Comments Add Comment

छापामा आजः आफ्नै प्रतिबद्धताबाट किन पछि हट्दैछ सरकार ?

९ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषय परेका छन् । खासगरी एसिड आक्रमणमा घाइते सम्झनाकुमारी दासको मृत्यु भएको, पाँच हजार मेगावाटको पञ्चेश्वरको २३ वर्षसम्म डीपीआरसमेत नबनेको, निर्णय गर्ने तर कार्यान्वयन नगर्ने रोगले सरकार ग्रसित भएकोलगायत विषयलाई आजका पत्रपत्रिकाहरुले मुख्य समाचारको रुप दिएर छापेका छन् ।

त्यसैगरी, प्रहरीलाई कामदार बनाउनेको पेन्सन काटिने भएको, चिनीको मूल्य मनपरी निर्धारण गरिएको, २० वर्ष पुराना गाडी चल्न नदिने निर्णय उल्ट्याउने मुडमा सरकार पुगेको, सरकारले दुई महिनामा २ प्रतिशत मात्रै पुँजीगत खर्च गरेकोलगायतका समाचारलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा समेटेका छन् ।

‘सम्झना अब सम्झनामा’ शीर्षक दिएर एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासबारे समाचार लेखेको अन्नपूर्णले सरकारको कार्यशैलीबारे विश्लेषण गरेको छ । सरकारले वेथिति निमूलका लागि शुरुमा प्रतिबद्धता जनाउने तर पछि झुक्ने गरेको समाचारको सार छ ।

अन्नपूर्ण लेख्छ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव फरक छ । कडा बोल्छन् । प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । तर उनैले नेतृत्व गरेको शक्तिशाली सरकार निजी क्षेत्रसामू एकपछि अर्को झुक्दै गएको छ । सर्वसाधारणको हितमा सरकार कडा रुपमा देखिन्छ । निजी क्षेत्र सडकमा उत्रिन्छ । सरकार केही दिन अडिन्छ । अन्ततः लुत्रुक्क पर्छ ।’

कान्तिपुरले पनि एसिड आक्रमणमा परी घाइते सम्झना दासको उपचारको क्रममा भएको मृत्युलाई नै मुख्य समाचार बनाएको छ । गत भदौ २६ गते राति सम्झना र उनकी बहिनी सुस्मितामाथि सुतिरहेका बेला एसिड प्रहार भएको थियो । उपचारका क्रममा सम्झनाको सोमबार मृत्यु भएको हो । उनकी बहिनीको भने उपचार भइरहेको छ ।

कान्तिपुरमै चालु आर्थिक वर्षको दुई महिनामा सरकारले ६ अर्ब ८५ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च गरेको समाचार पनि छ । यो रकम गत वर्ष अन्तिमको एक दिन खर्च गरेभन्दा ४ गुणाले कम हो ।

गत असार ३१ गते सरकारले २७ अर्ब ६२ करोड ६५ लाख २४ हजार रुपैयाँ खर्च गरेको थियो । कान्तिपुर लेख्छ– हालसम्मको खर्चले आर्थिक वर्षको सुरुवाती महिनामा विकास निर्माण खर्च नै गर्न नसक्ने र अन्तिम महिनामा अत्यधिक खर्च गर्ने प्रवृत्तिलाई उजागर गरेको छ ।’

२३ वर्षअघिको महाकाली सन्धिअन्तर्गत बन्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको संयुक्त विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अझै बन्न नसकेकोलाई नयाँ पत्रिकाले आज मुख्य समाचार बनाएको छ । भारतको प्रधानमन्त्रीमा निर्वाचित भएको तेस्रो महिना नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा पनि एक वर्षभित्र परियोजना शुरु गर्ने भनिएको थियो तर साढे चार वर्षसम्म डीपीआरसमेत बनेको छैन ।

नयाँ पत्रिकामै तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काटिने भएको समाचार पनि छ ।

गृह मन्त्रालयले प्रहरी अधिकारीको पेन्सन कट्टा गर्ने तयारी थालेको समाचारमा उल्लेख छ । कानूनविपरीत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकृतको पेन्सन कट्टा गर्ने तयारी भएको गृह मन्त्रालयका सहप्रवक्ता एकदेव अधिकारीले नयाँ पत्रिकासँग बताएका छन् ।

त्रिविमा रिटोटलिङको नतिजा आउनसमेत दुई वर्ष लागेकोलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा समेटेको छ ।

स्थानीय तहको अवैध निकासी करबारे मुख्य समाचार लेखेको नागरिकले अस्पताल तथा रिसर्च सेन्टरको वेथिति तथा अरिङ्गालको परिकारबारे खबर लेखेको छ ।

राधजानीले चिनीमा मनपरी मूल्य निर्धारण गरिएको लेखेको छ भने गोरखापत्रमा राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन गरिएकोलगायत खबर छन् ।

र, यो पनि– भाकल पूरा गर्न १६ पाथी सिक्का

भाकल पूरा गर्न एक व्यक्तिले मन्दिरमा १६ पाथी सिक्का चढाएको रोचक खबरलाई कान्तिपुरले भित्री पृष्ठमा प्रकाशित गरेको छ ।

समाचार अनुसार अमेरिकामा रहेकी अनु श्रेष्ठले १ लाख ४ हजार रुपैयाँका सिक्का चढाउन गरेको भाकल अनुसार उनीहरुका परिवारका सदस्यहरुले पाथीभरा मन्दिरमा उक्त सिक्का चढाएका हुन् । अनुका दाजु ईश्वरकुमार माली (नन्दु) ले अमेरिकामा पढ्दै गरेकी बहिनीले पहिल्यै भाकल गरेको र पूरा गर्न यत्तिको सिक्का चढाइदिन अनुरोध गरेपछि चढाएको बताए ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment