Comments Add Comment

फोटो कथाः साम्राज्ञी र रेनशामा देखिएको शितयुद्ध, एक अर्कासँग तर्किए निर्देशक र नायिका

दृश्य नम्बर १
बिहिबार बेलुकी साढे ४ बजे नै काठमाण्डौको बीग मुभिजमा पुगेका पत्रकारहरुलाई चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’का कलाकारको प्रतिक्षा थियो । निकै आकर्षक तरिकाले डिजाइन गरिएको रेड कार्पेटमा कलाकारको तस्बिर र भिडियो खिच्न पत्रकारहरु प्रतिक्षामा थिए । ६ बज्न त्यस्तै ५ मिनेट बाँकी रहँदा कालो रंगको कारबाट चलचित्रकी निर्देशक रेनशा वान्तवा राई, दुई नायक धिरज मगर र सारुक ताम्राकार ओर्लिए ।

उनीहरु रेड कार्पेटबाट हिड्दै सिटी सेन्टर प्रवेश गर्ने मुख्यद्धारमा राखिएको रिवनसम्म पुगे । सबैले एकसाथ रिवन काटे र सरासर अगाडि बढे । चलचित्रको टिम नै एकसाथ आइपुग्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह देखिइनन् । पत्रकारहरु साम्राज्ञी नआउने हुन् र भन्दै कानेखुशी गर्न थाले ।

दृश्य नम्बर २
आकर्षक तरिकाले सजाइएको स्टेजमा कलाकारहरुको गफगाफ सुरु भयो । रेनशा, धिरज, सारुकले चलचित्रमा काम गर्दाको अनुभव सुनाउन थाले । उनीहरुमा देखिएको बोन्डिङ गज्जबको थियो । तर, साम्राज्ञी नहुँदा कार्यक्रम खल्लो भैरहेको थियो ।

धिरज, रेनशा र सारुक आएको आधा घन्टा भैसक्दा पनि साम्राज्ञी आउने वा नआउने अत्तोपत्तो थिएन । कार्यक्रम संचालिकाले भने साम्राज्ञी आउने जानकारी दिइरहेकी थिइन् । निर्देशक वान्तवाले सबैजना बोलिसकेपछि कार्यक्रम क्लोज गर्न निर्देशन दिइन् । त्यतिबेलासम्म पनि साम्राज्ञी आइपुगेकी थिइनन् ।

दृश्य नम्बर ३
एकाएक रेड कार्पेटमा कालो पहिरनमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मुस्कुराउँदै आइपुगिन् । उनीतर्फ नै क्यामेरा सोझियो । साम्राज्ञी आफ्नी आमासँग आइपुगेकी थिइन् । साम्राज्ञी आइसकेपछि धिरज, रेनशा र सारुक उनीसँग तस्बिर खिच्न त आइपुगे । तर, रेनशाले साम्राज्ञीलाई ‘हाइ’ गर्नुबाहेक अरु औपचारिकता निभाउन चाहिनन् । उनीहरुले अंकमाल पनि गरेनन् ।

दृश्य नम्बर ४
चलचित्र प्रदर्शन अगाडि फेरि सानो कार्यक्रमको आयोजना भयो । चलचित्रका मुख्य कलाकारदेखि निर्माण टिमलाई अगाडि बोलाइयो । बोल्ने क्रममा रेनशा वान्तवा राइको बोली भक्कानियो । उनले ‘नमस्ते’ भनेपछि बोल्नै सकिनन् । दर्शकदिर्घाबाट पछाडि फर्किएर उनी रुन थालिन् । उनी सम्हालिन नसकेपछि चलचित्रका मुख्य नायकद्धय धिरज मगर र सारुक ताम्राकारले उनलाई संझाउन थाले । तर, सँगै उभिएकी साम्राज्ञीले रेनशासम्म पुगेर उनलाई संझाउन आवश्यक ठानिन् ।

रेनशा र साम्राज्ञीको शितयुद्ध स्पष्ट यहाँ पनि देखियो । रेनशाले आफूलाई सम्हालेर बोल्ने क्रममा धिरज, सारुक, निर्माता प्रज्ज्वल शमशेर जबरा, बुबा भन्दै प्रभु शमशेर जबराको नाम लिइन् । तर, साम्राज्ञीको नाम लिइनन् । मात्र भनिन् ‘मेरो मिन्टु’ । जबकी, उनले धिरजलाई नामै लिएर बोलाएकी थिइन्, ‘मेरो इन्टु’ भनेकी थिइनन् ।

आखिर साम्राज्ञी र रेनशाविचको क्लोज बोन्डिङ एकाएक यस्तो दुइतिर मुख लगाउनुपर्ने अवस्थामा किन आयो ? उनीहरुविचको शितयुद्धको सुरुवात एक साता अगाडि देखिएको हो ।

आइतबार नेपालमा ‘सिनेमा सर्कल अवार्ड’ र जापानमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ आयोजना भएको थियो । दिनेश डीसीले आयोजना गरेको ‘सिनेमा सर्कल अवार्ड’मा पपुलर नायिकाको विधामा साम्राज्ञीको पनि नाम थियो, तर अवार्ड पि्रयंका कार्कीले पाइन् ।

साम्राज्ञीलाई पपुलर अवार्ड दिने र उनले नायक धिरज मगरसँग प्रस्तुति दिने तयारी रेनशा र दिनेशले गरेको वुझिएको छ । तर, साम्राज्ञी एकाएक यो कार्यक्रम छाडेर जापान पुगेपछि रेनशा र साम्राज्ञीविच लफडा सुरु भएको हो । अवार्ड समारोहमा तयारी नपुगेको भन्दै रेनशा र धिरजले छोटो प्रस्तुति मात्र दिएका थिए ।

जापानमा रहने क्रममा साम्राज्ञीले आफू निकट चलचित्रकर्मीहरुसँग रेनशाले नायक धिरज मगरलाई मात्र प्रमोशन गरेको, उनलाई मात्र महत्व दिएको गुनासो गरेकी थिइन् । यहीकारणले, नेपालमा पपुलर नायिकाको अवार्ड थाप्न छाडेर उनी जापान पुगेकी थिइन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment