Comments Add Comment

किन गरिन्छ श्राद्ध ? किन गरिँदैन शुभकर्म ?

९ असोज, काठमाडौं । सोमबारबाट सोह्र श्राद्ध सुरु भएको छ । सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ । यस अवधिभर पूर्वजहरुको शान्ति र उनीहरुको तृप्तिका लागि पूजापाठ गरिन्छ ।

‘पितृहरुको सम्झनामा श्रद्धापूर्वक तर्पण, पिण्ड र दान गर्ने लगायतका काम गरिने भएकाले त्यसलाई ‘श्राद्ध’ भनिएको हो,’ धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले भने, ‘यसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ ।’

जुन व्यक्तिको जुन तिथिमा मृत्यु भयो, त्यही तिथिमा श्राद्ध गरिन्छ ।

श्राद्ध किन गर्ने ?

हिन्दु धर्मको मान्यताअनुसार पितृ दोषका कारण व्यक्तिहरुलाई कयौं बाधा र कठिनाइहरु आइपर्छन् । त्यसैले पितृपक्षमा मानिसहरुले आफ्नो कर्मलाई सुधार्ने र कुलको रक्षाका लागि पूर्वजहरुको प्रार्थना गर्ने गर्दछन् ।

असोज महिना पितृहरुको पर्व नै मानिन्छ । पूजापाठ, दान, तर्पण, संकल्प आदिबाट खुसी भएर उनीहरुले हामीलाई आशिर्वाद दिन्छन् भन्ने धार्मिक मान्यता छ ।

श्राद्धको पितृहरुसँग निकै घनिष्ठ सम्बन्ध हुन्छ । पितृहरुसम्म आहार पुर्‍याउने र आफ्नो श्रद्धा व्यक्त गर्ने एकमात्र विधि श्राद्ध रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । ‘श्राद्धमा गरिने तर्पण, पिण्ड दान, संकल्प आदि भावात्मक रुपमा पितृ लोकमा पुग्छ भन्ने धार्मिक विश्वास छ,’ डा. शास्त्रीले भने ।

श्राद्धको महत्वबारे कयौं प्राचीन ग्रन्थ तथा पुराणहरुमा पनि वर्णन गरिएको छ ।

किन गरिँदैन शुभ काम ?

पितृपक्षको अवधिमा शुभ कार्य गर्न नहुने धार्मिक विश्वास छ । गृह प्रवेश, बिहे, व्रतवन्ध लगायतका काम सोह्र श्राद्धको अवधिभर गरिँदैन । किनभने यो समय भनेको दिवंगत पुर्वजहरुको सम्झना गर्ने र पितृ ऋण मोचन गर्ने समय हो । त्यसैले बिहे, व्रतवन्ध, गृह प्रवेश जस्ता, हर्ष उल्लासका काम गरिँदैन ।

श्राद्ध गर्ने दिन घरमा कुनै पनि नयाँ कुराको किनमेल पनि गर्न नहुने बताइन्छ । पितृको ऋणमा डुबेको व्यक्तिले कसरी अरु कुनै वस्तु किन्न सक्छ भन्ने मान्यता हिन्दु समाजमा छ । त्यसैले धेरै व्यक्तिहरुले पितृपक्षमा नयाँ वस्तु किन्नु अशुभ हुने बताउँछन् ।

कतिपयले भने यस्तो अवस्थामा नयाँ वस्तुहरु खरिद गर्दा पितृ दुःखी हुँदैनन् बरु पितृ धर्तीमा आएको शुभ अवसरमा किनमेल गर्दा पूर्वजहरुले झन् आशिर्वाद दिन्छन् भन्ने मान्यता पनि राख्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment