Comments Add Comment

सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगिसक्यो : गभर्नर

७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मुलुकमा ७ सय ५३ नै स्थानीय तहमा बैंकिङ पहुँच पुगिसकेको बताएका छन् ।

आइतबार दोस्रो थोक मूल्य सूचक अध्ययन प्रतिवेदन तथा लघुवित्त सेवा सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै गभर्नर डा. नेपालले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगिसकेको बताएका छन् ।

संघीय संरचना पछि निर्माण भएका मुलुकका स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेको भनिदै आए पनि त्यो गलत भएको गभर्नर नेपालले बताए । उनले औसतमा एक स्थानीय तह बराबर ३ बैंक तथा वित्तीय संस्थाको उपस्थिति रहेको समेत बताए ।

‘हाम्रो योजना भनेको सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने, ९७ स्थानीय तहमा अझै वाणिज्य बैंक पुगेका छैनन्’ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले भने, ‘ती स्थानीय तहमा वाणिज्य बैंकमात्रै नपुगेका हुन अन्य बैंक तथा वित्तीय संस्थाको भने उपस्थिति पुगिसकेको छ ।’

वाणिज्य बैंक नपुगेकै आधारमा बैंकिङ पहुँच पुगेन भन्न नमिल्ने गभर्नरको धारणा थियो । गभर्नर नेपालले सबै स्थानीय तहमा वाणिज्य बैंकको समेत उपस्थिति पुर्‍याउने सरकारी योजना भएको र उक्त योजना चाडै पुरा हुने दावीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment