Comments Add Comment

वीरगञ्जको सेकेन्ड वाइपास सडकका कवाडी गाडी र निर्माण सामग्री हटाइयो

११ असोज, वीरगञ्ज । वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सडकमा विग्रेका सवारी र निर्माण सामग्री राख्ने कार्य मुख्य समस्याको रुपमा देखिएको छ ।

नगरका विभिन्न ठाउँमा सवारी धनीहरुले सडकलाई नै ग्यारेजको रुपमा प्रयोग गर्ने गरेका छन् भने निर्माण सामग्री पनि सडकमै थुपार्ने गरिएको छ ।

वीरगञ्ज महानगरपालिका, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सरोकारवालासँगको समन्वयमा ‘व्यवस्थित वीरगञ्ज’ अभियानमार्फत यसविरुद्ध कदम चालिएको छ ।

बिहीबार वीरगञ्ज महानगरपालिका-१५ मा पर्ने सेकेन्ड बाइपास सडकमा क्रेन लगाएर त्यस्ता सवारी हटाउनुको साथै निर्माण सामग्रीसमेत महानगरपालिकाले उठाएको छ ।

सडकमा आवागमनमा अबरोध पुर्‍याउने गरि धेरै दिनदेखि थन्क्याएर राखिएको पुराना गाडीहरु हटाउनुको साथै सडकमा राखिएको निर्माण सामाग्री उठाइएको हो ।

अभियानका सदस्य एवं जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य थापाले व्यवस्थित वीरगञ्ज अभियान अन्र्तगत अव्यवस्थित पार्किङ, पुराना कवाड गाडी र निर्माण सामाग्री सडकमा राख्ने प्रवृत्तिको अन्त्य गर्न यसलाई हटाउने अभियान सुरु गरिएको जानकारी दिए ।

‘व्यवस्थित वीरगञ्ज अभियान अन्र्तगत दुई सातादेखि नै ट्राफिक व्यवस्थापनका लागि काम भइरहेको छ, सोही क्रममा अव्यवस्थित पार्किङ गरिएका, पुराना कवाड गाडी वेवारिसे सडकमा छोडिएको र सडकमा राखिएको निर्माण सामाग्री हटाउने अभियान शुरु गरेका छौं,’ उनले भने, ‘एकै दिनमा बाटोमा बेवारिसे अवस्थामा छोडिएको तीन वटा कवाडी गाडी क्रेनले उठाएर सडकबाट हटाएका छौं, अभियानलाई निरन्तरता दिन्छौं ।’

स्थानीयले व्यवस्थित वीरगञ्ज अभियान मार्फत महानगरपालिका, स्थानीय जनप्रतिनीधि, नेपाल प्रहरी, ट्राफिक प्रहरीले थालेको अभियानको प्रशंसा गरेका छन् ।

उनीहरुले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । स्थानीय देवेन्द्र चौधरीले बाटोमा देखिएको अवरोध हटाउनु सकारात्मक भएपनि यसले निरन्तरता पाउनेमा शंका व्यक्त गरे । ‘सकारात्मक काम भयो, तर यस्तो कामहरु एक दुई दिन हुन्छ, यसलाई निरन्तरता दिनुपर्छ, तब मात्रै वीरगञ्जको विकासमा यसले योगदान दिन्छ,’ उनले भने ।

उनको जस्तै बिचार स्थानीय बढेलाल चौधरीको पनि रहेछ । ‘जथाभावी पार्किङ र निर्माण सामाग्रीहरु सडकमा राख्ने गरेका कारण यो बाटो सँधै बाटो जाम हुने गरेको छ । आज खाली गरियो, सह्रानीय काम भएको छ । तर एक दिन खाली गरेर हुँदैन, सँधै कार्यान्वयन हुनुपर्छ । खशी कुखुरा काटेर जथाभावी फोहोर फाल्ने गरिएको छ । यसलाई पनि महानगरपालिकाले नियन्त्रण गर्नुपर्छ ।’ उनले थपे ।

वडा नं १५ मै बस्दै आएका राजुकुमार गुप्ताले निकै सकारात्मक काम भएको बताउँदै निरन्तर कारबाही हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment