Comments Add Comment

कविताः सन्देह

यी बादलका अनेक चित्रहरूले

कोरेका सुन्दर कोलाजमाथि सन्देह गर

पानीका सुन्दर तालमा देखिने

विविध रङको अस्तित्व

र बादलका टुक्राझैँ

तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर।

अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार

कविका फूलबुट्टे सुकिला कविता

मनको एक कुनालाई धक्का दिने बुद्धिजीवीको विचार

र, देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधनमाथि सन्देह गर।

तिम्रा सम्मानित गुरूले

मिठो भाषामा सुनाएका कथा

महान् इतिहासकारले लेखेको इतिहास

र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर।

पग्लँदै गएको हिउँजस्तो

युधिष्ठिरको सत्यनिष्ठा

र, अछुतो आकाशजस्तो

अर्जुनको वीरतामाथि सन्देह गर

देवव्रतको भीष्म प्रतिज्ञा

दुर्योधनको दुष्टता

अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर।

सुकरात, माक्र्स र गान्धी

डार्विन, फ्रायड र आइन्सटाइन हुन् केवल तिम्रा सहयात्री

पवित्र बाइबल, रामायण, महाभारत

धम्मोपदेश, त्रिपिटक

र, कुरान नै होइनन् अन्तिम सत्य

न ब्रह्मा सत्य हो, न मिथ्या हो जगत

विष्णु, महेश्वर, श्रीराम

क्राइस्ट, कविर, मोहम्मद

र सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर।

आँगनजस्तो एकत्र संसारमा

छैन कोही सन्देहको घेराबाहिर

सन्देहको ईश्वर रच्ने

मेरो यही कवितामाथि पनि सन्देह गर।

म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि

जसरी माटोले हरेक पटक गर्छ

आफ्नै गर्भमा रोपिएको सत्वीजको परीक्षा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment