Comments Add Comment

प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

८ असोज, काठमाडौँ  । सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ ।

राष्ट्रिय युवा परिषद् ऐन संशोधन गरेर नै सरकार ती दुई परिषद्का लागि तयारीमा लागेको हो । परिषद् ऐनमा नै प्रदेश र स्थानीय तहमा युवा परिषद् गठन गर्ने प्रस्तावसँगै गठनका लागि आवश्यक कानूनसमेत बनाउन थालिएको युवा परिषद्का सूचना अधिकारी ध्रुवराज पौड्यालले जानकारी दिए ।

जिल्लास्तरमा रहेको युवा समिति खारेज गर्दै प्रदेश र स्थानीय तहको मागबमोजिम नै परिषद्ले प्रदेश र स्थानीय युवा परिषद् गठन गर्न लागेको हो । प्रदेशमा ‘प्रदेश युवा परिषद् र स्थानीय तहमा ‘नगर/गाउँपालिका युवा परिषद्’ नाम रहने छ ।

प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाउनका लागि परिषद्का सदस्य भावना भट्टको संयोजकत्वमा सात सदस्यीय मस्यौद समिति गठन गरिएको छ । उक्त समितिले प्रदेश युवा परिषद्को नमूना ऐन बनाएर सात वटै प्रदेशमा पठाउने परिषद्का सचिव पौड्यालले बताए । ‘प्रदेश सरकारले प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाएर पठाउनु भनेर माग गरेका छन्’, उनले भने, ‘राष्ट्रिय युवा परिषद्कै संरचनामा जस्तै प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाएर हामी पठाउछौँ ।’

पूर्वयुवा तथा खेलकूद सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा गठित परिषद्को सङ्गठन संरचना सर्वेक्षणमा समेत प्रदेश र स्थानीय युवा परिषद् गठन गर्नुपर्ने सुझाव दिइएको थियो ।

प्रदेशस्तरमा सामाजिक विकास मन्त्रालयअन्तर्गत र स्थानीय तहमा नगरपालिका, गाउँपालिकाअन्तर्गत प्रदेश रहने छन् । प्रदेश युवा परिषद्मा सामाजिक विकासमन्त्री अध्यक्ष तथा स्थानीय तहको युवा परिषद् नगरपालिकाका प्रमुख÷गाउँपालिकाका अध्यक्ष उक्त परिषद्को अध्यक्ष हुने व्यवस्था गरिएको छ ।

प्रदेशमा केन्द्रमा जस्तै कार्यकारी उपाध्यक्ष वा उपाध्यक्ष वा सदस्य सचिव के राख्ने भन्नेमा अझै टुङगिएको छैन । यस्तै स्थानीय तहमा परिषद्का अध्यक्षले कार्यकारी समिति गठन गरेर काम गर्न सक्नेछन् । सरकारले २०७२ फागुनमा केन्द्रमा युवाको विकासको लक्ष्य राखेर युवा परिषद् गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment