Comments Add Comment

मालदिभ्समा राष्ट्रपति चुनावः विपक्षी नेता सोलिहले जितेको दाबी

८ असोज, काठमाडौं । मालदिभ्समा विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति पदको चुनाव आफूले जितेको दाबी गरेका छन् । मालदिभ्समा आइतबार राष्ट्रपति पदको चुनाव भएको थियो । निर्वाचनमा सोलिह र वर्तमान राष्ट्रपति अब्दुला यामिन मुख्य प्रतिस्पर्धामा थिए ।

स्थानीय मिडियाका अनुसार सोलिहले बहुमत पाउने संकेत देखिएको छ । मालदिभ्स इनडिपेन्डेट वेबसाइटका अनुसार कुल ४७२ मत पेटिकामध्ये ४३७ मत पेटिकाको मत गणना भइसकेको छ र सोलिह वर्तमान राष्ट्रपति यामिनभन्दा अगाडि छन् ।

यद्यपि चुनाव आयोगले त्यसको पुष्टि गरेको छैन र स्थानीय मिडियाको समाचारमा आयोगले कुनै टिप्पणी पनि गरेको छैन ।

प्रारम्भिक नतिजापछि सोहिलले आफूले १६ प्रतिशत मतअन्तरमा राष्ट्रपति पदको चुनाव जितेको दाबी गरेका छन् । यो आफ्नो लागि खुसीको क्षण भएको प्रतिक्रिया पनि उनले दिएका छन् । उनले अर्का प्रत्यासी यामिनले जनमतलाई स्वीकार गर्नुपर्ने पनि बताएको बीबीसीले लेखेको छ ।

मत गणना सुरु हुनुअघिसम्म यामिनले चुनाव जित्ने अनुमान गरिएको थियो । मतदानको पूर्वसन्ध्यामा सरकार विरोधीलाई जेलमा हाल्ने, सरकार विरोधी दलका कार्यालयमा छापा मार्ने लगायतका काम गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।

त्यसअघि युरोपेली संघ, अमेरिका, अन्तर्राष्ट्रिय पर्यवेक्षक र विपक्षी दलहरुले चुनाव निष्पक्ष हुनेमा आशंका गरेका थिए । अमेरिका र युरोपेली संघले चुनाव लोकतान्त्रिक प्रक्रियाबाट नभए मालदिभ्समा नाकाबन्दी लगाउने चेतावनीसमेत दिएका थिए ।

बीबीसीका अनुसार पछिल्लो समय मालदिभ्समा राजनीतिक गतिरोध सिर्जना भएको थियो । गत फेब्रुअरीमा सर्वोच्च अदालतले पूर्व राष्ट्रपनि मोहम्मद नशीदविरुद्धको मुद्दालाई असंवैधानिक ठहर गर्दै विपक्षीका नौ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो ।

अदालतको यो फैसलालाई सरकारले अस्वीकार गर्दै संसदलाई अनिश्चितकालका लागि स्थगित गरेको थियो । राष्ट्रपति यामिनले देशमा १५ दिनका लागि संकटकाल घोषणा गरे । त्यसक्रममा दुई न्यायाधीशहरु पनि पक्राउ परे । त्यसपछि अदालतले आफ्नो फैसला उल्ट्याएको थियो ।

यामिन चीन समर्थक र सालेह भारत समर्थक नेताको रुपमा चिनिन्छन् । मालदिभ्सलाई पर्यटन र रणनीतिक अवस्थाका लागि एक अहम् देश मानिन्छ । मालदिभ्सको चुनावमा भारत र चीनको चासोको मुख्य कारण पनि यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment