Comments Add Comment

गृहमन्त्रीको खुलासा : निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली

१० असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ । यो त संरक्षण गर्नु पर्ने हो ।’

उनले अघि भने, ‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप भेटिएको छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’

निर्मलाका बाबु यज्ञराज पन्तले पनि आफूले मुचुल्कामा औंठाछाप नलगाएको अनलाइनखबरलाई बताए । ‘दाहसंस्कार गरेको ८/१० दिनपछि प्रहरी कार्यालयमा बोलाएर अर्कै कागजमा औंठाछाप लगाउन लगाएको थियो । मुचुल्कामा मेरो नाममा कसले औंठाछाप लगायो मलाई थाहा छैन ।’

शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो भने घटनास्थलको पनि संरक्षण गरेको थिएन ।

गृहमन्त्री बादलले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् ।

पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनले बताए । ‘यो मिति, गते भनेर त तोक्न सकिँदैन’ गृहमन्त्री बादलले भने, यति भन्नसक्छु, छिटो अपराधीलाई कानुनको कठघरामा उभ्याउन प्रयास भइरहेको छ ।’

प्रहरीको इमान्दारितामा प्रश्न नगरौं

गृहमन्त्री बादलले सरकार र प्रहरीको इमान्दारितामा प्रश्न नगर्न आग्रह गरेका छन् । बलात्कार तथा हत्याका थुप्रै घटनाका अभियुक्त पक्राउ परेको भन्दै उनले भने, सरकार र प्रहरीको इमान्दारितामा शंका गर्ने ठाउँ छैन । प्रहरी प्रशासनमाथि अन्याय हुन्छ । परिणाम नआएकाले क्षमतामा शंका गर्ने ठाउँ भने छ ।’

१० साउनमा साथीको घरमा पढ्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । हत्यारालाई कारबाही गर्न माग गर्दै कञ्चनपुरबासीले लगातार आन्दोलन गरेपछि सरकारले स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै अर्को टोली पठाएको छ ।

साथै प्रहरीको लापरवाहीबारे छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ । यो समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा एसपी डिल्लीराज विष्टसहित ६ प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ ।

तर, पन्तको हत्यामा संलग्न पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment