Comments Add Comment

‘यता ब्ल्याकमा टिकट विक्री, उता टिकट नपाएर दर्शकको तछाडमछाड

धेरै बर्ष पहिले नेपाली चलचित्र हेर्दा ब्ल्याकमा टिकट विक्री भएका खबर खुबै सुनिन्थ्यो । दर्शकले टिकट पाउन मुश्किल भएपछि हलमा ब्ल्याकमा टिकट विक्री गरेर पैसा कमाउन केही मानिसहरु सलबलाउथ्य । तर, पछिल्लो समयमा ब्ल्याकमा टिकट विक्री भएको खबर सुन्न कमै मात्र पाइन्छ । तर, शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा पुग्दा अचम्मको दृश्य देखियो । जसको बारेमा चलचित्र बनाउनेदेखि हल संचालकहरुले सोच्न आवश्यक छ ।

काठमाण्डौको गोपिकृष्ण मुभिजमा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ हेर्नका लागि दर्शकको भीड बाक्लो थियो । झन्, त्यसमा कलाकार समेत हलमा पुगेपछि भीड बाक्लो हुनु स्वभाविक नै हो । चलचित्रका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरेर र्फकदै गर्दा टिकट काट्ने झ्यालमा तछाड र मछाड गर्दै टिकट काट्नेको लाइन थियो । गोपिकृष्णको ७ पर्दा मध्ये गोपि सबैभन्दा ठूलो हो । यो हलमा बक्स अफिस लागू भैसकेको छ भने यसलाई मल्टिप्लेक्सको दर्जा समेत दिइएको छ । तर, दर्शकको भीड, अव्यवस्थित लाइन, महिला र केटाकेटी समेत भीडमा कोचिएर टिकट काट्नुपर्ने वाध्यता हेर्दा लाग्दैनथ्यो यो कुनै मल्टिप्लेक्स हो ।

२ जना बढी कर्मचारी थपेर व्यवस्थित लाइनमा टिकट काट्ने व्यवस्था गर्न हल संचालकलाई खै किन समस्या परेको हो, वुझ्न गाह्रो थियो । मल्टिप्लेक्स हल भनेर चिनिएका बीग मुभिज, क्यूएफएक्स लगायतका हलमा यस्तो हरिविजोग दृश्य कहिल्यै देखिदैन ।

ब्ल्याकमा टिकट विक्री
यही क्रममा अर्को अजिबको दृश्य पनि देखियो । एकजना हरियो चेक सर्ट लगाएका व्यक्ति भीडमा कोचिएर टिकट काट्न नसक्नेहरुलाई ब्ल्याकमा टिकट विक्री गर्दै थिए । मिडियाको क्यामेरा सोझिएपछि उनी केही हच्किए ।
उनले ३ यूवतीसँग गरेको संवाद यस्तो थियोः

टिकट विक्री गर्नेः बहिनी टिकट लिने हो ? यस्तो भीडमा त टिकट पाउन मुश्किल छ ।
टिकट किन्नेः कति हो एउटा टिकटको ?
टिकट विक्री गर्नेः तपाईहरु ३ जना हुनुहुन्छ । ६ सय रुपैयाँ दिनुहोस् ।

उनले बेच्न लागेको टिकटको हल टिकट दर सय थियो । जबकी उनी एक जनाबाट सोझै सय रुपैयाँ नाफा खान खोज्दै थिए । ती व्यक्तिलाई साथ दिन अर्का एक व्यक्ति पनि तयार थिए । उनको हातमा ठूलो मात्रामा टिकटको बन्डल थियो । दर्शकले भने टिकट नपाएर कोचिएर लाइनमा कराउनु परेको थियो ।

हलको सिट र पर्दा मात्र फेरिएर हुँदैन । हल बाहिर हुने यस्ता खालका गतिविधीमा पनि ध्यान दिन आवश्यक छ । केही समय अगाडि गोपिकृष्ण हलमा एउटा चलचित्रको रिपोटिङका लागि हामी पुग्दा, एक दर्शक आफ्नो मोबाइल चोरी भएको गुनासो प्रहरी समक्ष गर्दै थिए । यस्ता गुनासो शनिबार प्राय सुनिने गर्छन् ।

यसैले, हलमा सिसी क्यामेरा, लाइन व्यवस्थापन, व्यवस्थित तरिकाले टिकट काट्ने व्यवस्था गर्ने कि नगर्ने ? यस्तो भीड हुने हलमा महिला, केटाकेटीका लागि सजिलोसँग टिकट लिने व्यवस्था गर्न अझै आवश्यकता छ । गोपिकृष्णका एक कर्मचारी भन्दैथिए-‘यो भीडमा कसले पकेट मार्छ । कसले ब्ल्याकमा टिकट विक्री गर्छ कसरी थाहा पाउनु । सिसी क्यामेरा राख्नका लागि हामीले धेरै पटक भनिसक्यौ । तर, हलको व्यवस्थापनले सुन्दै सुन्दैन ।’ आशा गरौ, हलमा हुने गरेका यस्ता गतिविधी सुधारिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment