Comments Add Comment

एउटा मन्त्रालयले अर्कोलाई ठोक्ने प्रवृत्ति देखियो : स्वास्थ्य राज्यमन्त्री यादव

७ असोज, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले मन्त्रालयहरुबीच प्रभावकारी समन्वय नहुँदा पनि स्वास्थ्य क्षेत्रका कतिपय समस्या समाधान हुन नसकेको बताएका छन् ।

आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले एउटा मन्त्रालयले अर्को मन्त्रालयलाई ठोक्ने जस्तो प्रवृत्ति देखिएको बताए ।

‘कुनै एक अस्पताललाई भारतीय राजदुतावासले ४० वटा भेन्टिलेटर, ४० वटा आईसीयू दिएको थियो । स्वास्थ्य मन्त्रालयले त्यसलाई फरवार्ड गरिदियो । तर अर्थ मन्त्रालयले रोकिदियो’ उनले भने, ‘यो बुझ्न सकिँदैन कि अर्थ मन्त्रालयको के इन्ट्रेस्ट छ ।’

स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन समेत हुन नसकेको राज्यमन्त्री यादवको स्विकारोक्ति छ । ‘आर्मीले अस्पताल खोलेको छ । उसैले अनुगमन गरिरहेको छ । पुलिसले अस्पताल खोल्यो पुलिसले नै अनुगमन गर्छ । समस्या यहाँनेर छ ।’

डा. केसीको आन्दोलनले पनि समस्या !

राज्यमन्त्री यादवले डा. गोविन्द केसीको आन्दोलनले स्वास्थ्य क्षेत्रमा केही समस्या निम्त्याएको आरोप लगाएका छन् । चिकित्सा शिक्षा सुधारको माग राखेर पटक पटक अनसन बसेका डा. केसीको मागमा सरकारले जनाएको सहमतिका कारण बेलाबेलामा समस्या पर्ने गरेको उनको भनाइ छ ।

‘अस्पतालमा प्यासेन्ट छैन । शिक्षाले (मेडिकल कलेजमा) सिट छुट्ट्याउँछ । अर्कोले भन्छ तपाईं स्वास्थ्य मन्त्रालयबाट बिना अनुमति किन आएको ?’, आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री यादवले भने, ‘त्यसकारण समस्याहरु छन् । गोविन्द केसीको आन्दोलनमार्फत जन्मेका समस्या हुन् ।’

राज्यमन्त्री यादवले सरकारी अस्पतालहरुलाई पनि मापदण्डभित्र ल्याउनुपर्ने आवश्यकता औल्याएका छन् । ‘१५ बेडको अस्पताल खोल्दा कति कर्मचारी हुनुपर्ने, के कस्ता सुविधा र पुर्वाधार हुनेपर्ने भन्ने मापदण्ड छ’, उनी भन्छन्, तर हाम्रो सरकारी अस्पताल पनि त मापदण्ड अनुसार खोल्नुपर्ने हो । धेरै घृृणित कुराहरु पनि छन् । त्यसमा हामी छलफल गर्छौं ।’

कर्मचारीहरु राजनीतिक रुपमा विभाजित

राज्यमन्त्री यादवले कर्मचारीहरु राजनीतिक आस्थाका आधारमा विभाजित हुँदा पनि काम गर्न समस्या भएको दुखेको गरेका छन् ।

कर्मचारीतन्त्र दलीय आस्था र ट्रेड युनियनका नाममा भातृ संस्थाको चलखेलमा पर्दा काम गर्ने सिस्टम नै विग्रेको उनको भनाइ छ ।

‘काम गर्ने सिष्टम बिग्रेको छ । कर्मचारीहरुको आन्दोलनले पनि समस्या पर्दै आएको छ । अहिले काम गर्ने वातावरण बिग्रेको छ’, राज्यमन्त्री यादवले भने, ‘कर्मचारी कांग्रेसको छ । नेकपाको फोरमको ….ट्रेड युनियन ठीक छ । तर पार्टीको भातृसंस्थाका रुपमा रहँदा काम गर्न गाह्रो भएको हो ।’

डाक्टरकै अभाव !

स्वास्थ्य राज्यमन्त्री यादवले जनसंख्याको अनुपातमा डाक्टरहरुकै अभाव भएको बताए ।

‘मिनिमम एक हजारमा १.९ डाक्टर हुनुपर्ने । तर हामीसँग जम्मा ०.१९ मात्रै छ’, उनले भने, हामीसँग १० टाइम्स कम छ । तर हामीले भनेका छौं २०२० सम्म पूरा गर्छाैं । भनाइको मतलब धेरै ठूलो फड्को मार्नुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment