Comments Add Comment

चीन जानुअघि मुख्यमन्त्री गुरुङले भनेः सहयोग माग्दिन, लगानी गर भन्छु

८ असोज, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मंगलबार चीन भ्रमणमा जाने भएका छन् । असोज ९ गतेदेखि १५ गतेसम्मको चीन भ्रमणमा जानुअघि मुख्यमन्त्री गुरुङ पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै भ्रमण प्रदेशको आवश्यकता र विकाससँग जोडिएको बताएका छन् ।

हाइनान प्रान्तको विशेष निमन्त्रणमा जान लागेका मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशको काममा जाँदा, प्रदेशको प्रतिनिधित्व गर्दै भ्रमणमा जाँदा केके विषयमा कुरा गर्ने र भ्रमणामा केके हुन्छ भन्ने जनतालाई जानकारी दिने एउटा परम्परा बसाल्नुपर्छ ।’

मुख्यमन्त्री गुरुङ हाइनान प्रान्तको नेसनल डेको विशेष कार्यक्रममा प्रमुख अतिथि बन्नेछन् । हाइनानका गभर्नरको विशेष निमन्त्रणामा मुख्यमन्त्री गुरुङ चीन जान लागेका हुन् ।

मुख्यमन्त्री गुरुङले भ्रमणका क्रममा प्रदेशले स्थापना गर्न लागेको प्राविधिक महाविद्यालयका विषयमा छलफल हुने जानकारी दिए । ‘प्रदेशमा प्राविधिक महाविद्यालय खोल्ने भनेका छौं । यसमा उनीहरुले इच्छा देखाएका छन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘तर, यसको सम्झौता पोखरामै गर्न भनेका छौं ।’

हाइनानका गभर्नरलाई आउँदो नोभेम्बरमा पोखरा डाक्ने र दुई प्रदेशबीच मितेरी साइनो लगाउनुका साथै हाम्रो प्राथमिकताका क्षेत्रका आयोजनाको सम्झौता गर्ने योजना रहेको मुख्यमन्त्री गुरुङले सुनाए ।

उनले आफू यति सहयोग लेऊ, उति सहयोग लेऊ भन्नुभन्दा पनि प्रदेशले लिएको नीति र लगानीका सम्भावनाका विषयमा भ्रमणका क्रममा जानकारी दिने बताए । ‘हामीलाई यति चाहियो भनेर भन्दैनौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘अनुदान लिँदा पनि हाम्रो आवश्यकता र प्राथमिकताका क्षेत्र हेरेर लिन्छौं ।’

पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणमा पनि चिनियाँ चासो रहेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले यसका विषयमा पनि छलफल गरिने बताए । भ्रमणका क्रममा सौर्य उर्जा र जलविद्युतको विषयमा पनि छलफल हुने मुख्यमन्त्री गुरुङले बताए । ‘गण्डकी प्रदेश सोलार र हाइड्रोमा महत्वपूर्ण ठाउँ हो यस विषयमा पनि छलफल हुनेछ,’ मुख्यमन्त्री गुरुङले भने ।

शिक्षा, स्वास्थ्य, होमस्टे, स्थानीय तह जोड्ने सडक कनेक्टिभिटीका विषयमा पनि छलफल गर्ने मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले विदेश भ्रमणका क्रममा सम्झौता गरेर र्फकने तर कार्यान्वयन नहुने यसअघिको प्रचलन तोड्दै आफूले कार्यान्वयन हुने खालकोमात्रै सम्झौता गर्ने प्रतिवद्धता जनाए ।

‘लगानी गर्न इच्छुकलाई तपाईंहरुका लगानीका क्षेत्र यी हुन् भनेर प्रदेशका प्राथमिकताका विषय राख्छौं,’ मुख्यमन्त्री गुरुङले भने । यहाँको पर्यटन क्षेत्रमा लगानी गर्न उनीहरुको विशेष चासो रहेको बताउँदै मुख्यमन्त्री गुरुङले त्यस्ता क्षेत्रका जानकारी गराउने बताए । मुख्यमन्त्री गुरुङले चीन भ्रमणका क्रममा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीसँग अन्तक्रिर्यासमेत गर्ने छन् ।

‘पर्यटनमा लगानी गर्न चिनियाँहरुले चासो देखाएका छन्, मुख्यमन्त्री गुरुङले भने, ‘निम्तो पठाएका हाइनानका गभर्नरलाई आउँदो नोभेम्बरमा पोखरा डाक्ने र दुई प्रदेशबीच मितेरी साइनो लगाउने योजना पनि छ ।’

मुख्यमन्त्रीसँगै प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, प्रदेश नीति तथा योजना आयोगका गिरिधारी पौडेल, मुख्य सचिव लक्ष्मीराज शर्मा लगायत केही व्यवसायीसमेत भ्रमणमा सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment