३० असोज, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–७ कौवाईमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा पुलको गोलाईमा अनियन्त्रित भई खोलामा खसेका थिए ।
दुर्घटनामा त्रियुगा नगरपालिका–१३ बस्ने वर्ष ४० का दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ४५ वर्षका कुलबहादुर थापा घाइते भएका हुन् ।
घाइते थापालाई अहिले उदयपुर जिल्ला अस्पतालमा ल्याएर प्राथमिक उपचार गरिएको छ ।