Comments Add Comment

छापामा आजः संसदको विकास समिति नै ठेकेदारलाई !

८ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नेकपाभित्रको गुटबन्दीदेखि ठेकेदारले संसदको विकास समिति नै कब्जा गरेको सम्मका खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

बूढीगण्डकी पुनः गेजुवालाई दिइएको, राष्ट्रकविले सय वर्षको जन्मदिन मनाएको र गाडी भाडाको वृद्धिलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ पहिलो पृष्ठमा समेटेका छन् ।

संसदको विकास समिति नै ठेकेदारलाई

कान्तिपुर दैनिकले आज सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन ठेकेदार सांसद् रहेको लेखेको छ ।

समाचार अनुसार, पप्पु कन्ष्ट्रक्सनका हरिनारायण रौनियार, लामा कन्ष्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एण्ड थोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेका छन् । रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद् हुन् भने लामाद्वय कांग्रेसका समानुपातिक सांसद् हुन् ।

यी तिनै सांसदको ठेकेदार कम्पनीले कामको जिम्मा लिने तर समयमा पूरा नगर्ने गरेको समाचारमा उल्लेख छ ।

सुरक्षा माग्दै बालबालिकाले नवलपरासीमा गरेको सम्मेलनलाई कान्तिपुरले एंकर बनाएको छ । गण्डकी प्रदेश र प्रदेश ५ का २३ जिल्लाका बालबालिकाले सुरक्षा माग्दै नवलपरासीमा सम्मेलन गरेका हुन् । सम्मेलनमा सहभागी १ सय २३ बालबालिकाले पछिल्लो समय बढिरहेको बलात्कारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपाभित्रै गुटैगुट

अन्नपूर्णले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको गुटबारे चिरफार गरेको छ । समाचार अनुसार नेकपामा मुख्य सात नेताको गुट छ । जसमध्ये ओलीको गुट मजबुत छ । प्रचण्डको गुटमा भने उपगुट पनि छन् । माधव नेपालको गुटभित्रै फरक समूह सक्रिय छन् भने वामदेव निरन्तर स्थिर गुट हाँकिरहेका छन् ।

अन्नपूर्ण लेख्छ– झलनाथ गुट निर्माणको तयारीमा जुटेका छन् भने नेता नारायणकाजी श्रेष्ठ गुटको रक्षामा लागेका छन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल भने गुटसमेत जोगाउन नसक्ने अवस्थामा पुगेको समाचारमा उल्लेख छ ।

१५ सय कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिनमा

‘बूढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई’ शीर्षक दिएर मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले १५ सय कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिनमा परेको लेखेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय ३९ कर्मचारीमाथि छानबिन गरिरहेको हो ।

समाचार अनुसार निजामती, प्रहरी, संस्थान, शिक्षण संस्था तथा स्थानीय तहमा धेरै कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ ।गत साउन र भदौमा मात्र आयोगले त्यस्ता २१ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकामै कांग्रेसमा अब चारथरी सदस्य रहने अर्को समाचार पनि छ । आगामी महाधिवेशनमा प्रस्तुत गर्न लागिएको विधानको मस्यौदामा साधारण, क्रियाशील, सम्मानित र विशेषगरी चारथरी सदस्य सिफारिस गरिएको हो ।

राजधानी दैनिकले सम्बन्ध विच्छेद माग्नेमा पुरुषको संख्या धेरै रहेको लेखेको छ भने गोरखापत्रमा मुलुकी संहिता चिकित्सकको मागअनुसार संशोधन हुने भएको समाचार छ । नागरिकले भने भाडा वृद्धिलगायत समाचार छापेकाे छ ।

हेर्नुस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment