Comments Add Comment

के हुँदैछ निर्मला हत्या प्रकरणमा ? प्रहरीको पोलिग्राफ परीक्षणदेखि सेनामाथि अनुसन्धानसम्म

७ असोज, कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान गर्न गठित समितिले निलम्बित सबै प्रहरीको पोलिग्राफ परीक्षण गर्ने तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको टोलीले निलम्बित प्रहरी अधिकारीहरु एसपी डिल्लीराज विष्ट, डिएसपी अंकुर जिसी, ज्ञानबहादुर सेठी लगायत पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको हो ।

समितिका एक सदस्यका अनुसार घटनास्थलमा निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी साउदको पोलिग्राफ परीक्षण भइसकेको छ । यद्यपि, त्यसको रिजल्ट आउन बाँकी छ ।

यसअघि भदौ अन्तिम साता एसपी विष्ट, उनका छोरा किरण, मेयरका भतिजा आयुषको पनि डीएनए परीक्षण गरिएको थियो ।

होटलको सीसी टिभी फुटेज ‘रिस्टोर’ गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले स्थानीय ओपेरा होटलको सीसी टीभी फुटेज ‘रिस्टोर’ गर्नलाई केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।

स्थानीयले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्रका भतिज र एसपीका छोरा किरणमाथि निर्मला पन्त बलात्कार प्रकरणमा आशंका व्यक्त गरेपछि ओपेरा होटलको फुटेज रिकभर गर्न लागेको हो ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतका अनुसार घटना भएको दिन किरण त्यहाँ बसेको जानकारी आएपछि फुटेज रिकभर गर्न लागिएको हो ।

‘हामीले फुटेज रिकभर गर्नका लागि काठमाडौं पठाइसकेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘रिजल्ट आइसकेको छैन ।’
प्रहरीले त्यस होटलसहित आसपास रहेका अन्य सीसी टिभीहरुको हाड डिस्क पनि रिकभर गर्न पठाएको जनाइएको छ । होटलको सीसी टिभी

१५ दिनमा अटो डिलिट हुने सिष्टममा रहेको प्रहरीको भनाइ छ ।

प्रहरीको मोबाइल अध्ययनपछि फिर्ता

समितिले अनुसन्धानमा संलग्न १९ जना प्रहरी अधिकारीहरुको सीम कार्ड जफत गरेको थियो । जसको अध्ययनपछि शुक्रबार साँझ फिर्ता गरिएको छ ।

घटनामा प्रहरीले गैरजिम्मेवारपूर्ण गतिविधि गर्नु पछाडिको अनुसन्धान गरिरहेको टोलीले उनीहरुको मोबाइल अध्ययन गरेपछि फिर्ता गरेको हो ।

समितिका संयोजक बस्न्यात अनुसन्धान भइरहेको बताउँदै चाँडै निष्कर्षमा पुगिने बताउँछन् ।

सेनामाथि अनुसन्धान जारी

कञ्चनपुर प्रहरीका एक अधिकारीले निर्मलाको ‘स्पाइनल कर्ड’ भाँच्चिएर ज्यान गएको बताउँदै घटनामा ‘प्रोफेसनल’ व्यक्ति संलग्न भएको हुनसक्ने आशंका व्यक्त गरे ।

सोही आशंका निर्मलाको हत्या भएको दिन घटनास्थल नजिकै रहेको सेनाको ब्यारेकबाट निस्किएका अधिकारीहरुमाथि पनि छानबिन भइरहेको छ ।

त्यसदिन ब्यारेकबाट निस्किएका अधिकारीहरुको कल डिटेल रेकर्ड (सीडीआर) हेर्ने काम भइरहेको ती अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment