Comments Add Comment

चितवनमा थरीथरीका चोर, मिर्गौलादेखि रक्सीसम्म

६ असोज, चितवन । केन्द्रीय राजधानी नजिकै रहेको चितवन जिल्लामा तीव्र शहरीकरण भइरहेको छ । जति छिटो पूर्वाधारको विकास भइरहेको छ, त्यति नै बिकृतिहरु पनि भित्रिइरहेको छ । मेडिकल सिटीको रुपमा विकास भइरहेको चितवनलाई मिर्गौला र सुन तस्करहरुले ट्रान्जिट बनाएको तथ्य पनि पत्ता लागेको छ ।

त्यतिमात्रै होइन, चितवनमा थरिथरिका बिकृति पनि छन् । नेतादेखि अधिकारकर्मीसमेत यौनधन्दामा संलग्न हुने, भीआईपी जस्तो बनेर महिलाले नै गरगहना चोर्ने, नेताहरुको संरक्षणमा गुण्डागर्दी गर्ने गरेको पनि पाइएको छ ।

चितवनका यस्ता चुनौतिको बीचमा प्रहरी प्रमुख बनेर आएका छन् एसपी सुशील सिंह राठौर । जेठ १ गतेबाट चितवन प्रहरीको कमाण्ड सम्हालेका राठौरले थ्री एस (सर्च, स्वीप र स्क्रिनिङ) अपरेसन चलाएको र सीमित जनशक्तिको बाबजुद पनि नसोचेको सफलता पाएको भन्दै दंग छन् ।

जिल्लामा अपराधिक क्रियाकलाप, तस्करी, चोरी, गुण्डागर्दी नियन्त्रणमा लिन सफल भएको उनको दाबी छ । दोषि देखिए राजनीतिक दलका नेतालाई समेत नछाड्ने बताउँदै उनले भने, ‘राजनीतिक दलले संरक्षण नदिने हो भने, कुनै पनि गुण्डाको दाल गल्दैन । शान्ति सुरक्षा नभएसम्म समृद्धि आउँदैन, नेताहरु भनेपनि म छाड्दिनँ, मलाई सरुवाको डर छैन ।’

मिर्गौला तस्करीको ट्रान्जिट

मेडिकल सिटीको रुपमा विकास हुँदै गइरहेको चितवनलाई मेडिकल तस्करहरुले ट्रान्जिटको रुपमा प्रयोग गर्न थालेको नयाँ तथ्य उजागर गर्न प्रहरी सफल भएको छ । चितवन भएर भारतमा गई मिर्गौला तस्करी गर्ने गरेको गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि यो तथ्य पत्ता लागेको हो ।

चोरीको एक घटनाको विषयमा अनुसन्धान गर्दै जाँदा मिर्गौला तस्करीको गिरोहसम्म पुगेको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए ।

नारायणगढमा मजदुरी गरी बस्ने एक युवकलाई आर्थिक प्रलोभन देखाई मिर्गौला बिक्रीको लागि भारतको नयाँदिल्ली लैजाने गिरोह मध्येका पाँच जना पक्राउ परे । पक्राउ पर्नेहरुमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ बस्ने ४१ वर्षीय हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहटको चन्द्रपुर–४ बस्ने ३५ वर्षीय बिक्रम पहरी, मकवानपुर बकैया गाउँपालिका–५ बस्ने २८ वर्षीय प्रकाश तामाङ, मोरङ बयरबन–६ बस्ने ३४ वर्षीय दीपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका–३ बस्ने २८ वर्षीय विशाल नेपाली छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

यो गिरोहमा रहेका सबै जनाले पहिला आफैंले शरीरको एक मृगौला बेचेका छन् । ‘आफ्नै मिर्गौला बेचेपछि उनीहरु यो धन्दामा पैसा कमाउन सकिने रहेछ भनेर जानीबुझी लागेको पाइयो,’ एसपी राठौरले भने, ‘चितवनमा रहेर यो धन्दा चलिरहेको भन्ने कुरा पहिलोपटक हामीले पत्ता लगाउन सफल भयौं ।’

अवैध कल बाइपास

विगत केही समयदेखि चितवन जिल्लाको बिभिन्न स्थानमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल बनेको छ । गैरकानुनी उपकरणहरु राखी कलबाइपास गर्ने काम भैरहेको भन्ने सूचनाको आधारमा केन्द्रय अनुसन्धान व्यूरो र चितवन जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा तीन जना व्यक्तिलाई पक्राउ गर्‍याे ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ बस्ने २२ वर्षीय सुनिल अधिकारी, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ११ बस्ने ३१ वर्षीय विजय गुरुङ र सोही स्थानमा ३२ वर्षीय मिन प्रसाद रिजाल छन् । उनीहरुले भरतपुर महानगरपालिका–१० रिजालचोक नजिकमा रहेको नारायण पौडेलको घरमा कोठा भाडामा लिई अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्दै आएका थिए ।

ढुंगा, गिट्टीदेखि सुनसम्म

चितवनमा पछिल्लो समयमा ढुंगा गिट्टी, बालुवादेखि सुन तस्करीसम्म बढेको पाइएको छ । राजनीतिको आडमा यस्ता तस्करीहरु भैरहेको पाइएको छ । चितवन प्रहरीले यसमा पनि कारर्वाही अघि बढाएको छ । गत भदौ २० गते पूर्वी चितवनको कयर खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न रहेका ८ वटा ट्याक्टर र भदौ १८ गते मध्यरात त्रिशुली किनारबाट अवैध रुपमा ढुंगा गिट्टी बालुवा तस्करी गरिरहेको अवस्थामा एक जेसिवीसहित ३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लियो ।

ढुंगा, गिट्टी, बालुवाको उत्खनन् र तस्करीमा जिल्ला उच्च सरकारी अधिकारी र प्रहरीसमेतको सेटिङ हुने चर्चा विगतमा हुँदै आएको थियो । त्यसैले पछिल्लो समयमा ढुंगा, गिट्टी, बालुवा तस्करीमा प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने यस्ता धन्दाहरुलाई नियन्त्रणमा लिन प्रहरी सफल देखिएको छ ।

एसपी राठौरले प्रहरीले कुनैपनि बाहाना वा दबावमा यस्ता तस्करहरुलाई उन्मुक्ति नदिने बताउँछन् । बरु प्रहरीले दुःख गरेर समातेर ल्याएका कयौं तस्करहरुलाई सस्तो जरिवाना तिराएर छाड्ने गरिएको गुनासो उनको छ । जिल्ला समन्वय समितिले अधिकतम दुई लाखसम्म जरिवाना गर्न पाउने व्यवस्था भएपनि न्यून जरिवाना तिराएर छाड्दा तस्करहरुलाई नै बल पुगेको एसपी राठौर बताउँछन् ।

चितवनको नारायणगढ बजार क्षेत्रबाट भदौ १९ गते २ केजी ७६ ग्राम सुन र ४ केजी ६१७ ग्राम चाँदीसहित एक जना पक्राउ परे । नारायणगढको न्यू गणेश सुनचाँदी पसलमा लुकाएर राखिएको सुनचाँदी र नगद १२ लाख रुपैयाँ बरामद गर्न प्रहरी सफल भयो ।

भरतपुर महानगरपालिका–१ पुतलीबजारमा डेरा गरी बस्दै आएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई प्रहरीले नियन्त्रणमा लियो । उनीबाट बरामद गरिएको सुनचाँदीको अनुमानित मूल्य एक करोड बराबर छ ।

सो सुन र चाँदी तिब्बतसँग नाका जोडिएको रसुवाबाट अवैध रुपमा भित्राइएको थियो । नारायणगढ बजारका सुन पसलमा अवैध रुपमा ल्याइएका सुनको कारोबार हुने गरेको तथ्य प्रहरीले फेला पार्न सफल बनेको छ । सुन तस्करीको बजारका रुपमा समेत नारायणगढ विस्तारै विकास हुन थालेको यसबाट देखिन्छ । अहिलेसम्म प्रहरीले सुन तस्करीको यो तथ्य पत्ता लगाउन सकेको थिएन ।

केही दिनअघि मात्र चितवनका सुनचाँदी व्यवसायीहरुले माग अनुसारको सुनचाँदी नपाएको भन्दै दुई दिन पसल ठप्प पारेका थिए ।

लिपिस्टिक पाउडर बोक्ने ब्यागमा चोर्ने हतियार

चितवनमा चोरीका घटना बढेका छन् । चोर अघिअघि प्रहरी पछिपछि जस्तो देखिन्छ ।

चितवनमा एकै प्रकृतिका सामान चोरी गर्ने गिरोह सक्रिय हुन थालेका छन् । सुरुमा जे चोर्‍याे, त्यही प्रकृतिका सामान चोरीलाई निरन्तरता दिने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौर चोरले आफ्नो कामलाई विशिष्टीकरण गर्न थालेको बताउँछन् । ‘चोरीमा पनि विशिष्टीकरणको अवस्था पाइयो, एउटा पक्रनासाथ धेरै घटनामा संलग्न भएको देखियो, प्रविधिको प्रयोग पनि चोरीमा गरेको देखिन्छ,’ एसपी राठौरले भने, ‘सुन, ब्राण्डेड रक्सी, मोबाइल–घडी, सहकारी जस्ता चोरी गर्ने समूहले प्रविधिको पनि प्रयोग गरेका छन् ।’

घरघरमा गएर सुन चोरी गर्नेमा एक भीआईपी महिला नै सक्रिय थिइन् । गैंडाकोटमा होटल व्यवसाय गरेर बसेकी सरिता भनिने शोभा विकलाई प्रहरीले पक्राउ गर्‍याे । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ स्थायी घर भएकी ति शोभा रेष्टुरेन्ट सञ्चालकसमेत हुन् । उनीसहित सुन खरिद गर्ने २ जना र बिक्री गर्ने १ जना पक्राउ परे ।

शोभाले विभिन्न घरबाट विभिन्न समयमा ५९ तोला सुन र १९ तोला चाँदी गरी करिब ४० लाखभन्दा बढीको सुनचाँदी चोरेको देखिएको छ । उनले दिउँसै घरमा ताला फुटाएर सुन, चाँदी र नगद मात्रै चोर्ने गर्दै आएकी थिइन् ।

चोरी नियन्त्रणका लागि जिल्लामा प्रहरी निरीक्षकको कमान्डमा एउटा विशेष टोली नै गठन गरी खटाइएको छ । चितवन प्रहरी प्रमुख एसपी राठौर भन्छन्, ‘ति महिलालाई बाहिरबाट हेर्दा कसैले चोर भन्दैन, चिटिक्क परेर हिँड्ने, हेर्दा पनि भीआईपी जस्तो देखिन्छिन् तर धन्दा यस्तो रहेछ । लिपिष्टिक र पाउडर बोक्ने ब्यागमा चोर्ने हतियार भेटिए ।’

पछिल्लो पाँच महिनामा चितवनमा ११ सहकारीमा चोरी भएको छ । सहकारी चोरी गर्ने नेपालमै तीन समूह सक्रिय रहेको पत्ता लागेको छ । चितवनमा एउटा समूह सक्रिय बनेको देखिएको छ । त्यसमा संलग्नहरुसमेत पक्राउ परिसकेको केही व्यक्ति पक्राउ गर्ने क्रममा रहेकोले हाल सार्वजनिक नगरिएको एसपी राठौर बताउँछन् । चितवनमा पसल फोरेर महंगा रक्सीमात्रै चोर्ने समूह पनि पक्राउ परेका छन् ।

थरिथरिका चोर छन् चितवनमा एसपी राठौर भन्छन्, ‘चोरी पनि अचम्म–अचम्मका हुन थालेका छन् ।’

नेतादेखि अधिकारवादीसम्म यौन धन्दामा

बढ्दो शहरीकरण र आधुनिकतासँगै चितवनमा सामाजिक विकृतिको रुपमा यौनधन्दा फस्टाउँदै गएपछि प्रहरीले त्यसमा आक्रामक अभियान चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले जेठबाट सञ्चालन गरेको थ्री एस अपरेसनपछि विगत तीन महिनामा चितवनमा यौनधन्दा गर्ने २९ जनालाई पक्राउ गरेको छ । जसमा १९ जना पुरुष र ८ जना महिला रहेका छन् ।

होटलमा यौनधन्दा चलाउन सहयोग गर्ने दुई होटलका सञ्चालकहरुलाई पनि प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । प्रहरी अनुसन्धामा विगत १० वर्ष अघिदेखि आजसम्म पक्राउ परेका मानिसहरुको पृष्ठभूमि हेर्दा स्वयं यौनकर्मी, होटल तथा रेस्टुरेन्ट व्यवसायी, सर्वसाधारण, ट्याक्सी चालक र सामान्य मजदुरी गर्नेदेखि पेसा व्यवसायी, राजनीतिक दलका नेता, मानव अधिकारवादी, महिलाअधिकारकर्मी, सेलिब्रेटीसम्म यौन व्यवसायमा संलग्न छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकलाई हेर्दा नारायणगढको पुलचोक, पोखरा बसपार्क र केन्द्रीय बसपार्कका होटलहरुमा बढी यौनधन्दा हुने गरेका छन् ।

प्रहरीले धादिङ स्थायी घर भएका गैंडाकोट बस्दै आएका २३ वर्षीय विवेश परियारलाई पक्राउ गरेको छ । उनीमाथि ४ मदिरा पसलमा चोरी गरेको आरोप छ । चोरी नियन्त्रण गर्ने क्रममा भरतपुर १० चौबिसकोठीस्थित विश्वास एण्ड कम्पनीबाट बैंकमा जम्मा बहानामा २३ लाख २५ हजार रुपैयाँ लिई फरार कर्मचारी गैंडाकोट ४ नबलपरासीका अर्जुन ढकाललाई सुनसरीमा लुकेर बसेको अवस्थामा पक्राउ गरी रकम फिर्ता गरी आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, नारायणगढको हाम्रो इलेक्ट्रोनिक्सबाट मोबाइल र नगद गरी ३० लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी गर्ने व्यक्तिलाई भारतको घोडासान प्रहरीको समन्वयमा धनमालसहित पक्राउ गरी नेपाल ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

गुण्डा पालेर समृद्धि आउँदैनः एसपी राठौर

चितवनमा विगतमा राजनीतिको आडमा गुण्डागर्दी मौलाएको थियो । गुण्डाहरुको दैनिकजसो हुने झडपका कारण यहाँको जनजीवन त्रसित पनि बन्यो । तर, अहिले राजनीतिक पार्टीबाट गुण्डाहरुले संरक्षण पाउन छाडेपछि उनीहरुको चिल्लीबिल्ली भएको एससी राठौरको दाबी छ । उनी भन्छन्, ‘तपाईं यो मान्नुस् राजनीतिक दलले संरक्षण नदिने हो भने, कुनै पनि गुण्डाको दाल गल्दैन ।’

चितवनमा आएदेखि नै आफूले गुण्डाहरुलाई टार्गेट गरेको उनले बताए । गुण्डाहरुको विवरण लिएर उनीहरुलाई तारेख लगाउनेदेखि मानसिक तनाव दिनेसम्मको काम प्रहरीले गरिरहेको छ ।

जिल्लाका दुई डिएसपी र प्रहरी अधिकृतहरुले गुण्डाहरुलाई पालैपालो फोन गरेर हालखबर सोध्ने गरेका छन् । ‘यो एक प्रकारको मानसिक थ्रेट हो, प्रहरीले हामीलाई वाच गरिरहेको छ, गलत काम गर्न हुन्न भन्ने उनीहरुले बुझ्छन्,’ एसपी राठौरले भने, ‘कतै छिस्रिक्क गरे ल्याएर भित्र कोचिदिन्छु, तर हिजोआज धेरैजसो गुण्डाहरु तह लागिसके ।’

चितवनका राजनीतिक दलहरु पनि गुण्डाहरुबाट आजित बनेको पाएको एसपी राठौर बताउँछन् । उनले भने, ‘गुण्डालाई संरक्षण दिएर पालेर कहाँ समृद्धि आउँछ ?, शान्ति सुरक्षा नभएसम्म समृद्धि आउँदैन, नेताहरु भनेपनि म छाड्दिनँ, मलाई सरुवाको डर छैन, ७७ जिल्लाभन्दा बाहिर जान त पर्दैन होला नी ?’

चितवनका जनता अत्यन्तै सचेत रहेको भन्दै उनले सूचनाको पाटोमा पनि सहयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment