Comments Add Comment

ओली हैरानीको चिरफार

हिजोआज ओली अत्तालिएका छन् । हैरान परेका छन् । आफ्नै नेता-कार्यकर्ता, आफू मातहतका राज्यका अङ्गहरु, न्यायालय आदिआदि सबैले आफूलाई खेदाएको र असफल बनाउन लागिपरेको लाग्न थालेको छ हाम्रा प्रधानमन्त्रीलाई । उनको आवेगपूर्ण र आक्रोशपूर्ण टिप्पणीहरुले त्यतैतिर संकेत गर्छन् ।

ओलीको आत्मविश्वासमा मुलतः तीन कारणले ठेस लागेको देखिन्छ । पहिलो हो सर्वसत्तावादी र अधिनायकवादी बन्न खोजेको आरोप ! दोस्रो, पार्टीको आन्तरिक एकता र तेस्रो, अघिल्ला दुई कारणको प्रभावका रुपमा देखिएको सरकारको अकर्मण्यता ।

सर्वप्रथम, पहिलो कारणको चिरफार गरौं । देउवा हुँदै कांग्रेस र हिजोआज नागरिक समाज तथा मिडियाको एउटा विशाल पंक्तिले ओली नेतृत्वको सरकार सर्वसत्तावादी र अधिनायकवादी दिशामा मार्चपास गर्न लागेको आरोप लगाउन थालेपछि ओली हैरान परेका छन् । हैरानीका केही मनन्योग्य कारण पनि छन् । एकछिनलाई पूर्वएमालेतर्फ फर्कौं । पूर्वएमालेको नेतृत्वपंक्तिलाई अलग राखेर हेर्ने हो भने सर्वहारावर्गको अधिनायकत्वको स्कुलिङ्ग होइन, पचासको दशक यता बल्खुको कारखानाबाट उत्पादित हरेक कार्यकर्तामा बहुलवाद र बहुदलीय जनवादको ट्रेडमार्क छ ।

बहुलवाद अँगालेको चार दशक र बहुदलीय जनवाद अँगालेको तीन दशकमा यो राज्यसत्तालाई एमालेले अरिङ्गालले जस्तै घेरा हालेर बस्दै आएको छ । इतिहास हेर्दा थाहा हुन्छ, गएको साढे दुई दशकमा राजनीतिक पार्टीहरुको कहिले राजासँग अन्तर्विरोध र कहिले माओवादीसँग अन्तर्विरोध प्रधान बनेर आइरहृयो । एकाध अपवादबाहेक १० वर्षे जनयुद्धको बेला होस् वा आत्मसमर्पणको शैलीमा माओवादीले संसदीय राजनीति अङ्गालेको पछिल्लो एक दशकको अवधि, माओवादीलाई थकाउने, गलाउने, हराउने र सिद्धयाउने भारत र नेपाली कांग्रेसको हरेक योजनामा प्रतिबद्ध सहयोगीका रूपमा एमालेले आफूलाई प्रस्तुत गर्‍यो ।

अरुण उपाध्याय

कांग्रेसको ध्रुवमा निरन्तर देखिन थालेपछि एक समय त आलोचकहरुले एमालेलाई भाइकांग्रेस नै भनेर आलोचना गर्न थालेका थिए । यसैक्रममा सरकारमा नियमित आउ-जाउ ले दूधमा पानी मिसिएको जसरी आफू राज्यसत्तामा मिसिएको एमालेले ठान्न थाल्यो । राज्यसत्ता र संसदीय राजपाठमा आफूलाई स्थायी ‘इन्साइडर’ ठान्दै माओवादीलाई आफूमा बिलिन गराउने बित्तिकै दुई जोड एक बराबर तीन हुने र प-पाँच वर्षमा कांग्रेसलाई हराउँदै सत्ताको रजजग गर्ने लेखाजोखा एमालेले गर्‍यो । तर, दुई पार्टीको एकतासँगै राजनीतिको ‘क्याल्कुलस’ फेरियो ।

एमाले र माओवादी एक भइदिँदा नेपाल कम्युनिस्ट पार्टी -नेकपा) फेरि कांग्रेससँग आमने सामने भइहाले । सत्ताको म्युजिकल चेयर मूलतः दुई दलीय प्रतिस्पर्धामा सीमित भएको वर्तमान प्ररिपेक्ष्यमा प्रतिपक्षले सत्तापक्षलाई केही त देख्छ नै, दुईतिहाईंको समर्थनमा बनेको सरकारलाई त्यसैकारण नेपाली कांग्रेसले एकाएक अधिनायकवादी देख्न थालेको हो । अन्यथा, संसदीय व्यवस्थाभित्रको सत्तापक्ष-प्रतिपक्ष ‘पावर डाइनामिक’ भन्दा बाहेक नेकपालाई अधिनायकवादी बन्न खोजेको पुष्टि गर्न सक्ने कुनै आधार देखिँदैन ।

आम जनमतको मन जित्ने एकमात्र उपाय सरकार प्रभावकारी ढङ्गले सञ्चालन गर्नु हो । त्यसबाट प्राप्त ‘लेजिटिमेसी’ ले मात्र सरकारलाई ‘म्यानुभर’ गर्ने ठाउँ दिन्छ । आफ्नो प्राथमिक कर्मबाट विचलित भई राज्यसत्ताको स्थायी अङ्गहरुलाई बढी गिजोल्न थाले भने -न्यायाधीश दीपकराज जोशी पछिल्लो उदाहरण) ओली सकस अझै बढ्ने देखिन्छ ।

आइजीपी विवाद र प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण यताका सबै मुद्दा हेर्दै जाने हो भने राज्यसत्ता के हो, त्यसको जरो कति गहिरो हुन्छ र नेपालको सन्दर्भमा कांग्रेससँग राज्यसत्ताको नाता के छ भनेर खुट्याउन माक्र्स-लेनिन पढेर हुर्केकाहरुलाई धेरै गाह्रो हुनु नपर्ने हो । तर, सत्ताको ‘इन्साइडर’ भएको उही त्रुटीपूर्ण मनोविज्ञानले गर्दा ओली त्यो बुझ्न सकिरहेका छैनन् । स्थानीय निकायको चुनावपछि कांग्रेस सिला खोज्नुपर्ने अवस्थामा पुग्ने आफ्नो अंकगणित असफल हँुदा ओलीले आश्चर्य प्रकट गरेको त्यसैको अभिव्यक्ति हो ।

उनले के बुझेनन् भने कांग्रेस बीपीले रोपेको रुख हो । दशकौंदेखि मल जल गरेर कांग्रेसीहरुले हुर्काएको रुख । यो पार्टी जरा निकै गहिरो छ । सरकारमा कांग्रेस नभएपनि संरचनागत हिसाबले सत्ताधारी शक्ति कांग्रेस पनि हो । अझ विश्वदृष्टिकोणको क्षितिज अलि फराकिलो बनाएर आँखा डुलाउने हो वामप्रतिको विश्वद्वेष र प्रजातन्त्रप्रतिको विश्वभ्रम सर्वव्यापी देख्न सकिन्छ । अमेरिका र भारतहरुलाई प्रजातन्त्रका पयार्यवाची मानिदिनुपर्ने विश्वव्यवस्थामा नेपाली कांग्रेस त्यसैको घरेलु ‘एक्स्टेन्सन’ हो जो जति वामपन्थी बलियो बन्छन्, त्यति नै फैलिँदै जानेछ । यो उदारवाद र प्रजातन्त्रको नेपाल ‘इफेक्ट’ हो ।

सरकारको एकपछि अर्को गल्तीले ओइलाइराखेको त्यही रूखलाई मलजल गरेर नयाँ जीवनको सञ्चार गरिदिएको छ, जुन सरकारलाई खबरदारी गर्न अपरिहार्य पनि थियो । कांग्रेस जति तङ्िँग्रदै जान्छ, आफ्नो सारा शक्ति नेकपा नेतृत्वको सरकारका विरुद्ध प्रयोग गर्नेछ । यो प्रतिपक्षको कर्म र धर्म हो । सर्वसत्तावाद र अधिनायकवादलाई यही सैद्धान्तिक-राजनीतिक प|mेमवर्कबाट हेर्दा ओलीको हैरानी बुझ्न सकिन्छ ।

यतिबेला ओलीको दोस्रो हैरानी पार्टीको आन्तरिक एकता हो जसले सरकारको कामकारवाहीमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ । भासिदै गरेको तत्कालीन एमालेलाई विगत एक दशकमा आफ्नो राजनीतिक लाइनले दिलाएको सफलताका कारण ओली आफूलाई पार्टीमा ‘अथोरिटी’ ठान्छन् । यिनले जानेको भए त पार्टीको त्यो दयनीय अवस्था हुने नै थिएन भन्ने कोणबाट आफूलाई ‘अर्ती’ दिन आउनेलाई हेर्ने उनको बुझाइ संगठन सञ्चालनमा नै अभिव्यक्त हुँदै आएको छ । पार्टीभित्रको शक्ति सन्तुलनका कारणले मात्र उनले यदाकदा माधव नेपाल र वामदेव गौतमहरुलाई रिझाउनुपरेको हो । झलनाथको विजोगले त्यसैको पुष्टि गर्छ ।

आज पार्टीहरुले मुलुकलाई सही नेतृत्व प्रदान गर्न नसक्नुको एउटा प्रमुख कारण जनवाद र केन्द्रीयताको समूचित प्रयोग नहुनु हो । लेनिनको गहन अनुसन्धानको परिणामस्वरुप जन्मिएको पार्टी सञ्चालन सम्बन्धी गुरुत्वआकर्षणको नियम – “छलफलमा स्वतन्त्रता र कामकारवाहीमा एकरुपता” को आदर्शतम प्रयोग हुन्थ्यो भने ‘अरिंगालको जस्तो सामूहिकता’ का लागि कुनै पनि नेताले याचना गर्नुपर्ने आवश्यकता पैदा हुने थिएन ।

तर, बिडम्बना, आफैले सबै जानेको छु भन्ने भ्रमका कारण नेतृत्वले मनलाग्दी गर्छ । त्यस्तै रोगले भित्रभित्रै खिइएको एमालेमा त्यही रोगले टुक्राटुक्रा भएको अर्को पार्टी नेकपा -माओवादी-केन्द्र) थपियो । देश र पार्टी हित सबैलाई तिलाञ्जली दिएर पनि आफूलाई केन्द्रमा राखिराख्न प्रचण्डले कतिसम्म गर्न सक्छन् भन्ने कुरा अध्येताहरुको रुचीको विषय बन्न सक्छ । शक्ति सन्तुलन बदल्न आफू अब्बल सावित भएकाले गिनिज बुकमा आफ्नो नाम लेखिनुपर्ने कुरा संसद्बाट सगौरव घोषणा गर्ने प्रचण्डमा अस्वाभाविक शक्तिमोह छ । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्रीले दुई छिमेकीको भ्रमण सकेर आएको छ महिना पनि नबित्दै प्रचण्ड दिल्ली र बेइजिङ्ग दौडाहामा निस्किए ।

बेइजिङ्गको टिकट त भारत भ्रमणबाट उठ्न सक्ने प्रश्नको जबाफ दिन मात्र काटेको भन्ने उनको भेटघाटबाटै प्रस्ट भयो । अप्ठ्यारोमा परेको सरकारलाई सफल बनाउन रातदिन सक्रिय हुनुपर्ने प्रचण्ड पार्टी एकता गर्दा भएको प्रधानमन्त्री बाँडफाँडसम्बन्धी अलिखित सहमतिबारे औपचारिकरूपमै भारतलाई सुनाएको कुरा अन्तर्वार्ताहरुमार्फत सार्वजनिक गरे । यसैले देखाउँछ नेकपाको स्वास्थ्य त्यति जाति छैन ।

आफूलाई ‘अथोरिटी’ मान्दिनुपर्ने ओली चेत र पूर्वएमाले तथा प्रचण्डसहित पूर्वमाओवादी केन्द्र पंक्तिको अर्थपूर्ण असहयोगले दुई परस्परविरोधी ध्रुवमा नेकपाको आन्तरिक पार्टी एकतालाई उभ्याइदिएको छ । यो विषम् परिस्थिति जनवाद र केन्द्रीयताको सही प्रयोग नहुनुको उपज नै हो जसको जवाफदेहिता ओली स्वयंले लिनुपर्छ ।

माथि चर्चा गरिएका दुवै अप्ठ्याराका कारण सरकारको कामकारवाही निष्प्रभावी बन्दै गएको छ । यी अप्ठ्याराका समाधान गर्न ओली आफैले मात्र गर्न सक्छन् । पहिलो काम पार्टी एकतालाई सदृढ बनाउनु हो । प्रचण्डको मन कति छिटो फाट्छ, किन फाट्छ र समयमा टालेन भने झन् बढी फाट्छ भन्ने कुरा ओलीले राम्रोसँग बुझेका छन् ।

यदि ओलीले आफ्नो कार्यकालको कुनै निश्चित समयावधिमा पुगेपछि प्रधानमन्त्री पद सुम्पिन्छु भनेर प्रचण्डसँग वाचा गरेको हो भने त्यसको कार्यान्वयनको पुनःसुनिश्चितता गरिदिए प्रचण्डले आफू र आफ्नो समूहलाई ‘रिएक्टिभेट’ गर्न विलम्ब गर्लान् जस्तो लाग्दैन । यसरी पार्टीको अन्तर्विरोध हल हुने वित्तिकै सरकारको काम प्रभावकारी बनाउने सम्भावना बढ्छ ।

प्रधानमन्त्रीको रुपमा ओलीको पहिलो कार्यकालको मूल्यांकन नाकाबन्दीको विरोध र चीनसँग दीर्घकालीन हितको सम्झौताका कारण भयो । जनताले धेरै आशा राखेनन् । तर, यसपटक ओलीसँग परिवर्तनको अनुभूति दिलाउन सक्ने काम गर्नुपर्ने चुनौती छ । सरकार ‘पब्लिक गुड्स् डेलिभरी’ मा सफल भयो भने यतिबेला टाउकोले टेकेको ओलीको पार्टी सत्ता र सरकार खुट्टाले टेक्नेछ ।

ओली टाउकोले टेकेको पार्टी र सरकार चाहन्छन् कि खुट्टाले ? मर्जी उनकै । तर, आफ्नै अहम्का कारणले कम्युनिस्ट नामधारी पार्टीलाई जनताले सुम्पिएको मुलुक निर्माणको अभूतपूर्व अवसरबाट चुके भने समग्र राष्ट्रकै निम्ति दुःखद हुनेछ ।

(उपाध्याय चीनस्थित शान्तोङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा विद्यावारिधि गर्दैछन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment