर पनि छ । समाचार अनुसार सरकारले जनशक्ति नपाउँदा निजामती सेवाका कतिपय दरबन्दी वर्षौंदेखि रिक्त छन् । लोकसेवा आयोगले आवेदन खुलाएका कतिपय पदमा दरखास्त परेका छैनन् भने दरखास्त फाराम भरेर पनि परीक्षा दिन नजाने अवस्था देखिएको छ ।

लोकसेवा आयोगका अनुसार तयार हुँदै गरेको प्रतिवेदनमा ६४ वटा विज्ञापनमा कसैको पनि आवेदन परेको छैन । आवेदन दिएका २० वटा विज्ञापनमा कोही पनि परीक्षामा सहभागी भएनन् भने दुई सय १६ पदमा कोही पनि उत्तीर्ण भएनन् ।

अन्नपूर्णले ‘जोशीविरुद्ध महाअभियोग तयारी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । सत्तारुढ दलले महाभियोगको तयारी गरे पनि जोशी भने राजीनामा नदिने मुडमा रहेको समाचारमा उल्लेख छ । समाचार अनुसार उनले आफू निर्दोष भएकाले महाभियोग लागे पनि डटेर सामना गर्ने निकटस्थहरुसँग बताउने गरेका छन् ।

ढुवानी चालकको आन्दोलनका कारण उपभोक्ता दशैंको मुखमा सास्ती बेहोर्न बाध्य भएकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ । समाचार अनुसार सार्वजनिक यातायात तथा ढुवानी चालकको आन्दोलनका कारण खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको चर्को अभाव देखापरेको छ ।

कीर्ते भएको कम्पनी बिक्रीको कहानी छापेको कान्तिपुरले सुनसरीको हरिनगरा गाउँपालिका २, भुटाहास्थित रोहियान नेशनल पब्लिक स्कुल व्यवस्थापन समिति अध्यक्ष खुर्सिद अन्सारीको भारतबाट आएर गोली हानी हत्या भएकाे लेखेको छ । साथै चालक आन्दोलनले सास्ती भएको अर्को खबर पनि कान्तिपुरमा छ ।

गोरखापत्रले सरकारी भाषा तय गर्न ६ आधार प्रस्ताव गरिएकोलाई एंकर बनाएको छ भने राजधानीले संसदीय सुनुवाइ समितिमा महिला वर्चश्व भएको लेखेको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका पहिलाे पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment