Comments Add Comment

६७ वर्षको इतिहास बोकेको सदाबहार टिम

९ असोज, काठमाडौं । २००७ सालको राजनीतिक परिवर्तनसँगै जन्मिएको क्लब हो संकटा । नेपाली फुटबलमा छुट्टै पहिचान छ ।

काठमाडौंको टेवहालका फुटबलप्रेमी युवाहरुको सक्रियतामा २००७ मा बालसखा क्लबको जन्म भएको थियो । यसअघि टेवहालका युवा न्युरोड टिम (एनआरटी) सँग मिलेर खेल्दै आएका थिए ।

तर, दरबार निकटहरुको बाहुल्य रहेको एनआरटीले टेवहालका राम्रा खेलाडीलाई नै खेल्नबाट बन्चित गराएपछि छुटि्टएर शंकटा बनाएका थिए । क्लबका कोषाध्यक्ष जुजुकाजी डंगोलका अनुसार २००८ मा टोल संघका सभापति सूयनारायण मालीले बालसखाको नाम फेरेर संकटा ब्वाइज स्पोर्टस् क्लब राखेका हुन् । बहालमा रहेको संकटा मन्दिरको नामबाट यो नामाकरण गरिएको थियो । तर, यो क्लबको विधिवत स्थापना भने २०५२ सालमा मात्रै भयो ।

१० वर्षअघि फुटबलको सबै पक्षलाई समेट्ने हेतुले यो क्लबको नाम परिमार्जन गर्दै संकटा क्लब राखियो । सुरुवाती दिनमा संकटा क्लबले ठूलै संघर्ष गर्नुपरेको थियो । त्यही संघर्षले संकटा अहिले यो स्थानसम्म आइपुगेको छ ।

कोषाध्यक्ष जुजुकाजी सम्भिmन्छन्, ‘हामीसँग पैसा हुँदैनथ्यो । अग्रजहरूले आफुसँग भएको अलिअलि पैसा क्लबलाई दिने गर्नुहुन्थ्यो । सुरुवाती समयमा कृष्णप्रसाद खड्गी, मंगलक्षितिज मानन्धर लगायतले निकै दुःख गर्नुभयो ।’

उनी थप्छन्, ‘कृष्णप्रसाद खड्गीको पसल थियो । त्यो पसलबाट कमाएको पैसा पनि क्लबमा दिनुहुन्थ्यो ।’

सफलताको एक दशक

संकटा क्लबसँग तिता अनुभवसँगै मिठा र स्मरणीय क्षण पनि छन् । यसको सबैभन्दा स्मरणीय कालखण्ड भने २०३२ देखि २०४२ सम्मको अवधिलाई मान्न सकिन्छ । यो १० वर्षमा संकटाले ३ पटक राष्ट्रिय लिग जित्दै इतिहास रच्यो भने मोफसलको प्रतियोगितामा पनि राम्रै नतिजा हात पार्‍यो । यो अवधिमा झण्डै एक दर्जन प्रतियोगिताको उपाधि जित्नुका साथै दर्जन बढीमा उपविजेता बन्यो । त्यसयता भने शहिद स्मारक ए डिभिजन’को लिग जित्न सकेको छैन ।

२०४० को दशकमा संकटाले प्रतिभाशाली खेलाडी उत्पादन पनि गरेको थियो । संकटाले स्व. इश्वरमान तुलाधर, जीवन शाही, रजतमान तुलाधर, किरण खड्का, अजर मानन्धर, मनोरञ्जन डंगोल, बाबुराजा शाक्य, नरेन्द्रमान सिंह, विरेन्द्रमान सिंह, प्रकाश नेपाली, सुरेन्द्र तिख्राकार राजु शाह र कुमार महर्जन जस्ता राष्ट्रिय स्तरका खेलाडी जन्माउन सफल भएको थियो ।

५० र ६० को दशकमा संकटा क्लबको प्रदर्शन औसत रहृयो । कुनै बेला रेलिगेशनको सिकार हुँदा कुनै बेला उपाधि होडसम्म पुग्यो । २०६७ सालमा संकटा संकटमा पर्दै शहिद स्मारक ए डिभिजन लिगबाट वि डिभिजनमा घटुवा भएको थियो । तर, एक वर्षपछि नै बी डिभिजन लिगको विजेता बन्दै ए डिभिजनमा बढुवा भयो ।

क्लब धान्न लिजमा व्यवसाय

फुटबल खेलेर मात्रै क्लब चल्न गाह्रो भएपछि संकटाले आरएनएसीको पसल लिजमा लिएर अतिरिक्त कमाई गरिरहेको छ । सुन्धारामा ८ वर्षदेखि लिजमा लिइएका पसलहरूलाई संकटा बजारको नामले सञ्चालनमा ल्याएइएको छ ।

त्यस्तै ५ वर्षदेखि न्युरोड गेटमा रहेका पसल पनि लिजमा लिएर सञ्चालन गरिरहेको छ । क्लबको मुख्य आर्थिक स्रोत भनेको संकटा बजार र न्युरोड गेट नै हो । यहाँबाट ५ लाख मासिक नाफा कमाउँदै आएको कोषाध्यक्ष जुजुकाजीले बताए । उनी भन्छन्, ‘पहिले हामीले टोलमा पार्किङको पैसा उठाउने गरेका थियौं । तर, अहिले छोड्यौं ।’

त्यसो त, संकटाले क्लबको नाममा केही सम्पत्ति पनि जोडेको छ । शुन्यबाट सुरु भएको क्लवसँग अहिले एक करोडभन्दा बढि सम्पत्ति छ ।

२०७३ सालमा संकटाले टेवहालमै ८० लाखमा पुरानो घरसँगै १ आना १ पैसा १ दाम जग्गा किन्यो । करिब २ वर्ष लिग नहुँदा पनि संकटा बजार र न्युरोड गेटबाट आएको पैसाले सो जग्गा किनेको हो । कोषाध्यक्ष जुजुकाजीले भने, ‘भविष्यमा यही घरले क्लबको आर्थिक पक्ष धान्ला कि भन्ने छ ।’

भविश्यको सोच

संकटाले एकेडेमी सञ्चालनमा ल्याउने लक्ष्य बनाएको छ । ग्रासरुटदेखि नै विभिन्न उमेर समूहको टिम बनाउँदै राम्रा खेलाडी देशलाई दिने क्लबको योजना छ । भक्तपुरको साँगामा करिब ३१ रोपनी जग्गा १५ वर्षको लागि लिजमा लिइएको छ । यो जग्गामा फुटबल मैदानसहित एकेडेमी बनाउने संकटाको उद्देश्य छ ।

यो वर्षको लक्ष्य टप फाइभ

असोज १३ गतेदेखि आयोजना हुने शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितका लागि क्लबले अभ्यास थालेको करिब १५ दिन मात्रै भएको छ । विभागीय टिम आर्मी र पुलिससँग मैत्रीपूर्ण खेल खेल्दै आफ्नो टिम सेट गर्दैछ ।

प्रशिक्षक राजेश तुलाधर राम्रो तयारी भइरहेको बताउँछन् । लिगमा संकटाको प्रदर्शन कस्तो रहला ? प्रशिक्षक तुलाधर भन्छन्, ‘मैदानको अभावका कारण टुंडिखेलमा अभ्यास गरिरहेका छौं । हाम्रो रणनीति भनेको टप फाइभमा पुग्ने हो ।’

संकटाका अनुभवी खेलाडीमध्ये एक हुन्, विष्णु गुरूङ । थ्रीस्टार क्लबबाट यसै महिनामात्रै संकटा क्लबमा आबद्ध भएका डिफेन्सिभ मिडफिल्डर विष्णु क्लबमा युवा खेलाडीको जोश र अनुभवी खेलाडीको तालमेलले राम्रो नतिजा निकाल्ने बताउँछन् । ‘मसँग अनुभव पनि छ, थ्रीस्टारमा हुँदा खेल्न नपाएको इख पनि छ । मैले यो लिगमा अवश्य राम्रो प्रदर्शन गर्नेछु’ विष्णु भन्छन्, ‘उपाधि नै जित्छौं भन्न त सक्दिन तर, हामी टप फाइभमा चाहिँ अवश्य पुग्छौं ।’

कति बलियो ?

यसपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी टिममा छैनन् । ए डिभिजन र बी डिभिजन लिगको अनुभव भएका खेलाडीले संकटाको संकटमोचन गर्लान् त ?

विगत हेर्ने हो भने संकटा क्लबको प्रदर्शन एकरुपको हुने गर्छ । यो पटक पनि रवि सिलवाल, सरोज दाहाल, अमित तामाङ, विष्णु गुरुङ, लक्ष्मण रुचाल तथा विदेशी खेलाडी इलोन म्याक्स्वेल र इर्नेस्ट ट्याम्पी जस्ता खेलाडी छन्, जोसँग ठूला प्रतियोगिता खेलेको अनुभव छ । अन्य खेलाडी भने नयाँ छन् । स्थानीय खेलाडीको बाहुल्यता रहेको संकटा टिम वर्कमा विश्वास गर्छ ।

यसअघिको मोफसल प्रतियोगितामा पनि टिमवर्ककै कारण बलिया टिमलाई पराजित गरेको थियो । तर, स्टार खेलाडीको अभाव र अनुभव ए डिभिजन लिगमा खट्किन सक्छ ।

टिमको संरचना यस्तो छः

गोलपिकरः राजाबाबु थापा, अजय महर्जन

डिफेन्डरः रवि शिलवाल (कप्तान), सन्दीप कुँवर, अभिषेक लिम्बु, सरोज दाहाल, इर्नेस्ट ट्याम्पी -क्यामरुन), अमित तामाङ, रोमन लिम्बु, सरोज गुरुङ

मिडफिल्डरः विष्णु गुरुङ, रोशन पहारी, सुभास गुरूङ, लक्षमण रुचाल, नविन गुरूङ

फरवार्डः दीपेश आले मगर, हिक्मत खत्री, सौजन राई फर, इलोन म्याक्सवेल -क्यामरुन), प्रताप बज्राचार्य

संकटाले अहिलेसम्म जितेका उपाधि

१. बालसखा दल नकआउट प्रतियोगिता -वि.सं.२००८)
२. स्व. श्री महेन्द्र च्यालेन्ज सिल्ड -२०१३)
३. त्रिभुवन च्यालेन्ज सिल्ड -२०३५)
४. शहिद स्मारक ए डिभिजन लिग -२०३७)
५. शहिद स्मारक ए डिभिजन लिग -२०४०)
६. शहिद स्मारक ए डिभिजन लिग -२०४२)
७. वीपी मेमोरियल रनिङ शिल्ड -२०५१)
८. स्व. सन्तोष ट्रफी -२०५१)
९. १० औं नर्थन रेल्वे च्यालेन्ज कप, भारत -२०५४)
१०. शहिद स्मारक वि डिभिजन लिग -२०६८)
११. विराट गोल्डकप -२०६९)
१२. पाचौं पूर्वाञ्चल फुटबल प्रतियोगिता -२०७०)
१३. एसएफपी लायन्स गोल्ड कप -२०७१)
१४. विकास रनिङ शिल्ड -२०७३)
१५. सिमरा गोल्डकप -२०७३)
१६. तिलोत्तमा गोल्डकप -२०७३)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment