Comments Add Comment

उमेर ढल्केपछि यौनइच्छामा कमी आयो, के गर्ने करुणा जी ?

करुणाजी !

म उमेरले करिब ६० वर्षजतिको भएँ । श्रीमती ५० वर्षकी छिन् । म ५० वर्ष भएयता विस्तारै यौन क्षमता घट्दै गएको अनुभूति हुन थालेको थियो । शारीरिक रूपमा लगभग यौन क्षमता सकिएझैं भएको छ । यद्यपि, मनले भने त्यो कुरा स्वीकार गर्दै गर्दैन । ममा पहिले झैं यौन क्षमता आओस् भन्ने लाग्छ ।

अब त उमेर ढल्किसक्योे, म किन यस्तो सोच्छु भनेर आफूले आफैंलाई सम्झाउँछु । यो पीडा बढ्दै गएको छ, तर कसैलाई भन्न सक्दिन । उता श्रीमतीको भने यौनेच्छा घटेको छैन । उनको इच्छा पूरा गरिदिन नपाउँदा पीडा हुन्छ । यो पीडा हटाउने केही उपाय छ कि ?

बुढ्यौलीसँगै आफूलाई अनुकूल बनाउँदै लैजानुपर्छ

पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा यौन क्षमता तथा इच्छा घट्दै जान्छ । विभिन्न अध्ययनबाट यस कुराको पुष्टि भइसकेको छ । यसो भन्दैमा सबै पुरुषमा यो लागू हुँदैन । कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौनेच्छालाई पनि कायमै गरेका हुन्छन् । यौनेच्छा नहुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपना र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ । अर्को अवस्था भनेको इन्डोक्राइन हार्माेनको गडबडी एवं कुनै औषधि लगातार रूपमा लामो समयदेखि सेवन गरिरहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ ।

केही अध्ययनहरूले पुरुषहरूमा ५० वर्षको उमेरपछि ०.४ देखि ०.८ प्रतिशतले टेस्टोस्टेरोन हार्माेन घट्दै जान्छ र जसका कारण यौन चाहनामा कमी आउने पनि देखाएको छ । अर्को अध्ययनका अनुसार धेरैजसो पुरुषहरू जसले ६० नघिसकेपछि यौन चाहना बढी हुनु भनेको राम्रो होइन, असामान्य व्यवहार हो भन्ने विश्वास गर्छन् भने पनि यौनेच्छामा ह्रास आउन सक्छ ।

उमेर ढल्कँदै गएपछि पनि यौनजन्य आनन्द लिन सकिन्छ । युवा अवस्थामा र उमेर ढल्केपछिको यौन चाहना, गतिविधि र मजबुतीमा फरक हुन्छ । २० वा ३० वर्षको उमेरमा र ६० वर्षको उमेरमा हुने सेक्समा केही भिन्नता हुन्छ ।

बालबच्चा वा क्यारियर

२० वा ३० वर्षको उमेरमा बालबच्चा वा क्यारियर महत्वपूर्ण पाटो हुन्छ । तर ६० वर्षको उमेरमा यी कुरा महत्वपूर्ण नहुन सक्छन् । यसबेला यौन साथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्नपुग्छ । तपाईँको प्रश्नमा उल्लेख भएअनुसार तपाईकी श्रीमतीले तपाईलाई बुझ्ने प्रयास गर्नुभएको छ जुन तपाईको लागि राम्रो पक्ष हो ।

करुणा कुँवर

यस्तो सम्बन्धमा सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त राख्ने, चिन्ता नलिने र बुढ्यौलीसँगै आफूलाई अनुकूल बनाउँदै लैजाने हो भने पाको उमेरमा पनि उत्तिकै यौन आनन्द लिन सकिने कुरा विभिन्न अध्ययनहरूले देखाएका छन् ।

पाको उमेरमा हुने सेक्स वा जीवन पनि भनौँ न बोनस लाइफजस्तो बन्दै गएको हुन्छ । जति बाँचिन्छ रमाइलोसँग दिनहरू बिताउ भन्ने सोच विकास हुंदै गएको हुन्छ । चिन्ता नगर्दा मानसिक स्फूर्ति बढ्दै गएको हुन्छ भने मानसिक स्फूर्ति बढ्ने क्रमसँगै यौन आनन्दको उचाइ बढ्दै जान्छ । अर्थात् एक पक्षले अर्को पक्षलाई सहयोग गरिराखेको हुन्छ र जीवन रोमाञ्चकारी बन्दै गएको हुन्छ ।

त्यसैले यौन सम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै पनि छ तर मानिसहरूले यसलाई कसरी सोचिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हो । यौन सम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा बुढ्यौलीमा पनि सम्भव छ । फरक कुरा यत्ति हो कि मानिसहरूले उमेरसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? मैले पहिला पनि भन्ने गरेको छु, सेक्स मात्र महत्वपूर्ण होइन । यससँग जोडिएका धेरै पक्ष छन् ।

अनुभवबाट फाइदा लिन सकिने

टचिङ, किसिङ, सेन्सिङ, मायामोह भावना साटासाट आदि कुराहरू पनि सेक्सका अभिन्न पक्ष हुन् । त्यसैले उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना पनि त हुन्छ । उमेर बढ्दै जाने कुरा सामान्य हो । यससँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ ।

दोस्रो कुरा, उमेरलाई अगाडि जान दिइरहनुहोस् र यौनजीवनलाई आनन्दित बनाउने, लाइट मूडमा रहिरहने, एकअर्कालाई अझ बढी माया गरिरहने, हिँडडुलबाट शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति तन्दूरुस्त राखिरहने, आधुनिक बन्दै जाने, नयांँ—नयाँ सोच विचारहरू ल्याउने तथा छलफल गर्ने, सेक्सका कुरा गर्ने, रमाइलो कल्पना गर्ने, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जन दिने ठाउँमा जाने, धेरै लज्जालु नबन्ने र इमान्दार बन्ने गर्नु यौन जीवन फलदायी बनाइरहने उपयुक्त टिप्स हुन् भन्नुपर्छ ।

युवा सेक्सभन्दा बुढ्यौली सेक्स परिपक्व

पुरुषको प्रजनन शक्ति त हुँदैन । तर, अन्यत्र यौनसम्पर्क गर्दा रोग लाग्ने सम्भावना भएकाले यस्तोमा पनि सावधानी अपनाउनुपर्छ । युवा सेक्सभन्दा बुढ्यौली सेक्स परिपक्व, सुरक्षित र सावधानीपूर्ण हुनु आवश्यक छ । अझ बढी ढुक्क हुन चिकित्सकसँग सम्पर्क गरी केही परीक्षणहरू गर्न आवश्यक हुन्छ र चिन्ता मात्र कारण हो भने मनोविद्सँग परार्मश गर्नु उचित हुन्छ ।

तपाईंको हकमा सबैभन्दा संवेदनशील कुरा, तपाईं आफूले नै प्रश्नमा भन्नुभएको छ, बुढ्यौली लागे पनि मेरो मनले बूढेसकाल लाग्यो भन्ने कुरा मानेको छैन । उमेरसँगै मन बूढो हुँदैन ।’ मन र शरीरबीच यही समस्या छ । कहिलेकाहीँ मनले ठूलो काम गर्छु भने पनि शरीरले साथ दिदैन । यही कारण तपाईंले आफ्नो शरीरसँगै मनलाई पनि आफ्नो उमेरसँग एकाकार गर्दै लैजानुपर्छ ।

यसो भन्नुको अर्थ के भने मनले हरेस खाइहाल्ने होइन तर शरीरको क्षमता र मनको उत्ताउलोपन बीच फरक छ कि छैन त्योचाहिँ हेर्नै पर्छ । यसो गर्दा मन उत्ताउलो हुन थाल्यो भने आफ्नो शारीरिक क्षमता कति छ र त्यसले मनका सबै इच्छा पूरा गर्छ कि गर्दैन भन्ने कुरामा विचार गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment