Comments Add Comment

आयात रोके लगत्तै चिनीमा मूल्यवृद्धि, अझै बढ्न सक्ने

५ असोज, काठमाडौं । स्वदेशी उद्योगलाई संरक्षण गर्ने उद्देश्यले सरकारले चिनीको आयातमा सीमा तोकेको एक हप्ता नबित्दै व्यापारीले मूल्य बढाएका छन् । यसअघि ६५ देखि ६८ रुपैयाँ प्रतिकिलो रहेको चिनी प्रतिकिलो ७५ देखि ८० रुपैयाँमा बेच्न थालिएको छ ।

यसअघि स्वेदेशी चिनीको मूल्य ७५ रुपैयाँसम्म थियो भने बजारमा आयातित चिनी ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । तर आयात रोकिएसँगै व्यापारीले चिनीको मूल्य ८० रुपैयाँसम्म पुर्‍याएका हुन् ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्रचार्यले चिनीको मूल्य बढेको बताए । उनले आयातित चिनी र स्वदेशी चिनीको मूल्य फरक रहेकोमा सरकारले कोटा तोकेपछि एकनास भएको जानकारी दिए ।

‘साल्ट ट्रेडिङले यसअघि नै ७५ रुपैयाँसम्म चिनी बेच्थ्यो, तर आयातित चिनी बजारमा सस्तो थियो,’ उनले भने, ‘अब होलसेलमै चिनी महगिंएको छ, खुद्रा बजारमा सस्तो हुने कुरै भएन ।’

गत आइतबारको मन्त्रिपरिषद बैठकले १ लाख मेटि्रक टन आयात गर्दा आन्तरिक माग धान्न सकिने अवस्था रहेको ठहर गर्दै चिनीको आयातमा सीमा तोकेको थियो । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चिनीको मूल्यबृद्धिबारे जानकारी आएको बताए ।

‘उद्योग र खुद्राको मूल्यमा कति फरक छ भनेर बुझ्दैछौं’, उनले भने, ‘अस्वभाविक रुपमा बढाएको भए कारवाही गर्छौ ।’

भारतमा चिनी प्रतिकिलो ३३ रुपैयाँ छ । आयातमा प्रतिबन्ध लगायए पनि खुला सीमाका कारण तस्करी हुने खतरा छ । पहिल्यै आयात गरिसकेका व्यापारीले चाडबाडको मुखमा अभावर कालोबजा सिर्जना गरेर गर्न सक्ने चिन्ता उपभोक्ताकर्मीहरुले व्यक्त गरेका छन् ।

उपभोक्ताकर्मी माधव तिमल्सिनाले भने, ‘चिनी खपत हुने मुख्य समयमै आयातमा प्रतिबन्ध लगाउँदा कालोबजारी मौलाउँछ ।’

नेपालमा वर्षमा २ लाख ८० मेटि्रक टन चिनीको माग हुन्छ । तर नेपाली चिनी उद्योगले वर्षमा मुस्किलले १ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन गर्छन् ।

सरकारले तोकेको सिलिङले बजारमा ६० हजार मेटि्रक टन चिनीको अभाव हुने देखिएको छ । घटस्थापनाको २० दिनअघि सुरु भएको चिनीको मूल्यबृद्धि दशैंसम्म अनपेक्षित रुपमा बढ्ने संकेत देखिएको खुद्रा व्यापारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment