Comments Add Comment

कपनमा मेलम्चीको परियोजना बिस्तार गर्ने अर्थमन्त्रीको आश्वासन, सवा दुई अर्ब वजेट थप

८ असोज,काठमाडौं । सरकारले काठमाडौंको कपन क्षेत्रको खानेपानी समस्या समाधानका लागि मेलम्ची खानेपानी परियोजना विस्तार गर्न थप वजेट छुट्याएको छ । अर्थमन्त्रालयले परियोजना बिस्तारका लागि २ अर्ब १६ करोड रुपैयाँ स्वीकृत गरेको हो ।

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसांसद डा.राजन भट्टराईको नेतृत्वमा बुढानिकलण्ठ नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेपछि परियोजना बिस्तारको लागि वजेट स्वीकृत भएको हो ।

गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ४ बाट उम्मेदवार बनेका भट्टराईले आफूले चुनाव हारेपनि कपनका जनतालाई मेलम्चीको पानी खुवाउने भनेर प्रतिबद्धता जनाए बमोजिम परिायेजना बिस्तारको लागि पहल गरेको बताए । सो परियोजना बिस्तारपछि बुनपा वडा नम्बर ८ देखि १३ सम्म मेलम्चीको पानी वितरण गर्न सकिने १० नम्बर वडाका अध्यक्ष नवराज भट्टराईले बताए ।

तत्कालीन व्यवस्थापका संसदका सांसद भट्टराईकै पहलमा परियोजना सर्वे गरि अनुमानित लागत तयार पारिएकाले अहिले वजेट बिनियोजन गराउन सहज भएको नगरपालिकाका मेयर उद्धब खरेलले बताए । परियोजनामा कतैबाट अवरोध नभए अब चाँडै टेण्डर आह्वान हुने र ३ वर्षभित्रमा कपनबासीको घरमा खानेपानी पुग्ने उनले बताए ।

मेलम्ची परिाियेजना सुरु गर्दा चक्रपथभित्रका नगरवासीलाई मात्र लक्षित गरिएको थियो । तर कपन काठमाडौंकै ठूलो जनघनत्व भएको क्षेत्र भएको र मेलम्ची परियोजनाको पाइपलाइन यहिक्षेत्रबाट जाने भएकाले जनतालाई पानी खुवाउन आफूले सरकारलाई दबाब दिएको डा.भट्टराईले स्वीकार गरे ।

उनले भने-म हिजो सांसद हुँदा पनि र आज नहुँदा पनि कपनको खानेपानी समस्या समाधान गर्ने दायित्व लिएको थिएँ । मेलम्चीको पाइपले कपनका सडक भत्काउने तर यहाँका जनताले पानी खाउन नपाउने कुरा अन्यायपूर्ण हो भनेर मैले अर्थमन्त्रीलाई निकै आग्रह गरेपछि परियोजना बिस्तारका लागि वजेट छुट्याइएको छ ।

करिव २ अर्व ५० करोडको लागतमा सो क्षेत्रमा खानेपानी लाइनको विस्तार हुनेछ । अर्थमन्त्रीसँगको भेटमा प्रदेश सभा सदस्य कुसुम कुमार कार्की, बुढानिलकण्ठ नगरपालिका मेयर उद्दव प्रसाद खरेल, उपप्रमुख रमा राईलगायत वडाध्यक्ष र राजनीतिक दलका नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment