Comments Add Comment

नेता र प्राध्यापककै घरमा बालश्रमिकः पढ्न पाउने आशा

९ असोज, डोटी । दिपायल सिलगढी नगरपालिका-९ का १४ वर्षीय शिवबहादुर साउँद बालश्रमिकका रुपमा काम गरिरहेका छन् ।

गाउँमा विद्यालय नभएकै कारण छोराछोरीलाई अर्काको घरमा काममा पठाएको उनका बुवा कमल साउँदको तर्क छ । ‘उहाँ (बालश्रमिक राख्ने मालिक)ले साँझ बिहान घरमा पनि काम गर्छ दिउँसो विद्यालय जान्छ, तेरो छोरा पठाइदे भन्नुभयो,’ कमलले भने, ‘जिल्ला सदरमुकाममा भएपछि दुई अक्षर पढ्ला र आँखा कान उघि्रएला भनेर पठाएको हुँ ।’

कमलका दुई छोरी पनि जिल्ला सदरमुकाममा बालश्रमिक छन् ।

कमल जस्तै भाषा बोल्छन् अर्का बालश्रमिक लहरी साउँदका बुवा दलवहादुर साउँद । उनी भन्छन्, ‘गाउँमा कक्षा ५ सम्मको मात्रै विद्यालय भएकोले माथिल्लो शिक्षा लिनका लागि जिल्ला सदरमुकाम पठाउनु परेको हो । सदरमुकाममा डेरा गरेर छोराछोरी राख्न मेरो आर्थिक अवस्थाले सक्दैन त्यसैले उहाँको घरमा राखेको छु ।’

गाउँमा बिद्यालय भएको तर शिक्षकहरु नभएको एक अर्का अभिभावकले भने । ‘मैले चार वर्षसम्म विद्यालय पठाए छोरालाई तर पढ्न जानेन्,’ उनी भन्छन्, ‘तर यता पठाएपछि तीन महिनामै उसले राम्रोसँग लेखपढ् गर्न सिकेको छ ।’

गाउँमा भएको विद्यालयमा राम्रो पढाई नहुने गरेको, गाउँदेखि विद्यालयसम्म जाने बाटो राम्रो नभएको र बिद्यालय टाढा भएकोले छोरा छोरीलाई काम गर्दै पढ्दै गरुन भनेर अर्काको घरमा राखेको अभिभावकहरुको भनाइ छ ।

‘मैले छोराछोरी बढी भएर अर्काकोमा काम गर्न पठाएको हैन, गाउँमा स्कुल छैन अनि के गर्नु ? यता साहुँजीले पढाइदिन्छु भन्नु भएको छ, त्यसैले पठाएको हुँ

दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको जिल्लाका स्थानीय तहका प्रमुखहरु, श्रमिक बालबालिकाका अभिभावकहरु र श्रमिक बालबालिकाहरुबीच अन्तरक्रिया कार्यक्रममा सहभागी अभिभावहरुले उक्त गुनासो पोखेका हुन् ।

जवाफमा नगरप्रमुख मञ्जु मलासीले कुनै पनि वहानामा बालश्रमिक राख्न नपाउने बताउँदै गाउँमा भएको बिद्यालयको गुणस्तरको बारेमा तत्काल अध्ययन गर्ने र आवश्यक ठाउँमा नयाँ विद्यालय समेत स्थापना गर्ने बताईन । उनले भनिन् ‘म नगरपालिकाका सवै बस्तीहरुमा पुगेकी छु, तपाईहरुले यहाँ उठाउनु भएको जस्तो समस्या मैले कुनै पनि ठाउँमा देखेकी छैन, यदि त्यस्तो छ भने म तत्काल सुधार गर्छु ।

नेतादेखि प्राध्यापकसम्मको घरमा बालश्रमिक

जिल्ला सदरमुकाममा बसोबास गर्ने उच्च तहका कर्मचारीहरु र नेताहरुले पनि बालश्रमिक राखेका खुलेको छ । डोटी क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरु, पूर्व जनप्रतिनिधिहरु, अधिकृतस्तरका कर्मचारीहरु, गैरसरकारी संस्थाका पदाधिकारीहरुका घरका समेत बालश्रमिक रहेको उक्त अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले जानकारी दिएका छन् ।

नगरपालिकाभित्रै काम गर्ने कर्मचारीहरुले समेत बालश्रमिकहरु राखेको खुलेको छ ।

५ बजे नै उठ्छन् श्रमिक बालबालिकाहरु

अन्तरक्रिया कार्यक्रममा सहभागी श्रमिक बालबालिकाहरुले बिहान ५ बजेदेखि उठेर काम गर्नु परेको दुखेसो पोखेका छन् । बिहानै उठेर आँगन सफा गर्नेबाट आफुहरुको श्रम सुरु हुने उनीहरु बताउँछन् । ‘५ वजे नउठे आण्टीले (मालिक) गाली गर्नु हुन्छ, छिटो उठ् भन्नुहुन्छ’ एक बालकले भने ‘अव त ५ वजे उठ्ने बानी परिसकेको छ ।’

उनी राति १०/११ बजे मात्रै सुत्न पाईने गरेको बताउँछन् । आँगन सफा गर्नु पर्ने, खाना पकाउनु पर्ने, भाँडा धुनु पर्ने, लुगा धुनु पर्ने, भारी बोक्नु पर्ने, सामान ओसार्नु पर्ने जस्ता कार्यहरु गर्ने गरेको श्रमिक बालबालिकाहरु बताउँछन् ।

आफुहरु पनि घरमै आमा बुवा र भाईबहिनीहरुसंग रमाउन चाहेको तर श्रमिक बस्नु पर्दा दुःख लागेको उनीहरु बताउँछन् ।

मालिकको नाम नामेसी सार्वजनिक गरिने

दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक राख्ने व्यक्तिको नाम नामेसीसहितको बिवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले भने, ‘हामी पहिले उहाँहरुलाई बोलाएर बालश्रमिक नराख्न आग्रह गर्छौं, यदी त्यति गर्दा पनि मान्नु भएन भने सञ्चारमाध्यमबाट उहाँहरुको नाम सार्वजनिक गर्ने भन्ने सल्लाह भएको छ ।’ उनले बालश्रमिक राख्ने परिवारलाई नगरपालिकाबाट प्रदान गर्ने सेवा सुबिधा रोक्ने गरी कानुन बनाउन लागिएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment