Comments Add Comment

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित

७ असोज, पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा उम्मेद्वार बनेका अधिकारी कांग्रेसको समर्थनमा उम्मेद्वार बनेका रबिन्द्रबहादुर प्रजूलाई ७ मतको झिनो अन्तरले पराजित गर्दै बिजयी भएका हुन् ।

अधिकारीले १ हजार ४ सय ७८ मत प्राप्त गरे भने पराजित प्रजूले १ हजार ४ सय ७१ मत प्राप्त गरे । पराजित प्रजू पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसमेत हुन् । लोकतान्त्रिक पक्षधरको बाहुल्यता रहेको संघमा प्रजू पराजित हुँदा कांग्रेसलाई नराम्रो झट्का लागेको छ । उद्योगी, व्यवसायीको चुनाव भएपनि कांग्रेस र नेकपाले प्रतिष्ठाको बिषय बनाएका थिए ।

अध्यक्षबाहेक अन्य सबै पदाधिकारी भने प्रजू प्यानलका बिजयी भएका छन् । त्यस्तै खुल्ला १० सदस्यमा प्रजू प्यानलका ७ र अधिकारी प्यानलका ३ सदस्य बिजयी भए भने वस्तुगतमा अधिकारी प्यानलका ३ र प्रजू प्यानलका १ जना बिजयी भए । यसैगरी कर्पोरेट २ सदस्य र उद्योगतर्फको एक सदस्य प्रजू प्यानलका बिजयी भए ।

संघको बरिष्ठ उपाध्यक्षमा प्रजू प्यानलका नारायण कोइराला १ हजार ७ सय १५ ल्याउँदै विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी यदुनाथ अधिकारीले १ हजार २ सय ३५ मत प्राप्त गरे । उद्योगतर्फको उपाध्यक्षमा बिन्दु कोइराला सुवेदी १ हजार ७ सय ११ ल्याउदै विजयी भइन् भने उनका प्रतिस्पर्धी प्रतिद्वन्द्वी गीता तिवारी गौतमले १ हजार २ सय ३८ मत प्राप्त गरिन् ।

वाणिज्यतर्फको उपाध्यक्षमा प्रजू प्यानलकै पवन प्रजापति १ हजार ८ सय ३९ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी यमनाथ पौडेलले १ हजार १ सय ५ मत प्राप्त गरे ।

महासचिवमा अर्जुन पोखरेल १ हजार ७ सय २ ल्याउँदै बिजयी भए भने उनका प्रतिस्पर्धी किसान सुनारले १ हजार २ सय ४८ मत प्राप्त गरे । कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे १ हजार ५ सय २ ल्याएर बिजयी भए भने उनका प्रतिस्पर्धी प्रेमबहादुर भुजेलले १ हजार ४ सय ४५ मत प्राप्त गरे ।

उपमहासचिवमा चिनु गुरुङ १ हजार ५ सय ६१ म्ात ल्याउँदै बिजयी भए भने उनका प्रतिस्पर्धी सीता बरालले १ हजार ३ सय ८८ मत प्राप्त गरे ।

दश खुल्ला सदस्यमा अध्यक्षमा निर्वाचित अधिकारी प्यानलका नगेन्द्र सुवेदी, रुद्र लुइटेल र सोवित पौडेल बिजयी भए भने प्रजू प्यानलका बलराम आचार्य, केशबबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिबल्लभ त्रिपाठी, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी बिजयी भए ।

त्यस्तै, वस्तुगततर्फ ४ सदस्यमा अधिकारी प्यानलका चिन्तामणि बास्तोला, तारानाथ ढुंगाना र श्रीप्रसाद घले तथा प्रजू प्यानलका हरिराज पन्त बिजयी भए ।

कर्पोरेट २ सदस्यमा प्रजू प्यानलका हर्कबहादुर अधिकारी र हरिहर सापकोटा बिजयी भए भने उद्योगतर्फको एक सदस्यमा प्रजू प्यानलकै सुरेशबहादुर श्रेष्ठ बिजयी भए ।

३ हजार ३ सय ७७ मतदाता रहेको पोखरा उद्योग वाणिज्य संघमा शनिबार भएको मतदानमा २ हजार ९ सय ८६ अर्थात ८८.५ प्रतिशत मत खसेको थियो ।

असन्तुष्ट समूहद्वारा सपथ बहिस्कार

यसैबीच, नवनिर्वाचित अध्यक्ष अधिकारीले शनिबार राति नै सफत लिएका छन् भने निर्वाचित सदस्यलाई सपथ गराएका छन् । तर प्रजू प्यानलबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले भने सपथ लिएनन् ।

अध्यक्ष पदमा झरेको मतमा ३७ मत गायब भएको भन्दै उनीहरुले सपथ बहिस्कार गरेका हुन् । तर निर्वाचन समितिले भने अध्यक्षमा कसैलाई पनि मत नदिएका कारण ३७ मत नदेखिएको स्पष्ट पारेको छ ।

सपथपछि बोल्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले असन्तुष्ट पक्ष सबैलाई मिलाएर अघि बढ्ने बताए । उनले भने, ‘हिजो चुनाव लड्दा फरक-फरक समूह बनाएर चुनावमा गइयो, तर अब जितेपछि म सबैको भएको छु, त्यसैले पूर्वाग्रह नराखी सबैलाई समेटेर अघि बढ्छु ।’

उनले आफूसँग पराजित रबिन्द्रबहादुर प्रजूलाई पराजित हुँदैमा सानो मन नबनाउन आग्रह गरे । प्रजूले पाएको मतको सम्मान गर्दै उनीसँग हातेमालो गरेर काम गर्ने बताए । अध्यक्ष अधिकारीले चुनावमा उठाएका एजेण्डा अब संघको भएको बताउँदै त्यसलाई ब्यवस्थित गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment