Comments Add Comment

इन्स्टाग्रामका संस्थापकले कम्पनी छाडे

फोटो शेयरिङका लागि लोकप्रिय सोसल मिडिया साइट इन्स्टाग्रामका दुबैजना संस्थापकले कम्पनी छाडेका छन् ।

फेसबुक स्वामित्वको इन्स्टाग्राम स्थापना गर्ने केभिन सिस्ट्रोम र माइक क्रिगरले कम्पनी छाडेका हुन् ।

कम्पनीका मूख्य कार्यकारी सिस्ट्रोमले आफ्नो जिज्ञासा र सिर्जनशीलताको पुनः अन्वेषण गर्न कम्पनी छाड्न लागेको बताएका छन् ।

सन् २०१२ मा फेसबुकले इन्स्टाग्रामलाई १ अर्ब डलरमा खरीद गरेको थियो । अहिले इन्स्टाग्रामका एक अर्ब भन्दा धेरै प्रयोगकर्ता छन् ।

पछिल्लो समय यी दुई संस्थापक र मातृ कम्पनी फेसबुकको व्यवस्थापनबीच खटपट चलिरहेको हल्लाका बीच दुबैजनाले कम्पनी छाड्नुले हल्लालाई पुष्टि गरेको छ ।

इन्स्टाग्रामका सिइओ ३४ वर्षका सिस्ट्रोम र प्रमुख प्राविधिक अधिकृत ३२ वर्षीय क्रिगरले सन् २०१० मा फोटो शेयरिङ एप इन्स्टाग्राम सुरु गरेका थिए । फेसबुकले अधिग्रहण गरिसकेपछि इन्स्टाग्रामले आफ्नो मौलिकता कायम राख्दै झनै लोकप्रियता हासिल गरिरहेको छ ।

समाचार अनुसार संस्थापकद्वयले सोमबार मात्रै फेसबुक व्यवस्थापनलाई आफुहरुले कम्पनी छाड्न लागेको जानकारी गराएका हुन् । आफ्नो ब्लग पोष्टमा सिस्ट्रोमले भनेका छन्: हामी नयाँ अध्यायका लागि तयार छौँ ।

उनले अगाडि लेखेका छन्: नयाँ चिजको सिर्जना गर्दा केही पछाडि सर्नु, के कुराले आफूलाई उत्प्रेरित गर्छ भन्ने कुराको पहिचान गर्नु र दुनियाले के चाहन्छ भन्ने कुरासँग सामाञ्जस्यता मिलाउन आवश्यक पर्छ । अहिले हामीले यहीँ नै योजना बनाईरहेका छौँ ।

साथै उनले आफुहरु फेसबुक र इन्स्टाग्रामको भविष्यलाई लिएर उत्साहित भएको पनि बताएका छन् ।

फेसबुकको प्रतिक्रिया

इन्स्टाग्रामका दुईजना संस्थापकले कम्पनी छाडेको घटनाका विषयमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले एक विज्ञप्तीमार्फत जानकारी गराएका छन् । विज्ञप्तीमा जुकरबर्गले इन्स्टाग्राममा त्यसका संस्थापकहरुको एकत्रित सिर्जनात्मक क्षमता प्रतिविम्बित हुने बताएका छन् । आफुले संस्थापकद्वयसँग काम गर्दा धेरै कुरा सिकेको भन्दै उनले सँगै काम गर्दा निकै आनन्द महसुस गरेको र उनीहरुले भविष्यमा गर्ने सिर्जना पर्खिरहेको जुकरबर्गले भनेका छन् ।

बहिर्गमनको खास कारण के हो ?

सन् २०१४ मा फेसबुकले ह्वाट्सएप खरीद गरेसँगै जुकरबर्ग र सिस्ट्रोमबीच मतभेदको सुरुवात भएको बताइन्छ । त्यतिबेला फेसबुकले १९ अर्ब डलरमा ह्वाट्सएप खरीद गरेको थियो । सिस्ट्रोम यतिधेरै महंगो खरीदप्रति सन्तुष्ट थिएनन् । इन्स्टाग्रामलाई फेसबुकबाट स्वतन्त्र रुपमा सञ्चालन गर्नुपर्ने उनको धारणा थियो तर जुकरबर्गले इन्स्टाग्राममा व्यवस्थापकीय मात्र होइन फिचरका हिसाबले पनि फेसबुकसँग धेरै घुलमिल गराए । कार्यकारी पदहरुका कर्मचारी फेसबुकबाट सरुवा गरी इन्स्टाग्राममा लगिएपछि सिस्ट्रोमको भूमिका तथा नेतृत्वलाई झनै कमजोर बनाइएको थियो । पछिल्लो समयमा इन्स्टाग्राममा उनको भूमिका ससक्त देखिएको थिएन । यसरी असन्तुष्टि बढ्दै जाँदा इन्स्टाग्रामका सस्थापकद्वयले कम्पनी छाड्ने विकल्प रोजे ।

स्मरण रहोस् ह्वाट्सएपका संस्थापक जान कोउमले गत अप्रिलमा कम्पनी छाड्ने घोषणा गरेका थिए । उनको बहिर्गमन पनि फेसबुक नेतृत्वसँगकै खिचातानीका कारण भएको बताइएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment