Comments Add Comment

अब सबै विद्यालयमा प्राविधिक शिक्षा : उपप्रधानमन्त्री पोखरेल

८ असोज, हेटौंडा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकरा सबै विद्यालयमा व्यवसायिक र प्राविधिक शिक्षा लागू गर्ने तयारीमा रहेको बताएका छन् ।

मकवानपुर भीमफेदी गाउँपालिकामा रहेको देशकै पुरानो विद्यालय महेन्द्र माविको हिरक महोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै उनले हाल पढाइ भइरहेको शिक्षाले रोजगारीको सम्भावना नदेखिएकाले प्राविधिक शिक्षामा जोड दिएको बताएका हुन् ।

उनले भने ‘सरकारले ७० प्रतिशत व्यवसायिक र ३० प्रतिशत मात्र व्यवहारिक शिक्षा अध्यापन गर्ने नीतिमा छ ।’ उनले शिक्षाको क्षेत्रमा भएका परम्परागत विधिलाई बदल्दै देशमै रोजगारी सिर्जना गर्ने बताए ।

राज्य सञ्चालनको पुराना विधि, नीति तथा अभ्यासका अड्चनलाई नबदली देशमा परिवर्तन सम्भव नभएको भन्दै उपप्रधानमन्त्री पोखरेलले सरकारको ७ महिनामा यस्तै नीतिमा नमिलेका कुरालाई परिवर्तन गरी विकास र समृद्धिको मार्गमा अघि बढेको बताए ।

देशमा राजनीतिक अस्थिरताको अवस्था समाप्त भएको र अहिले तीन तहमा पाँचवर्षको लागि स्थायी सरकार रहेको बताउँदै उनले आर्थिक समृद्धिको अभियानमा सबै पार्टीहरुले साझा धारणा बनाउन आग्रह गरे । देशको समृद्धि कम्युनिष्टको मात्र एजेण्डा नभई सबैको एजेण्डा भएकोले सबै पार्टीहरुलाई साझा धारणा बनाएर सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्र सरकारले लिएको नीतिअनुसार प्रदेश सरकार पनि सबै स्थानीय तहमा प्राविधिक र व्यवसायिक शिक्षा सञ्चालन गर्ने पक्षमा रहेको बताए । प्रदेश सरकारले त्यही अनुसार १ सय १९ वटै स्थानीय तहमा प्रविधिक शिक्षाका लागि काम अघि बढाएको जानकारी दिए ।

२०७२ सालको भूकम्पले विद्यालय भवन ध्वस्त भएपछि जापानी सहयोग नियोग (जाइका) को सहयोगमा ३ करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण भएको ३ वटा सुविधा सम्पन्न विद्यालय भवनको उद्घाटन गरिएको हो ।

एक विघा ७ कठ्ठा ५ धुर जमिनमा निर्माण भएको विद्यालयमा यसै शैक्षिक सत्रबाट प्राविधिक शिक्षाको अध्ययन सुरु गरिएको छ । प्राविधिक शिक्षालाई निरन्तरता दिनका लागि विद्यालयले असोज १ बाट सञ्चालन गरेको महायज्ञमा ४० लाख रुपैयाँ संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम लामाले जानकारी दिए । विद्यालयमा ५ सय ७५ विद्यार्थी अध्यनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment