Comments Add Comment

अस्ट्रेलियामा किरण थापा बने टप २० मोर्टगेज ब्रोकर

सिड्नी । नेपालीमुलका डा. किरण थापा अस्ट्रेलियाका एक सय उच्च स्थानका ब्रोकरहरुको सूचीमा २० औं स्थानमा पर्न सफल भएका छन् ।

अस्ट्रेलियाका मोर्टगेज ब्रोकरहरुको सूची र स्तर प्रकाशित गर्ने एमपीए म्यागजिनले बुधबार ब्रोकरहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार २०१८ को लागि ११५ मिलियन अस्ट्रेलियन डलर (झन्डै साढे ९ अर्ब नेपाली रुपैयाँ) को ऋण स्वीकृत गराएर क्याप्कनका फाउन्डर तथा मोर्टगेज ब्रोकर डा. थापा टप ट्वान्टीभित्र परेका छन् ।

उनले गत वर्षको तुलनामा २२ स्थान फड्को मारेका छन् । गत वर्षको सूचीमा डा. थापा ४२ औं स्थानमा थिए ।

अस्ट्रेलियन मोर्टगेज तथा फाइनान्सको क्षेत्रमा ख्याति प्राप्त उक्त म्यागजिनले हरेक वर्ष अस्ट्रेलियाका झन्डै एक हजार पाँच सय जनामध्ये उच्च एक सय जना मोर्टगेज ब्रोकरलाई समेटेर सूची प्रकाशन गर्दै आइरहेको छ । अस्ट्रेलियाभरिका मोर्टगेज ब्रोकरहरुले गत आर्थिक वर्षमा स्वीकृत गराएको ऋणलाई आधार मानेर सूची तयार पारिन्छ ।

सिड्नीमा मुख्य कार्यालय रहेको क्याप्कन होम लोनका संस्थापक थापा बिगत ७ वर्षदेखि मोर्टगेज ब्रोकिंगमा सक्रिय छन् । हाल यसका सेवा अस्ट्रेलियाका अन्य राज्यतिर बिस्तार गर्ने प्रक्रियामा छन् ।

एक हजार दुई सयभन्दा बढी परिवारलाई अस्ट्रेलियामा घर किन्ने प्रक्रियामा सहयोग गरिसकेको दावी गर्ने उनको संस्थाले आगामी वर्ष अस्ट्रेलियाका बिभिन्न शहरहरुमा निजी सम्पति व्यवस्थापन लगाएतका विषयमा सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको थापाले अनलाइनखबरसँग बताए ।

पछिल्ला तथ्यांकअनुसार अस्ट्रेलियामा नेपाली मूलका व्यवसायीहरु उच्च स्थानमा पुग्नुको अर्थ यहाँ स्थायी बसोबास गर्ने नेपालीहरुको सम्पत्तिमा लगानी गर्ने हैसियत बढेको भन्न सकिन्छ

उनका ग्राहकहरु एक–दुई जना बाहेक सबै अस्ट्रेलियामा नयाँ स्थायी बसोबास सुरु गरेका नेपाली परिवार हुन् । अनलाइनखबरसँग कुरा गर्दै डा. थापाले भने, ‘यो उपलब्धि मेरो लागि व्यवसायीक सफलता मात्र नभएर सम्पूर्ण नेपाली समुदायको लागि एउटा उदाहरण हो किनकि मेरो अधिकांश बिजनेस नेपाली समुदायमा आधारित भएको हुँदा अस्ट्रेलियामा नेपाली समुदाय कति सशक्त छ र आर्थिक रुपमा कति सबल छन् भन्ने प्रमाण यस्ता तथ्यांकले अप्रत्यक्ष रुपमा दिने गर्दछ ।’

उनले थप भने, ‘भविष्यमा यस पेशा वा अन्य कुनै पेशामा लाग्ने नेपाली मुलका व्यवसायीहरुलाई आ–आफ्नो क्षेत्रमा प्रभावशाली रुपमा उपस्थिति जनाउन यस्ता उदाहरणले ऊर्जा प्रदान गर्न सक्दछ ।’

यसै सूचीमा नेपाली मुलका अर्का नेपाली मोर्टगेज ब्रोकर माया फाइनान्सका कपील नेपाल पनि झन्डै ६९ मिलियन अस्ट्रेलियन डलर (झन्डै ५ अर्ब ७० करोड नेपाली रुपैयाँ) को ऋण स्वीकृत गराएर यो वर्ष ७५ औं स्थानमा परेका छन् ।

अस्ट्रेलियामा एक दर्जनभन्दा बढी नेपाली मोर्टगेज ब्रोकरहरु क्रियाशील छन् । पछिल्ला तथ्यांकअनुसार अस्ट्रेलियामा नेपाली मूलका व्यवसायीहरु उच्च स्थानमा पुग्नुको अर्थ यहाँ स्थायी बसोबास गर्ने नेपालीहरुको सम्पत्तिमा लगानी गर्ने हैसियत बढेको भन्न सकिन्छ । एक तथ्यांक अनुसार अस्ट्रेलियामा घर जग्गा किन्ने समुदायमा नेपाली समुदाय पाँचौं स्थानमा पर्दछन् ।

एमपीए म्यागाजिनका अनुसार उच्च एक सय व्यवसायीको सूचीमा न्यु साउथ वेल्सबाट ४२ जना, भिक्टोरियाबाट ३७ जना, क्वीन्सल्याण्डबाट १५ जना, साउथ अस्ट्रेलिया र वेस्टर्न अस्ट्रेलियाबाट दुई–दुई जना, क्यानबेरा र डार्बिनबाट एक–एक जना छन् । तर तास्मानिया राज्यबाट कोही पनि सूचीमा परेका छैनन् ।

यो सूचीको पहिलो नम्बरमा न्यु साउथ वेल्सको इन्टेलिजेन्ट फाइनान्सका जस्टिन दुबोव छन् जसले ८६५ मिलियन अस्ट्रेलियन डलर बराबरको ऋण स्वीकृत गराएका छन् । यो सूचीमा ८८ जना पुरुष र १२ जना महिला छन् । महिला ब्रोकरमा न्यु साउथ वेल्सकी करिन बास्फोर्ड छिन् जो टप एक सयमा भने ३१ औं स्थानमा छिन् ।

उमेर समुह अनुसार विभाजन गर्दा ३० वर्ष मुनिका ७ जना, ४० वर्ष मुनिका ३५ जना, ५० वर्ष मुनिका ३९ जना, ६० वर्ष मुनिका १६ जना, ७० वर्ष मुनिका २ जना र ७० वर्ष माथिका जम्मा एक जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment