Comments Add Comment

निर्मला हत्या प्रकरण : गृहमन्त्रालयले किन सार्वजनिक गरेन प्रतिवेदन ?

१० असोज, काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई महिना बितिसक्दा पनि प्रहरी अभियुक्तसम्म पुग्न सकेको छैन ।

एकातिर मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्ट डीएनए नमिलेपछि छुटिसकेका छन् भने अर्कातिर प्रहरीले पन्तको शव भेटिएको ठाउँ प्रारम्भिक घटनास्थल हो कि होइन भन्नेसमेत निक्र्यौल गर्न सकेको छैन ।

घटनाको अनुसन्धानका लागि कारागार व्यवस्थापन विभागका सह-सचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा पन्तको हत्या उखुबारीमा नभएको उल्लेख गरिएको स्रोत बताउँछ । प्रहरी अधिकारी पनि पन्तको अन्यत्रै हत्या गरेर उखुबारीमा राखिएको हुन सक्ने दाबी गर्छन् ।

त्यसोभए पन्तको हत्या कहाँ भएको थियो त ? यो प्रश्नको जवाफ अहिलेसम्म कोहीसँग पनि छैन ।

‘प्रोफेसनल’ हत्यारा ! 

समितिका एक सदस्यले अनलाइनखबरसँग कुरा गर्दै निर्मलाको हत्या उखुबारीमा नभई अन्यत्र भएको घटनाक्रमले देखाएको प्रतिवेदनमा उल्लेख गरिएको बताए । यद्यपि, उनले त्यो स्थानबारे नखुलेको बताए ।

‘यदि उनको उखुबारीमा हत्या भएको भए, फोक्सोमा पानी भेटिनुपर्थ्यो’, समितिका एक सदस्यले चिकित्सकहरुलाई उदृत गर्दै भने, ‘घटनास्थलमा पानी परिरहेको थियो । पानी जमेको पनि थियो । त्यसैले उनको मृत्यु त्यहाँ भएको थियो भने फोक्सोमा २ सयदेखि ५ सय एमएलसम्म पानी हुनुपर्ने थियो ।’

तर, त्यस्तो नभेटिएको र अन्य विवरणहरुले पनि उनका हत्या अन्यत्रै गरेर शव व्यवस्थापन गर्नलाई त्यहाँ ल्याइएको हुन सक्ने ती सदस्यले बताए ।

उनले सामान्यतयाः यस्तो घटनामा घाँटी थिचेर हत्या हुने गरेको देखिने गरेकोमा पन्तको सन्दर्भमा भने ‘स्पाइनल कर्ड’ भाँचिएको देखिएको बताउँदै घटनामा ‘प्रोफेसनल’ व्यक्ति संलग्न भएको दाबी गरे । त्यो विषयलाई प्रतिवेदनमा पनि समेटिएको उनको भनाइ छ ।

निर्मलाका बुबाको प्रश्न – प्रतिवेदन किन सार्वजनिक गरिएन ?

मृतक निर्मलाका बुबा यज्ञराजले सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले प्रतिवेदन सार्वजनिक नगरेको विषयमा चासो देखाएका छन् ।

उनले अनलाइनखबरसँग कुरा गर्दै प्रतिवेदन सार्वजनिक नगरिएको प्रति दुःखेसो पोखेका हुन् । उनले छोरीका हत्यारालाई यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन् ।

यो पनि पढ्नुहोस गृहमन्त्रीको खुलासा : निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली

यसैबीच प्रतिवेदनमा के छ र किन सार्वजनिक नगरिएको भन्नेबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ सँग जिज्ञासा राख्दा उनले घटना अनुसन्धानकै क्रममा रहेकाले प्रतिवेदन सार्वजनिक नगरिएको बताए ।

मैनालीको नेतृत्वमा छानबिन समिति क्याबिनेटले बनाएको र प्रधानमन्त्री ओली हाल अमेरिकामा रहेकाले पनि प्रतिवेदन सार्वजनिक गर्न नसकिएको पथिकले तर्क गरे ।

यद्यपि मैनालीले प्रतिवेदन क्याबिनेटमा नभएर गृहमन्त्रालयलाई नै बुझाएका छन् । गृहमन्त्रीले प्रतिवेदन बुझेपछि प्रधानमन्त्रीतर्फ जिम्मेवारी पन्छाउनु औचित्यपूर्ण देखिँदैन ।

‘अर्को कुरा प्रतिवेदनले दोषी किटान गरेको छैन । र, दोषी किटान नगरी सार्वजनिक गर्दा समस्या पर्ने पनि देखिन्छ’, पथिकले अनलाइनखबरसँग भने, ‘यद्यपि, सारांश सार्वजनिक गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ ।’

कञ्चनपुरका एसपी भन्छन् – अनुसन्धान गरिरहेका छौं

पन्तको हत्या भएको घटनास्थलबारे कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतसँग जिज्ञासा राख्दा उनले त्यसबारे अहिल्यै बताउन नसकिने बताए ।

‘अहिल्यै प्रमाण भेटिइसकेको छैन’, उनले अनलाइनखबरसँग भने, ‘अनुसन्धान गरिरहेका छौं । अहिलेसम्म त शंका मात्रै गर्ने न हो ।’
यद्यपि, उनले पनि अनौपचारिक कुराकानीमा निर्मलाको हत्या अन्यत्रै भएको हुनसक्ने बताउँदै आएका छन् ।

यसअघि साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । स्थानीय प्रहरीले छानविनमा लापरबाही गरेको भन्दै आन्दोलन चर्किएको थियो ।

त्यसपछि प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । त्यसअघि नै तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका थिए ।

अहिलेसम्म विभिन्न समितिले अनुसन्धान जारी राखेको बताइरहे पनि घटनाको दोषी पत्ता लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment