Comments Add Comment

भन्सारमा कडाइः लाइभ मनिटरिङ र नयाँ सूचना मूल्यसूचीको ‘अस्त्र’

९ असोज, काठमाडौं । सरकारले भन्सार राजश्व चुहावट नियन्त्रणका लागि भन्सार कार्यालयहरुमा ‘लाइभ मनिटरिङ’मा कडाइ गरेको छ । आन्तरिक रुपमा मिलेमतो र लापरवाहीका कारण हुने चुहावट रोक्न लाइभ मनिटरिङलाई ब्यापक बनाइएको हो । मूल्यांकनको आधार तय गर्ने सूचना मूल्यसूचीमा पनि पहिलेभन्दा दरहरु भन्दा बढाएर न्युन बिजकीकरण रोक्न खोजिएको छ ।

विभागले अहिले मुख्य भन्सार कार्यालयहरुमा सिसी क्यामेरालाई ब्यापक रुपमा प्रयोग ल्याएको छ । हरेक समयमा भन्सार यार्डदेखि कार्यालयहरुसम्मको लाइभ मनिटरिङलाई अहिले विस्तार गरिएको छ ।

भन्सार कार्यलयमा हुने हरेक गतिविधिको निगरानी अहिले केन्द्रीय स्तरबाटै भइरहँदा राजश्वको असुलीमा त्यसको सकाकरात्मक प्रभाव देखिन थालेको छ । भदौ महिनामात्रै विभागले लाइभ मनिटरिङबाटै थप ४ करोड राजश्व उठाएको विभागका उपहमानिर्देशक नारायण सापकोटाले जानकारी दिए । गत वर्षहरुमा राजश्व उठ्तीमा लाइभ मनिटरिङ खासै प्रभाकारीव देखिएको थिएन ।

यो वर्षबाट भने भन्सार विभागले भन्सारहरुमा हुने मूल्यांकनलाई पनि निकै कडाइका साथ हेरिरहेको छ ।

भन्सारभित्रै अनुसन्धान शाखा

आन्तरिक रुपमा मिलेमतो गरेर हुने भन्सार राजश्व छली नियन्त्रण गर्न विभागले अनुसन्धान कार्यविधि बनाएको छ । यसअनुसार विभागभित्रै अनुसन्धान शाखा पनि स्थापना गरिएको छ ।

अब भन्सार राजश्व छलीको अनुसन्धानलाई प्रभावकारी बनाउन विभागले उपमहानिर्देशकको संयोजकत्वमा उउटा संयन्त्र पनि बनाउनेछ ।

जसले भन्सार छलीबारे परेका उजुरीहरुमाथि अनुसनधान गर्ने छ भने आन्तरिक रुपमा कन्ट्रोल मेकानिज्मलाई बलियो बनाउन अनुसन्धनात्मक कामहरु गर्ने सापकोटाले बताए ।

‘हामी भन्सार राजश्वको चुहावट हुन सक्नै सबै सम्भावित प्वालहरु टाल्दैछौं,’ उनले भने,’भन्सारमा भएका शंकास्पद गतिविधिबारे हामी अपडेट रहन्छौं । कतै कुनै कमजोरी भए तत्कालै विवरणहरु हेरेर पुष्टी गरेर सच्याउन निर्देशन दिन्छौं ।’

उनले भन्सारमा आएका सबै गाडीको लाइभ मनिटरिङ हुने गरेको भन्दै जाँचपास प्रक्रियाको पनि निगरानी समेत कडा पारिएको बताए । विभागबाट समय समयमा भन्सारहरुमा अनुगमन टोली पनि जाने गरेको छ ।

नयाँ सूचना मूल्यसूचीको अस्त्र

पछिल्लो पटक सरकारले भन्सारको सूचना मूल्यसूची पनि परिमार्जन गरेको छ । प्रत्येक ६-६ महिनामा भन्सार प्रमुखरुको संयुक्त गोष्ठीबाट यस्तो सूचना मूल्यसूची परिमार्जन गर्ने गरिन्छ ।

अहिले नयाा सूचना मूल्यसूचीअनुसार भन्सार मूल्यांकन भइरहेको छ । उपमहानिर्देशक सापकोटाले सूचना मूल्यसूचीले भन्सार मूल्यांकनमा एकरुपता ल्याउन र अप्ठेरो अवस्थामा भन्सार अधिकृतलाई निर्णय लिन सहज गर्ने बताए ।

आयातित सामानको जााचपासमा सूचना मूल्यसूची नै अन्तिम नहुने भन्दै सापकोटाले समयक्रममा भन्सार मूल्यांकन परिमार्जन गर्नु समान्य भएको बताए ।

ब्यापारीहरुले भने दशैंको मुखमा सूचना मूल्यसूचीमा मूल्यांकनको आधार दर बढाउँदा वस्तु महंगिने अवस्था आएको दावी गरेका छन् ।

वस्तु खरिद गरेकोभन्दा बढी मूल्य राखेर सरकार भन्सार उठाउन केन्द्रित हुँदा समस्या आउने गुनासो उनीहरुको छ । सरकारले पछिल्लो समयमा सूचना मूल्यसूची अनुसार नै भन्सार उठाउन थालेको छ ।

त्यसका कारण न्युन बिजकीकरण गरेर समान ल्याउने ब्यापरीहरु अत्ताल्लिएका छन् । सरकारले न्युन बिजकीकरण रोक्ने गरी नै सूचना मूल्यसुचीलाई समायानुकुल बनाइएको बताएको छ ।

विभागले चालु आथिर्क वर्षको पहिलो दुई महिनामा लक्ष्यको झण्डै शत प्रतिशत राजश्व उठाएको सापकोटा बताउँछन् । यी दुई महिना भन्सार राजश्व कम उठ्ने महिना भएकाले अहिले असुली सन्तोषजनक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment