Comments Add Comment

मृत बच्चा जीवित भेटिएको भन्दै अस्पतालमा तोडफोड

६ असोज, सप्तरी । उपचारमा लापरवाही गरेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । अहिले अस्पतालको आकस्मिक सेवा प्रभावित भएको छ ।

रुपनी गाउँपालिका ६ तेरहौता निवासी अशोक साहका ढेड बर्षीय छोरा अरब साहलाई शुक्रबार साँझ अस्पताल ल्याइएको थियो । लडेर बेहोस भएको परिवारको भनाइ थियो । चिकित्सकले भने बच्चाको मृत्यु भइसकको भन्दै पोष्टमार्टममा पठाएका थिए ।

तर, शनिबार विहान बच्चाले आँखा खोलेको र र्‍याल निकालिरहेको देखेको भन्दै अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडका कारण अस्पतालको आकस्मिक कक्षको झ्यालका सिसाहरु फुटेको छ भने अन्य उपकरणहरुमा क्षति पुगेको छ ।

उनीहरुले बच्चालाई रेडक्रसको एम्बुलेन्समा राखेर सिरहाको चोहर्बास्थित नेपाली सेनाकोसर्पदंश उपचार केन्द्रमा पुर्‍याए । तर, त्यहाँ पनि मृत घोषणा गरेका छन् । ‘हाम्रो टिमले हरेक जाँच गर्दा पनि बच्चा ज्यूँदो देखिएन’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने, ‘पारामेडिक र सर्जन चिकित्सकले जाँच गर्दा बच्चा मृत्यु भइसकेको थियो ।’

उनले बच्चाको मृत्यु भइसकेपछि बच्चाका अभिभावकले नै पोष्टमार्टम गराइदिन प्रहरीमा जाहेरी दिएपछि पोष्टमार्टम कक्षमा लगिएको जानकारी दिए ।

लापरवाही आफ्नै

बच्चाको आफन्त तथा गाउँलेहरुको भनाइ मान्ने हो भने शुक्रबार दिउँसो अरब लडेका थिए । त्यसक्रममा रगत आएपछि डिटोल लगाइएको थियो तर, एक छिनमा अरब बेहोस भए । शुक्रबारै साँझ ७ बजेतिर अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले इसिजी जाँच गरे र बालकको मृत्यु भइरहेको जानकारी गराए । तर, अभिभावकले बच्चाको शरीरबाट कसरी रगत आयो भन्ने ठम्याउन सकेका थिएनन् । स्थानीयले भने बालक लडेको ठाउँमा सर्प देखेको बताएका छन् । त्यो सर्पलाई स्थानीयबासीले एउटा डिब्बामा बन्द गरेका छन् ।

बच्चा लडेको ठाउँमा सर्प देखापरेपछि मात्र आफन्तले सर्पले टोकेको थाहा पाएका छन् । ‘समयमै उनलाई अस्पताल ल्याइएको भए बचाउन सकिन्थ्यो’ अस्पताल प्रमुख डा. दासले भने, ‘आफैं लापर्वाही गर्नु, अनि अस्पतालमा दिनरात मिहिनेत गरिरहेका स्वास्थ्यकर्मीको मनोवललाई गिराउनु कतिसम्म उचित हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment