Comments Add Comment

एसिया कपः भारतविरुद्ध पाकिस्तान कति बलियो ?

७ असोज, काठमाडौं । एसिया कपको सुपर फोर अन्तर्गत आज चिर-प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । यो खेल जित्ने टिमको फाइनल यात्रा लगभग सुनिश्चित बन्नेछ ।

समूह चरणको खेलमा भारतले पाकिस्तानमाथि ८ विकेटको जित हासिल गरेको थियो । आजको खेलमा पनि भारतलाई फेबरेट मानिएको छ । तर, अघिल्लो वर्षको च्याम्पियन्स ट्रफीको फाइनल सम्झिने हो भने पाकिस्तानलाई कमजोर आँकिहाल्न मिल्दैन । उक्त खेलमा पाकिस्तानले भारतलाई १ सय ८० रनले हराएको थियो ।

एसिया कपको अहिलेसम्मको खेलहरु हेर्दा पीचले स्पिनरलाई बढी सहयोग गरिरहेको देखिन्छ । भारतसित कुलदिप यादव, रवीन्द्र जडेजा, यजुभेन्द्र चहलजस्ता स्पिनरहरु छन् । केदार जादभको पार्टटाइम स्पिनले पनि भारतलाई थप टेवा दिइरहेको छ । जबकी पाकिस्तान युवा स्पिनर सदाब खानमा निर्भर छ, जसले यो प्रतियोगितामा गतिलो प्रभाव छोड्न सकेका छैनन् ।

दुवै टिममा केही राम्रा ब्याट्सम्यानहरु छन् । विराट कोहलीको अभावमा पनि भारतीय ब्याटिङ बलियो नै देखिन्छ । रोहित शर्मा र शिखर धवनको प्रारम्भिक जोडी टिमको प्रमुख हतियार हो । मध्यक्रममा महेन्द्र सिंह धोनी छन् । पाकिस्तानको पनि ओपनिङ जोडी राम्रो छ । फकार जमान र इमाम उल हकले पाकिस्तानलाई राम्रो सुरुवात दिन सक्छन् । यसैगरी मध्यक्रममा शोयब मल्लिक र कप्तान सरफराज अहमदजस्ता अनुभवी ब्याट्सम्यानहरु छन् ।

भारत र पाकिस्तान दुवैले सुपर फोरको पहिलो खेल जितिसकेका छन् । भारतले बंगलादेविरुद्ध सहज जित हासिल गरेको थियो भने पाकिस्तानले अफगानिस्तानमाथि कठिन जित दर्ता गरेको थियो । तेस्रो खेल भारतले अफगानिस्तानविरुद्ध र पाकिस्तानले बंगलादेशविरुद्ध खेल्नेछन् । आजको अर्को खेल बंगलादेश र अफगानिस्तानविरुद्ध हुँदैछ । समूह चरणमा बंगलादेशले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको थियो ।

आजको खेलको परिणाम जे आए पनि फाइनलमा भारत र पाकिस्तान नै पुन भिड्ने सम्भावना जिवित नै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment