Comments Add Comment

साहित्य-सन्दर्भ र कालचेती प्रश्न

कला यथार्थको प्रतिच्छायाँ देखाउने ऐना होइन, यो त यथार्थलाई आकार दिने टुकटुके होः ब्रतोल्त ब्रेख्त

साहित्य समाजको प्रतिबिम्ब मात्रै होइन, यो नयाँ समाज र सभ्यता निर्माणको समानान्तर दुनियाँ हो । यसले यथार्थको छायाँरूप मात्रै देखाउँदैन, संस्कृतिको अभिन्न अङ्गका रूपमा इतिहासको ज्यानलाई मुहार दिन्छ, व्यवस्थाको लम्बाइलाई गति दिन्छ । साहित्य आफैमा इतिहास त होइन, तर इतिहासको सच्चाइ नढाँटी बोल्ने कलात्मक दस्तावेज साहित्य नै हो । ब्रेख्तको भाकामा भन्दा हर समयको शक्तिशाली साहित्यले इतिहासलाई अभिलेखीकरण मात्रै गर्दैन, आफ्नो समयको अर्थ–राजनीतिलाई आकार दिने सामथ्र्य पनि राख्छ ।

साहित्यमा समय–चेतनासम्बन्धी विमर्शको अन्तर्य पनि यही हो– हामी कुन समय र परिस्थितिका बीचमा छौँ, त्यसको सही बोध हुनु लेखकका लागि अनिवार्य छ । अनि हामीले इतिहासलाई कुन शैलीमा कुँद्न र कुन आकारमा ढाल्न चाहन्छौँ भन्ने दार्शनिक प्रस्थापनाको रूपरेखा पनि हामीसँग हुनैपर्छ । हामीसँग अर्थात् लेखक, साहित्यकार, कलाकार, पत्रकार र बौद्धिक जगत्सँग । इतिहासबोध, वर्तमानचेत र भविष्यस्वप्न लेखक–कलाकार र बौद्धिक जगत्का लागि अपरिहार्य पूर्वशर्त हुन् । विगतप्रति अरुचि देखाउने व्यक्ति जसरी कुशल इतिहासकार बन्न सक्दैन, वर्तमानको सङ्कट वा सामाजिक द्वन्द्वमा चासो नराख्ने (अनुपस्थित) लेखक त्यसरी नै निम्छरो सावित हुन्छ ।

साहित्यमा युगबोध अर्थात् समय–चेतना बहसको लामो विरासत छ । संसारभरि र नेपालमा पनि साहित्य रचनालाई युगबोधको कसीमा राखेर मूल्याङ्कन गर्ने प्रचलन छ । यस पत्रमार्फत् भने समकालीन नेपाली साहित्यको प्रवृत्तिगत सन्दर्भमा आजका केही ज्वलन्त प्रश्नहरूबारे छलफल–प्रस्ताव गर्न खोजिएको छ । यसले आजका पुस्तक, लेखक र तिनको समीक्षा चाहिँ गर्दैन ।

आजका केही ज्वलन्त प्रश्न

साहित्य वा लेखनका सन्दर्भमा आजका बौद्धिक–संस्कृतिकर्मीहरूका सामू खास समय उपस्थिति छ । खास समयले खास–खास प्रश्नहरू छिचोल्ने कार्यभार सुम्पन्छ । यो समयलाई मूर्त–अमूर्त भाषामा कतिले एक्काइसौं शताब्दी भनेका छन्, कतिले पुँजीवादी युग भनेका छन्, कतिले अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था भनेका छन्, कतिले विज्ञान–प्रविधिको जमाना भनेका छन् । केहीले यसलाई लेनिनले सय वर्षअघि संश्लेषण गरेकै शब्दमा ‘साम्राज्यवादको चरम चरण तथा सर्वहारा क्रान्तिको युग’ पनि भनेका छन् । एउटै समय र उस्तै परिस्थितिलाई फरक समूह र फरक व्यक्तिले फरक परिभाषामा अथ्र्याएका छन् । त्यस्तो नै किन भनिइन्छ भन्नेतिर सचेत लेखक वा बौद्धिकले आफ्नो टाउको घुसाउनु पर्छ नै ।

विश्वको राजनीतिक मानचित्रमा नेपाल त्यस्तो विशिष्ट स्थानमा छ, मानौं ऊ फारुतिनो बाटाखर्च बोकेर दुई सँगातीसँग कहिले अँगालो मार्दै र कहिले दुई कुहिना ठोक्दै अगलबगल हिंडिरहेको सहयात्री हो । उसका सँगाती भने (भारत र चीन) धन र ज्यान दुवैले बलिया छन् । यो यथार्थ ऊ बेलाबेला बिर्सिदिन्छ र शिर उठाउँछ, हरबखत त्यही सम्झाइन्छ÷सम्झन्छ र गति अवरुद्धता खेप्छ । नेपाल आज त्यो ऐतिहासिक चरणमा छ, जसले लोकतान्त्रिक क्रान्तिका तीन–चारवटा अधकल्चा घुम्ती छिचोलिसक्यो । संविधानतः ‘क्रान्ति सम्पन्न’ भइसक्यो तर व्यवाहरतः लोकतान्त्रिक क्रान्ति अझै अधुरो छ तर समाजवादी क्रान्तिको सपना देख्ने राजनीतिक भूमि फैलिएको छ ।

साहित्य लेखनका सन्दर्भमा विश्वव्यापी प्रवृत्तिहरूको प्रभाव र प्रवेशपछि मात्रै नेपाली साहित्यले आधुनिक युग देखेको हो । (नत्र कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्र लेखिरहेका बेला समकालीन भानुभक्त बधुशिक्षा वा रामायण लेखेर बस्ने थिएनन् ।) रुसमा समाजवादी क्रान्ति भइसकेपछि संसारभरि फैलिएको माक्र्सवादी विचारधारा नेपालसम्म आउनुअघि यहाँ लेखनाथ पौड्यालका उपदेश कविता र मोतीराम भट्टका शृङ्गारिक गजल नै साहित्यको मूलधारमा थिए । रुसी क्रान्तिको पनि २०–३० वर्षपछि नेपाली राजनीति र साहित्यमा माक्र्सवादी विचारले प्रवेश पाएको हो । र, साहित्यमा आधुनिक प्रवृत्तिहरूको प्रवर्तन पनि त्यससँगसँगै भयो ।

सन् १९५० को दशकयता राजनीतिक आन्दोलनका अनेक उतारचढावसँगै नेपाली कलासाहित्य जगतले पनि आफ्ना घुम्तीहरू मोड्यो, अनुभवहरू सँगाल्यो । प्रगतिशील धाराकै मसिहाहरू दरबार पसे, सत्ताले अनेक परियोजना बनाएर साहित्य–संस्कृतिलाई सत्ताङ्गी बनायो । विद्यालय, विश्वविद्यालय, पाठ्यपुस्तक, रेडियो, गोरखापत्र आदि प्रयोग गरेर एक भाषा, एक भेष, एक संस्कृति, एक धर्मलाई साहित्यका माध्यमबाट समाजमा स्थापित गर्‍याे । यसको समानान्तरमा जुधारु लेखकहरू विचारमा प्रतिबद्ध, आन्दोलनमा सङ्गठित भएर लडि पनि रहे । कतिले जीवन त्यसैमा बिताए, कतिले ज्यान त्यसैमा गुमाए । कति अस्तित्ववादी शून्यवादी धाराबाट फर्केर माक्र्सवादी भए । कति आफ्नो सुविधाको जिन्दगी र सफलताका प्रमाणपत्र त्यागेर समाज बदल्ने अभियानमा सहभागी भए । त्यसको सात दशकको लामो यात्रा तय गरेर अहिले हामी गणतान्त्रिक प्रणालीमा छौं, लोकतन्त्र छ, संविधानतः ‘समाजवादोन्मुख व्यवस्था’ छ । कम्युनिस्ट राजनीतिक शक्तिहरूले माथि चर्चा गरेझैं अनेक शब्दावलीमा आजको समयको नामाकरण गरेकै छन् ।

त्यही अनेक भनिएको एक युगमा हामी छौं, त्यस्तो युग जहाँ कम्युनिस्ट राष्ट्रपति देवधाम धाउँछिन्, त्यहीं पानी छोइएकोमा दलित कुटिन्छ, मारिन्छ । त्यस्तो युगमा हामी छौँ, जहाँ सामन्तले सम्मान दिने कवि र कम्युनिस्टले गुरु थाप्ने पण्डित एउटै छन् । सामन्त (राणा र पञ्चायत) ले दिएका उपाधि, पदवी र सम्मानलाई कम्युनिस्ट सरकारले पनि लालमोहर लगाउँछ । जहाँ बजारले प्रोनोग्राफी बेच्छ, शासकले बधुशिक्षा बाँड्छ । जहाँ गणतान्त्रिक सरकारको प्राज्ञिक संस्थामा कम्युनिस्ट पार्टीकै प्रतिनिधिहरू निर्णायक भूमिकामा पठाइन्छन् र उनीहरूकै अगुवाइमा राजाको जन्मजयन्तीमा रथयात्रा निकालिन्छ । हामी त्यस्तो समयमा छौं, जहाँ राजनीतिक नेतृत्व जनतासँग ‘हामी कम्युनिस्ट हौं’ भनेर मत माग्छ र पत्रकारसँग ‘हामी कम्युनिस्ट होइनौं’ भनेर अन्तर्वार्ता दिन्छ । अनि यतिखेर शासकहरू कविताको प्रदेशमा यसरी प्रवेश गरिरहेका छन्, मानौं फूलबारीमा कोही मूर्ख बन्चरो र आरा लिएर पसिरहेको छ ।

प्लेखानोभले भनेजस्तै ‘जिउँदो मान्छे नै जिउँदा प्रश्नहरूमाथि सोच्छ’ । र, यो बेलाका जिउँदा बौद्धिक लेखक–संस्कृतिकर्मीले आफ्ना सामुन्नेका यी प्रश्नसँग आँखा जुधाएर संवाद गर्न आवश्यक छ । छलफलका लागि म यहाँ त्यस्ता केही प्रश्नहरूतिर ध्यानाकर्षण गर्न चाहन्छु ।

१. के बहुसङ्ख्यक लेखक सत्ताङ्गी छन् ?

विश्वव्यवस्था अर्थात् विश्व पुँजीवादका मूलभूत मूल्यभित्रै नेपाल चलिरहेको छ । तेस्रो विश्वमा पुँजीको बेरोकतोक फैलावट तर श्रम र स्रोत–साधनको दोहन एक्काइसौँ शताब्दीको साम्राज्यवादको पनि मूल चरित्र हो । र, सँगसँगै संसारभरि अनुदारवादी र दक्षिणपन्थी शासकहरू झन् बलिया हुँदै गएको परिदृश्य छ । नेपालमा समेत राज्यको असहिष्णुता, दलहरूभित्रको अलोकतान्त्रिक अभ्यास, राजनीतिक नेतृत्वमा हावी निरङ्कुशता, चरम विचारधारात्मक विचलन, विश्वपरिस्थितिकै अनुकूलतामा छ । नवउदारवादी अर्थ–राजनीतिक प्रणालीले एकातिर साम्राज्यवादी शक्तिलाई मैदान दिएको छ, अर्कोतिर जनताको तहसम्म धनी–गरिबको खाडल बढाउने, बेरोजगारको सङ्ख्या बढाउने र श्रमिक आप्रवासन वृद्धि गर्ने काम गरिरहेको छ । यस परिस्थितिलाई नेपाली साहित्यमा न लेखनले गम्भीरतापूर्वक अभिव्यक्ति दिएको छ, न कुनै अभियान वा सांस्कृतिक आन्दोलनले नै ।

साहित्यको राजनीति हुन्छ र साहित्यले पनि राजनीति गर्छ भन्ने सत्यलाई दार्शनिक र विचारधारात्मक तहमा बुझ्न नसक्नु आजको समयलाई नबुझ्नु हो । नेपाली साहित्य क्षेत्रमा बहस गर्नेहरूले पार्टीनीति वा पार्टीसम्बद्धतालाई राजनीतिका रूपमा अथ्र्याएका बेलाबेला सुन्न पाइन्छ । पार्टीनीतिभन्दा राजनीति धेरै व्यापक र धेरै गम्भीर विषय हो । पार्टीनीतिलाई नै राजनीति बुझ्नेहरू राजनीति नगर्ने नाममा चालू व्यवस्थाका आङ्गिक लेखक हुन पुग्छन् । त्यस्ता सत्ता अहिले मूलतः दुईथरी छन् (समग्रमा एउटै हो) । एउटा नेपालभित्रैको राज्यसत्ता, जो नेपालका राजनीतिक दलहरूले चलाउँछन् । अर्को छ– बजारसत्ता (विश्व पुँजीवाद र साम्राज्यवादको अङ्ग) । नेपाली समकालीन लेखकहरूमध्ये प्रतिभावानहरूको ठूलो सङ्ख्या बजारसत्ताको अङ्ग हुन अभिशप्त देखिन्छ, केही सोही सत्ताको अङ्ग हुन तँछाडमछाड गरिरहेका छन् । सानो सङ्ख्या मात्रै राज्यसत्तामा भाग पाउन दौडधूप गर्छ । रमाइलो प्रसङ्ग त के छ भने एउटा सत्ताको प्रिय बन्ने मुसे कुदाइमा संलग्न लेखक अर्को सत्ताको भाउ खोज्दै गरेको लेखकलाई आलोचना गरिरहेको हुन्छ । सानो सङ्ख्यामा पार्टीसत्तामै परिलुप्त हुने लेखक पनि छन्, जसको सिर्जनात्मक शक्तिले पाठकार्जन गर्नै सकेको छैन । सम्पूर्ण वा समग्र पुँजीवादी सत्तासँग प्रतिरोध गर्न तयार लेखकहरू चाहिँ कति छन् ? के बहुसङ्ख्यक लेखक यो वा त्यो सत्ताको अङ्ग भएको बेला हो यो ?

२. के आज लेखकीय प्रतिबद्धता सबैभन्दा कमजोर छ ?

प्रतिबद्धताको प्रश्नमा प्रष्ट नहुने बहुसङ्ख्यक लेखक यथासत्ताकै घेराभित्र रमाइरहेका छन् । उनीहरूको लेखनमा कि त कुनै शक्ति नै पैदा हुँदैन, कि त्यसले यथासत्तालाई प्रत्यक्ष–अप्रत्यक्ष सघाउ पुर्‍याइरहेको हुन्छ । प्रतिबद्धता प्रश्न कुनै खास राजनीतिक पार्टी वा सङ्गठनमा हुनु र नहुनुसँग होइन, बरु विचारप्रति प्रष्ट हुनु र नहुनुसँग छ । लेखनको उद्देश्यप्रति सङ्कल्पित हुनु वा नहुनुले लेखकको प्रतिबद्धता प्रस्ट्याउँछ । दर्शन, विचारधारा र सिद्धान्तमा प्रष्ट नहुँदा लेखन पनि त्यत्तिकै अस्पष्ट हुन्छ । अहिले धेरै लेखकहरू त्यस्तै अस्पष्टतासहित एजेन्डा उठाइरहेका छन् । कतिको त लेखनको अन्तर्निहित उद्देश्य नै आफूलाई चिनाउनु, बिकाउनु र टिकाउनु रहेको देखिन्छ । बिक्री हुन्छ भनेपछि लेखकहरू युद्धका सामलतामल पनि बोकेर हिंडेका देखिन्छन्, उत्पीडितका कहानीलाई पनि किताबभित्र ल्याएर पछार्छन् । तर तत्–तत् मुद्दाप्रति उनीहरूले ठीक व्यवहार गर्न सक्दैनन् । अहिले धेरै लेखकको अवस्था त्यस्तै देखिएको छ ।

प्रतिबद्धताले सत्ताइतर सङ्घर्ष र प्रतिरोधका लागि तयार हुन आह्वान गर्छ । प्राधिकारहरूसँग वैचारिक प्रतिवाद गर्ने शक्तिलाई प्रतिबद्धता भन्न सकिन्छ । सरकारका निर्णय वा समाजका घटनामाथि प्रतिक्रिया दिने वा एकसरो विरोध गर्न सजिलो मान्ने लेखक त छन् । तर सरकारमाथि पनि शासन गरिरहेका डब्ल्युटीओ, आईएमएफ, युएन, वल्र्ड बैङ्क र ठूल्ठूला कर्पोरेट कम्पनीका गलत नीति र तिनका नीतिले निम्त्याएको मानवीय सङ्कटबारे साहित्य लेखन त झण्डै शून्य छ, टिप्पणी र सामयिक निबन्ध समेत निकै कम लेखिएका छन् ।

प्रतिबद्धताले त्यागको माग गर्छ । दुःख झेल्न तयार नहुने र अवसर मात्रैको खोजीमा हुने लेखक प्रतिबद्ध हुन सम्भव छैन । बजारमा अलोकप्रिय हुन तयार यतिखेर कोही छैन । कथित असफलताको बाटो तय गर्न कोही अघि सर्दैन । सफल हुन चाहिने बनिबनाऊ मापदण्डअनुसार बहुसङ्ख्यक लेखक आफूलाई ‘फिट’ गर्न अभ्यासरत छन् । के प्रतिबद्धता सबैभन्दा कमजोर भएको र लोकप्रियतावाद हावी भएको बेला हो यो ?

३. वर्गसङ्घर्ष र वर्गातिरिक्त (भहतचब अबिकक) प्रतिरोधको सम्बन्धमा किन भ्रम छ ?

नेपाली कम्युनिस्ट आन्दोलनमा झैं नेपाली साहित्यका क्षेत्रमा पनि वर्ग र वर्गातिरिक्त सम्बन्ध बुझ्ने सम्बन्धमा भ्रम यथावत् छ । सबै सामाजिक सम्बन्ध र सबै उत्पीडनका आयामलाई वर्गको शास्त्रीय सुत्रभित्रैबाट समाधान खोज्नु एकप्रकारको कर्मकाण्डीय तरिका हो । नेपाली समाजमा १) आधारभूत रूपमा वर्गकै स्थानमा रहेको दलित प्रश्न, २) वर्ग सरह महत्वको रहेको महिला मुक्तिको प्रश्न, ३) भाषिक–सांस्कृतिक तथा राष्ट्रियताको स्थानमा रहेको जनजातिको प्रश्न र ४) सभ्यताभिन्न र क्षेत्रीय उत्पीडनमा रहेको मधेसको प्रश्न विशिष्ट छन् । ती प्रश्नले मुक्तिका भिन्दाभिन्दै उत्तर खोज्छन् । गरिब, किसान, श्रमिक (वा माक्र्सका शब्दमा सर्वहारा)को आन्दोलन अर्थात् कम्युनिस्ट आन्दोलनले उत्पीडनका यी विशिष्ट समस्या÷प्रश्नलाई सही ढङ्गले आत्मसात् गर्न नसक्दा नेपाली लोकतन्त्र उकल्चिएको घाउजस्तो भएको छ ।

श्रमिक वर्गको आन्दोलन वा क्रान्ति सम्झौतामा गएसँगै वर्गातिरिक्त उत्पीडनविरोधी आन्दोलन झण्डै निस्तेज भयो । नवउदारवादी संसदीय लोकतन्त्रकै निरन्तरतामा नेपालको कम्युनिस्ट आन्दोलन (मूलतः माओवादी विद्रोह)ले जब सम्पूर्णतः आफूलाई समर्पित गर्‍याे, त्यससँगसँगै वर्गातिरिक्त उत्पीडनविरोधी आन्दोलन (जसलाई नेपालमा पहिचानको आन्दोलन भनियो) पनि थला परेको देखियो । जनजाति, मधेस, दलित, महिलाको स्वर पनि मत्थर हुँदैहुँदै गयो । साहित्यमा पनि यसको टड्कारो प्रभाव देखियो । ०६० को दशकमा उत्पीडित समुदायलाई केन्द्रमा राखेर लेख्ने प्रवृत्ति बलियो थियो । सबै विधामा दलित, महिला, जनजाति, मधेस, कर्णालीजस्ता विषय उठे । त्यसको महत्तम अन्तर्कहानी र आधार माओवादी युद्धसँग जोडिन्छ (त्यसको चर्चा यस छलफलको मूल विषय होइन) । वर्गीय आन्दोलनमा आएको विचलनसँगै साहित्यमा पहिचानको स्वर प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । कवितालाई साक्ष्य लिने हो भने यतिखेर साम्राज्यवादी राजनीति, उपभोक्तावादी संस्कृति र वर्गीय विभेदविरुद्ध लेखिएका रचना सबैभन्दा पाठकप्रिय भएका छन् । यसको पृष्ठकारण पुँजीवादी–नवउदारवादी व्यवस्थाबाट मान्छे सबैभन्दा बढी प्रताडित हुनु पनि हो ।

सम्पूर्ण सत्ता र संरचना नफेरिई वर्गातिरिक्त प्रतिरोध पूर्णतः सफल हुँदैन । यतिखेर सत्ता–संरचनाबारे नबोल्ने वा त्यसबाट निकास नखोज्ने तर भिन्नभिन्न पहिचानको मुक्ति खोज्ने अधुरो प्रवृत्ति फेरि मुखर हुँदैछ । यस्तो प्रवृत्ति नतिजाबारे बोल्छ, कारणतिर प्रवेश गर्दैन । जस्तोः यौन चेतना, यौन सम्बन्धको सामाजिक मूल्य र पितृसत्तात्मक राज्य (समाज) प्रणालीबारे कुरै नगर्नु तर बलात्कारीविरुद्ध मात्रै बोल्नु झिङ्गाको मात्रै विरोध गर्नु तर फोहोरको डङ्गुरबारे मौन धारण गर्नुजस्तै हो । वर्ग चेतना र वर्गातिरिक्त प्रतिरोधी चेतनाबीचको अन्तर्सम्बन्धमा भ्रमपूर्ण बुझाइ किन छ ?

जरुरी महत्वका थप प्रश्न

क. विकास र समृद्धिका नाममा विश्व पुँजीवाद प्रकृति विनाश, पर्यावरण विनाश, पृथ्वीको सम्पूर्ण स्रोत दोहनमा छ, हामी पर्यावरण आन्दोलन वा पृथ्वी–संरक्षणलाई आफ्नो मुद्दा किन बनाउन सकिरहेका छैनौं ?

ख. कम्युनिस्ट आन्दोलनमा चरम विचारहीनता र व्यक्तिवादको दबदबा छ । सबै दलहरू निजी कम्पनीझैं चलिरहेका छन् र राज्य अटेरी भइरहेको छ । यस्तो बेला लोकतन्त्रबारे पुनर्बहस हामी किन उठाउँदैनौं ?

ग. नेपाली समाजको गतिको नाभी भूराजनीतिक सम्बन्धसँग जोडिएको छ । चीन र भारतसँगको सम्बन्धले जनजीवनसम्मै परेका वा पर्ने प्रभावबारे हाम्रो साहित्य खोई ? हाम्रो छलफल खोई ?

घ. नवउदारवाद वा बजारवाद, निजीकरण, पुँजीवादी भूमण्डलीकरण र त्यसैले निम्त्याएको श्रमिक आप्रवासन देशको सबैभन्दा ठूलो सङ्कटका रूपमा छ । हामी यसलाई छलफलको प्राथमिक बुँदामा किन राख्दैनौँ ?

एक आत्मप्रश्नः एक प्रस्ताव

माइकल ए. लेबोइत्जले आफ्नो पुस्तक ‘बिल्ड इट नाउः सोसियलिजम फर द ट्वान्टी फस्र्ट सेन्चुरी’मा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको नारा उद्धृत गरेका छन्ः समाजवाद भविष्य हो, बनाऊ आजै (Socialism is the future, built it now.) हामी आजको पुँजीवादी–साम्राज्यवादी रीतिथितिको विकल्प चाहन्छौँ, हामी कलासाहित्यका क्षेत्रमा नयाँ युग देख्न चाहन्छौं भने आमन्त्रण, आह्वान र सङ्कल्पले मात्रै पुग्दैन । त्यो भोलिको त हो तर बनाउन आजै थाल्नु पर्छ । कम्तीमा डिजाइन त बनाउनैपर्छ ।

संविधान यसै समाजवादोन्मुख छ अनि अनेकानेक सुखद् व्याख्या गर्न मिल्ने सुविधा पनि दिएकै छ । तर, हामी त्यस्तो देशकालमा बाँचिरहेका छौँ, जहाँ नानीहरूको जीउमाथि बाउ र हजुरबाउहरूले जबर्जस्ती गरिरहेका छन् । दिदीबहिनीहरूको जिन्दगीमाथि छिमेकी र आफन्तहरूले अपमान, दुव्र्यवहार र पाशविक आक्रमण दोहोर्‍याइरहेका छन् । फिरौतीको दुःस्वप्न देखेर चिनेजानेका मान्छेले नै स्कुले केटाकेटीको ज्यान लिइरहेका छन् । हामी त्यस्तो देशकालमा बाँचिरहेका छौं, जहाँ पानी भर्न जाने एउटा मान्छेलाई अर्को मान्छेले कतै कुटपिट गरिरहेको छ, कतै ज्यानै लिएको छ । लाखौं बच्चाबच्ची स्कुलको पर्खालभन्दा बाहिर छन् । हामी यस्तो देशकालमा बाँचिरहेका छौँ, जहाँ सरकारले समृद्धिको शङ्ख–घण्ट फुकेर सत्यनारायण पूजा लगाइरहेको छ, अनि कवि–लेखकको एउटा ठूलो झुण्ड पुण्य प्राप्ति होला कि भनेर प्रसादी खान सिंहदरबारतिर हात पसारिरहेका छन् । अनौठो बिडम्बना यही छ, सरकारी झ्यालढोकातिर फर्केर सत्तोसराप गर्ने कति लेखकहरू कर्पोरेट कम्पनी, विदेशी दातृनिकाय वा बजारसत्ताका अनुशासित अनुचर हुन अभिशप्त छन् ।

गोर्कीले भनेका छन्– ‘श्रम–संसार क्रान्तिको आवश्यकताको चेतनासम्म पुगिसकेको छ । साहित्यको कर्तव्य उसैलाई सघाउ पुर्‍याउनु हो, जसले विद्रोहको झण्डा उठाएको छ ।’ यो देशदृश्य देख्नेहरूको साझा र प्रतिबद्ध कोशिस जति सुव्यवस्थित र जति छिटो हुन सक्छ, गोर्कीकै शब्दमा यो ‘डगमगाउँदो व्यवस्था’ त्यति नै छिटो पतन हुन सम्भव छ । हाम्रो चिन्तन र विमर्श कर्ममा रूपान्तरण हुँदा आजको विभेदी विधि–विधान फेरिन कत्तिबेर लाग्दैन । वैचारिक छलफलहरूले क्रिन्यावित हुन मौका पाएनन् भने ती बौद्धिक भोग–विलासमा परिणत हुन पनि बेरै लाग्दैन ।

हामी समयबोधी छौं भने, हामी सम्पूर्ण मानवजातिको हितार्थ आफ्नो जीवनको एकांश लेखनमार्फत् लगाउन तयार छौं भने र हामीसँग त्यसका लागि आवश्यक ठोस विचार बिउ पनि छ भने साझा प्रयत्नका लागि सोच्नु समयप्रतिको हाम्रो कर्तव्य बन्न जान्छ । सोचौं । विचार–बिउलाई जमिन दिऊँ । बिउ रोपिएपछि मात्रै त्यसले नवजीवन पाउँछ । एउटै र सानै (साझा) असल प्रयत्न पनि हजारौं खराबीका लागि चुनौती हो । प्रत्येकको स्वहितको शर्तभित्रै रहेर सबैको स्वतन्त्र हितका लागि के हामी त्यस्तो साझा ठाउँमा उभिन सकौंला ? सकौंला भने सुरुवातका लागि ढिला गर्नै नहुने हाम्रो काल (time) यही हो, यही नै हो । हाम्रा लागि त्यो देश (space) यही हो, यही नै हो । आजको सङ्कटपूर्ण यथार्थलाई आकार दिने टुकटुकेले हाम्रो हात खोजिरहेको छ ।

( शुक्रबार नगरकोटमा सम्पन्न समय चेतना विषयक गाेष्ठीमा  ‘साहित्य -सन्दर्भ र कालचेती प्रश्न’ शीर्षकमा प्रस्तुत छलफलपत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment